पोखरा/ गण्डकी प्रदेशमा पछिल्लो समय पुनः कोरोनाका नयाँ संक्रमित दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल समेत संक्रमित भएका छन् ।
गण्डकीमा संक्रमण बढ्न थालेसँगै प्रदेश सरकारले सुरक्षित हुन समेत आग्रह गरेको छ । कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ ।
बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था लगायत जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधी, औजार/उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
मानिसहरूको जमघट र भिडभाड हुने स्थानहरूमा कोभिड १९ नमुना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख सचिव रविलाल पन्थले जानकारी दिए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३ तहका सरकारको समन्वयकै कारण विगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन् ।
आइसोलेनसमा रहेका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भने, ‘महामारी कसरी बढ्दै जाने हो, त्यसको आँकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ ।’ अस्पतालहरुमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । खोपको प्रवन्धका अतिरिक्त पिसिआर परीक्षण, अस्पतालहरुमा शड्ढयाको प्रबन्ध लगायत विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उनले आग्रह गरेका छन् ।
कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री पोखरेलले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन् ।
बिहीबार गण्डकी प्रदेशमा ८३ जनाको पिसिआर परीक्षण गरिएकामा २६ जनामा संक्रमण देखिएको छ । अहिले प्रदेशभर १ सय ३१ जना संक्रमित रहेकामा ३ जनामात्र अस्पतालमा भर्ना भएका छन् । अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन् ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराइन् । कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको उनले बताइन् ।
गण्डकी प्रदेशमा आइसोलेसन बेड ४२१, आई.सि.यु.१५०, भेन्टिलेटर ५९ र एच.डी. यु. बेड २९१ रहेका छन् । गण्डकी प्रदेशमा हालसम्म १ लाख २ हजार २ सय ४५ जनामा कोरोना संक्रमण भएको थियो । जसमध्ये १ लाख ६ सय २१ जना निको भइसकेका छन् भने १ सय ५८ सक्रिय संक्रमित केश रहेको छ ।





