बागलुङ/ गुणस्तरहीन सामग्री प्रयोगका कारण यहाँको एक विद्यालयको छाना चुहिएको छ । बागलुङ ७ को गौरीशंकर प्राविमा गुणस्तरहीन छानाका कारण चुहिने समस्या देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठसहितको अनुगमन टोलीले गुणस्तरहीन सामग्री प्रयोग भएको निष्कर्ष निकालेको हो ।
भवन निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै छाना गुणस्तरहीन सामग्री ल्याउन सेटिङ गरेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष श्रेष्ठले आरोप लगाए । २४ लाखको लागतमा बनेको भवनमा छानाका लागि मात्रै १० लाख ५० हजार खर्च भएको थियो ।
उक्त मोटो रकम भुक्तानी पाउने भएपछि प्राधिकरणका सब इन्जिनियर र आयोजना प्रमुखले विद्यालयमा आफूले भनेकै स्थानबाट सामान ल्याउन दवाव दिएको पनि उनको दावी छ । ‘बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट सामान नल्याए बील पास नहुने, भवन अलपत्र पर्ने दवाव दिएपछि स्थानीयले बुटवलबाट युपिभिसी जस्तापाता ल्याउन बाध्य भएका थिए’, वडाध्यक्ष मेघनाथ गैरेले भने, ‘जनतालाई अत्तो थापेर सामान ल्याउन लगाएका हुन् ।’ गैरे भवन निर्माणताका अध्यक्ष थिएनन् ।
उपभोक्ता र बिद्यालय व्यवस्थापन समितिमा थिए । सामान ल्याएपछि सिफारिस गर्ने सब इन्जिनियर नजाम उद्दिन सम्पर्कमा छैनन् । आयोजनाको प्रमुख मतिलाल चपाइँ भने शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख हुन् ।
निर्माण सम्पन्न भएको तीन वर्ष नपुग्दै छाना चुहिएपछि बालबालिका पढाउन सास्ती भएको प्रधानाध्यापक सरिता गौतमले बताइन् । छानोमा दर्जनौं प्वाल परेका छन् । जसको कारण वर्षातको पानी सबै भित्र छिर्ने गरेको हो ।गत चैतमा सामान्य प्वाल परेकोमा क्रमश ः बढेर कक्षा कोठाबाटै आकास देखिने अबस्था आएपछि शिक्षकले वडा कार्यालयमा उजुरी गरेका थिए ।
वडा अध्यक्ष मेघनाथ गैरेले विद्यालयको अवस्था बिजोग भएको बताए । बागलुङका सप्लायर्सले ७ लाखमा सामान विद्यालयमै लगिदिने भन्दाभन्दै अन्यत्रबाट सामान ल्याइएको थियो । पुनर्निर्माण प्राधिकरणले जिल्लाका सयौं विद्यालय भवन बनाएको थियो । त्यही बेला अधिकांश विद्यालयमा कर्मचारीको मिलेमतोमा तोकिएको स्थानबाट मात्रै सामग्री ल्याउन दवाव दिएको गुनासो आएको थियो ।
‘असिनाले प्लाष्टिकजस्तै प्वाल पार्नेलाई कसरी गुणस्तरको सामान भन्नु’, स्थानीय रमेश किसानले भने, ‘बीस बर्ष पुराना जस्तामा केही भएको छैन, यो सिधै गयो ।’ प्लाष्टिकका टनेल समेत सामान्य असिनाले नफोड्ने उनले बताए । उपभोक्ता मंचका अध्यक्ष श्रेष्ठले अख्तियारमा उजुरी गर्ने बताए ।
श्रेष्ठ भ्रष्टाचार बिरुद्ध नागरिक निगरानी केन्द्र बागलुङका अध्यक्षसमेत हुन् । तत्कालीन आयोजनाको प्रमुख मतिलाल चपाइँले भने गुणस्तरको विषय सामान पठाउनेसँग सम्बन्धित रहेको प्रतिक्रिया दिए ।





