बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका २७ वडा प्रकोपको उच्च जोखिममा

बागलुङका २७ वडा प्रकोपको उच्च जोखिममा

ठुलो नै पहिरो गएर धेरै जनसंख्या प्रभावित भएको छ भने बहुक्षेत्रगत द्रूत लेखाजोखा टोली घटनास्थलमा पठाई विस्तृत सूचना संकलन गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए ।


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७९, शनिबार

बागलुङ/जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सुचिकृत गरेको छ ।
विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरुमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो ।

प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्वरमा परेको छ । विगत वर्षहरुको बाढी पहिरोको प्रवृत्तिलाई विश्लेषण गर्दा बडिगाड गाउँपालिकाको बडिगाड खोलाको तटीय बस्ती, काठेखोला–५ बिहुँ काउले क्षेत्र, बरेङ–१ र ४ वडा, निसीखोला–७, गलकोट नगरपालिका– १, २ र ३ गौदीखोला र दरमखोलाका तटीय क्षेत्र बागलुङ नगरपालिका–१ मालढुंगादेखि कालीगण्डकी नदीका तटीय क्षेत्र, जैमिनीका कालीगण्डकी नदीका तटीय क्षेत्र, काठेखोला–२ अछेते बजार, दोबिल्ला क्षेत्र र तमान गाउँपालिकाको बोङ्गादोभान क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानारी दिए ।

मध्यपहाडी लोकमार्गको बागलुङ निसीखण्डअन्तर्गत बा.न.पा.–३ बोक्से, काठेखोलाको टापु, काउले, गलकोट नगरपालिकाकोको नरेठाँटी, हटिया, बानिया, मनेवा क्षेत्र, बडिगाडको खर्वाङ, राक्से, ग्वालीचौर, खौलार, खार, बालुवा, तुरतुरे, ढोरपाटनको खप्तरीवाङ पहिरो, ताराखोलाको सिले, साँधी, ताराखोला तटिय क्षेत्र, कालीगण्डकी कोरिडोरको गलुवा, धापेखोला, सरङी, कैया, टुटुङा, जैमिनीघाट, बेलबगरलाई पहिरोको उच्च जोखिमका सुचिकृत गरिएको छ ।

पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडाहरु प्रभावित भएको पाइन्छ । स्थानीय तहबाट प्राप्त विवरणको आधारमा ३७ वटा वडाहरु उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडाहरु निम्न जोखिममा छन् । यस बर्षको मनसुनमा पहिरोको कारण ३० हजार जनसंख्या प्रभावित हुने सम्भावना उल्लेख गरिएको छ । पहिरोको जोखिममा रहेका झण्डै २० विद्यालय पहिरोको कारण पूर्ण तथा आंशिक रुपमा भत्किएर पठनपाठनमा बाधा पुग्न आँकलन गरिएको छ ।

पहिरो गएको ठाउँमा उद्घार तथा राहतको लागि स्थानीय तह, नेपाली सेना, प्रहरी र नेपाल रेडक्रस सोसाइटीको उद्घार टोली घटनास्थलमा पठाउने निर्णय भएको छ । यदि ठुलो नै पहिरो गएर धेरै जनसंख्या प्रभावित भएको छ भने बहुक्षेत्रगत द्रूत लेखाजोखा टोली घटनास्थलमा पठाई विस्तृत सूचना संकलन गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए ।

सूचना संकलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाहरुले राहत तथा उद्घार सम्बन्धी कार्य शुरुवात गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायी रुपमा बसोबास मिलाउनको लागि कार्य गर्ने साथै प्रभावितहरुको लागि अस्थायी टहराहरु वा सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->