बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किन राखिन्छन् अपमानित नाम

किन राखिन्छन् अपमानित नाम

बागलुङ ताराखोलाकी कान नसुन्ने र बोल्नसमेत नसक्ने एक महिलाको नाम कुकुर्नी कमिनी भेटिएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७९, मंगलबार

बागलुङ/नामले मानिसमा सम्मान जाग्नु पर्ने हो । आफ्नो नाम राख्ने भन्ने चलन पनि छ । तर, कतिपय नाम समाजमा बोल्नै नहुने, बोल्दा सम्मान भन्दा अपमान हुने खालका छन् ।

यतिबेला सामाजिक संजालमा पनि ती नाम बारे टिकाटिप्णी भैरहेका छन् । कुकुर्नी कमिनी, कुकुर कामी जस्तै धेैरै अपमानित नाम लिएर नागरिकहरु बस्न बाध्य छन् । उनीहरुलाई आफ्नो नाम किन यस्तो भयो ? किन अपमानित नाम राखियो भन्ने केही पनि थाहा छैन । कतिपयले समाजमा केही गर्न खोज्दा मात्रै आफ्नो वास्तविक नाम अममानित भएको थाहा पाएका छन् । कतिपय अपांग, अशक्त भएकोले अममानित नाम पाएका छन् ।

तीमध्ये बागलुङको ताराखोलाकी एक महिलाको नाम पनि अपमानित भेटिएको छ । कान नसुन्ने र बोल्नसमेत नसक्ने एक महिलाको नाम कुकुर्नी कमिनी भेटिएको हो । २०४८ सालमा म्याग्दीको बाबियाचौरमा पुगेको घुम्ती शिविरका कर्मचारीले उनको नाम राखिदिएका थिए । उक्त शिविरमा पुगेका बाबु खड्गबहादुर कामी र आमा रुपकलाले छोरीलाई सावित्री भनेर बोलाउथे । तर, नागरिकतामा नाम राख्दा कुकुर्नी कमिनी राखिदिए । २०२३ सालमा जन्मेकी साबित्राको नाम कर्मचारीले कुकुर्नी राखिदिँदा कसैले पनि यस्तो होइन भनेनन् । अपांग भएकोले उनले नागरिकता कतैपनि पेश गरिनन् । उनले न जागिर खाइन्, न कागजात चाहिने अन्य केही काम गरिन् ।

बागलुङको ताराखोलाका हस्तराम कामीसँग उनको विवाह भयो । आर्थिक रुपमा कमजोर, सामाजिक रुपमा दलित परिवारमा भएकोले उनीहरुले अहिले सम्म आफ्नो नाम बारे थाहा पाएका थिएनन् । मजदुरी गरेर जीवन कटाएका हस्तरामलाई पनि विवाह दर्तासमेत जानकारी भएन । कागजात कतै पेश नगरेकोले पत्निको नाम बारे चर्चा पनि भएन । २०५० सालमा जन्मेका छोरा भविलाल समेत ३० वर्षका पुगे । कक्षा ५ सम्म पढेर छाडेपछि अहिले उनी साउदीमा रोजगारी गर्दैछन् । भविलालको नागरिकतामा भने बाबु आएर सनाखत गरेका थिए । त्यसैले बाबुको नाम हस्तराम र आमाको नाम सावित्रा उल्लेख छ । बाबुले बताइदिएकै आधारमा नागरिकता बनेको थियो ।

प्राय घुम्ती टोलीमा गएका कर्मचारीले यस्तो गल्ती गरेको देखिएको अधिवक्ता भूमिश्वर गौतमले बताए । ‘शिविरमा जाँदा गाउँका मानिसले बोलाएको नाम लेखिदिने, हेलाहा होचो गरेर नाम राख्न मन गर्ने देखियो’, गौतमले भने, ‘दलीतमा यो समस्या बढी छ, अन्य जातिको पनि अपमानित नाम छन् ।’ निर्वाचन आयोगको मतदाता नामावलीमा पनि त्यस्ता नाम भेटिएको पत्रकार गणेश पौडेलले बताए ।

दश वर्षअघि घुम्ती टोलीले नै दम्पत्तिको मतदाता नामावलीमा नाम सूचिकृत भयो । अहिले उनीहरुले नेपाल मावि मतदान केन्द्रमा भोट खसाल्न पनि जाने गरेका छन् । केही दिनदेखि सामाजिक संजालमा कुकुर्नी कमिनीको नामको परिचयपत्र सार्वजनिक भएको छ । सामाजिक संजालबारे पनि कामी दम्पत्तिलाई केही जानकारी छैन । ‘केही बोलिनन् भनेर कुकुर्नी राखिदिएका हुन् भन्थे’,हस्तरामले भने, ‘हामीलाइ काम परेकै थिएन, अहिले बल्ल यस्तो नाम छ भनेर सुनाए ।’ हस्तराम ६० वर्ष पुगेकोले सामाजिक सुरक्षाको खोजी गर्दै वडामा पुग्दा पत्नीको नामबारे चर्चा चलेको हो ।

अपमान हुने नाम सच्याइदिन हस्तरामले वडाध्यक्ष जीतबहादुर खत्रीलाई आग्रह गरेको बताए । ‘मैले नाम सच्याइदिनु भनेको थिएँ, छोराछोरीको नागरिकतामा पनि गैसक्यो, अब किन सच्याउनु प¥यो, पर्दैन भनेर फर्काइदिनु भयो’, उनले भने, ‘बाबुआमाले सावित्रा नाम राखिदिएका रहेछन्, त्यो नाम बनाइदिए हुन्थ्यो ।’ ताराखोला गाउँपालिका वडा नं. ४ बिसौनामा कामीका दम्पत्ति मात्रै बस्छन् ।

तीन छोरी पनि विवाह भएर गइसके । उनीहरु कसैको पनि नागरिकता बनेको छैन । वडाध्यक्ष खत्रीले जानकारी पाए पनि उनीहरुलाइ नभेटेको बताए । ‘मैले पनि उहाँहरुलाई भेटेर कुरा गर्छु, सशोधन गर्दापनि धेरै समस्या आउन सक्छन्, के गर्न सकिन्छ छलफल गरौंला’, उनले भने, ‘नाम भने अपमान हुने खालको छ ।’ प्रमुख जिल्ला अधिकारी रमेश ढकालले नागरिकता संशोधन गर्न म्याग्दी देखिकै कागजात मिलाएर आउनुपर्ने बाध्यता सुनाए । ‘नामै संशोधन गर्ने कानून छैन, गृहको केही परिपत्र भए मात्रै हो’, ढकालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->