बागलुङ/ तीन वर्षदेखि लगातार बागलुङमा डेंगुका बिरामी भेटिन थालेका छन् । विगत दुई बर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकोमा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा बिरामीको मृत्यु समेत हुने जोखिम हुन्छ । धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेंगुको संक्रमण पुष्टी भैरहेको छ ।
उच्च ज्वरो, रुघाखोकी समेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेंगु परीक्षण गर्दा पुष्टी भएको उनले बताए । दुई वर्षअघि ४ जना, गत वर्ष ३ जना बिरामीमा डेंगु देखिएपछि धौलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षण सहितका बिरामी धेरै देखिएको पोखरेलले बताए । यकिन संख्या भने उनले बताएनन् । लामखुट्टेको टोकाइबाट सर्ने भएकोले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ ।
डेंगुबिरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेंगु पत्ता लगाउन सकिने भएकोले पालिका तहमा पनि आवस्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकोले सर्तकता अपनाउन सचेतना कार्यक्रम संचालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका श्रोतहरु हटाउने तयारी सुरु भैसकेको घिमिरेले जानकारी दिए ।
‘धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेंगुको लक्षण हुन्’ डा.पोखरेलले भने, ‘सर्तकता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।’ बिरामी बढी सिरियस हुने भएकोले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उनले सुझाव दिए ।
गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताए । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेंगु लामखुट्टेकै टोकाइबाट सर्छ । ‘एकपटक संक्रमण भएपछि दोहोरिने दर बढी भएकोले पहिल्यै सचेत बन्नुपर्छ’ खनालले भने ।
वर्षात्को बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि संक्रमण बढेको छ । अस्पतालमा दैनिक ४ सयदेखि ५ सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्जन्य रोग बढेको देखिएको डा. पोखरेलले बताए ।





