बागलुङ/ प्रतिनिधिसभाबाट स्रोत पटक बहुमतले पारित नागरिकता विधेकको विरोधमा बागलुङमा विभिन्न सामाजिक संघ÷संस्थाले विरोध गरेका छन् ।
नागरिकता विधेयक नेपाल र रैथाने नेपालीको हित विपरित, राष्ट्र र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक विखण्डन निम्त्याउने हुँदा त्यसलाई निष्क्रिय बनाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन ।
विभिन्न १४ वटा सामाजिक संघ संस्थाको प्रतिनिधित्व रहेको आन्दोलनको पहिलो दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा दुई घण्टा धर्ना दिएका थिए । नागरिकता विधेयक–२०७९ राष्ट्रघाती भएको नागरिक समाज बागलुङका अध्यक्ष वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बताए ।
वर्तमान सत्ता गठबन्धनले विदेशी महिलले नेपाली पुरुषसँग विवाह गरेलगत्तै नागरिकता प्राप्त गर्न सक्नेलगायतका विषय समेटेर विधेयक दोस्रोपटक संसदबाट पारित गरि राष्ट्रिय सभामा पेश गरेको छ । राष्ट्रिय सभाबाट विधेयक पास भएपछि राष्ट्रपतिले प्रामाणिकरण गर्ने प्रावधान छ । पहिलोपटक राष्ट्रपति समक्ष पेश भएको विधेयक विभिन्न १५ बुँदे सुझावसहित पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी थिइन् ।
राष्ट्रपति कार्यालयले सुझावसहित फिर्ता पठाएको विधेयकमाथि कुनै छलफल नै नगरी बहुमतको बलमा जस्ताकोत्यस्तै पठाउनु राजनीतिक दम्भ र गैरजिम्मेवारीपन भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । नेपालको भौगोलिक संवेदनसिलतालाई नबुझी नागरिकता बाँड्ने उद्देश्य घातक हुने क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीको भनाइ छ ।
नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले राजनीतिक गरेको उनको भनाई थियो । नागरिकता विधेयक पारित भएको वास्तविक नेपाली अल्पसंख्यामा पर्ने निश्चित भएको कार्कीले उल्लेख गरे ।
निर्वाचनको मिति घोषणपछि काम चलाउन भएको सरकारले दीर्घकालीन असर पर्ने विषयमा काम गर्ने अधिकार नभएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष बमबहादुर गुरुङको भनाइ छ ।





