बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल रहेको हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषले बागलुङका एक युवालाई छात्रवृत्तिमा मासिक शुल्क भराउने भएको छ । कोषले बागलुङ नगरपालिका–७ ढिकीचौरका १९ वर्षिय बिनायक शर्मालाई पढाई अवधिभरका लागि मासिक ५ हजार नगद रकम छात्रवृत्ति स्वरुप दिएको हो ।
विद्यालय तहदेखिनै पढाईमा तष्ण रहेका शर्माले हाल एमबिबिएस डाक्टर पढ्न नाम निकालेका छन् । उनले छात्रवृत्ति कोटामा नाम निकाले पनि अन्य खर्चका लागि अभाव भएपछि कोषले सहयोग गरेको हो । छात्रवृत्ति कोटामा नाम निकालेका शर्माले धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्समा एमबिविएस पढ्न पाउने भएका छन् ।
पढाई शुल्क मात्र ४५ लाख र अन्य व्यवस्थापनसमेत गर्दा १ करोड खर्च लाग्ने भएपछि शर्माका बाबु रबीलाल र परिवारले खर्च गर्न धेरै समस्या भएपछि कोषले साथ दिएको संस्थापक सल्लाहकार श्रीजय श्रेष्ठले बताए । श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघका सदस्य छन् ।
कोषमार्फत ती युवालाई झण्डै ६ वर्षका लागि मासिक ५ हजार सहयोग गरेको हो । श्रेष्ठका बाबु तीर्थप्रसाद श्रेष्ठसहित कृष्णप्रसाद, बलराम, श्याम र मनोविज्ञान श्रेष्ठ संस्थापक रहने गरी ७ वर्षअघि कोष स्थापना गरेका हुन् ।
श्रेष्ठ परिवारले बिद्यामन्दिर माबि, नेपाल पत्रकार महासंघ बागलुङ शाखा, विद्यामन्दिर पुस्तकालय, बागलुङ जेसीज लगायतका संस्थामा पनि सहयोग गरेका छन् । कोषबाटै शर्माले वार्षिक ८० हजार रुपैयाँ छात्रवृत्ति पाएका थिए । बाबु रवीलाल ३० बर्षदेखि एक बोर्डिङ स्कुलमा सहयोगीको रुपमा काम गर्दै आएकोले छोरालाई डाक्टर पढाउने क्षमता थिएन ।
छोराले राम्रो पढेर डाक्टर पढ्ने चाहना राखेपनि आर्थिक अवस्था कमजोर भएकोले सहयोगी भूमिका खोल्नुपरेको उनले बताए । शिक्षण शुल्कबाहेक मासिक १५ हजार थप खर्च लाग्ने भएपछि उनीहरुले सहयोगी खोजेका थिए । उनका दुइ छोरा र एक छोरी छन् ।





