
बागलुङ/ बागलुङ नगरपालिका–१ मालढुंगादेखि प्रसिद्ध बलेवा कालभैरव मन्दिरमा पुग्न १३ किलोमिटर सडक यात्रा गर्नुपर्छ । मालढुंगादेखि केही पर पुगेपछि बागलुङ कुश्मीशेरा सडकको साढे चार किलोमिटर दुरी कालोपत्रे गरिएको छ । यो सडक छ बर्ष पहिले सडक विभागले कालोत्रे गरेको हो । अहिले सडक ठाउँठाउँमा फाटेको छ, जिर्ण भैसकेको छ ।
बागलुङ नगरपालिका–१३ पाग्जादेखी उकालो लागेपछि झण्डै एक किलोमिटर सडक कालोपत्रे छ । त्यसपछि सुरु हुन्छ कष्टकर यात्रा । कच्चि सडक, त्यसमाथी सधैँ सडकमा पानी जम्ने, हिउँद बर्षाको हिलो र खाडलहरु पार गरेर पुगिथ्यो भैरवस्थान । यो दुराबास्थाबाट पार पाउन बागलुङ नगरपालिकाले २०७६ सालमा जलुकेनीदेखि प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य भैरवस्थानसम्मको सडक कालोपत्रेको योजना बनाएको थियो ।
नगर एक्लैले ठुलो लगानी गर्न नसक्ने भएकाले संघीय सरकारसँगको साझेदारीमा यो सडक कालोपत्रेको योजना बनेको हो । संघीय सरकारले ल्याएको समपुरक कोष कार्यक्रमअन्तर्गत बागलुङमा पहिलोपटक साझेदारीमा कालोपत्रेको काम थालिएको सडक हो यो ।
दुई बर्षसम्म संघीय सरकारको ६० प्रतिशत र बागलुङ नगरपालिकाको ४० प्रतिशत लगानी गरी साढे ८ करोड रुपैयाँ खर्चिएको यो सडकको ३.३ किलोमिटर भुभाग मात्रै कालोपत्रे भएको छ । कहिले बाढी पहिरोको प्रकोप त कहिले कोरोना महामारी छिचोलेर गत असारमा कालोपत्रेको काम सकिएको हो ।
भैरवस्थान पुग्ने सडक सहज बनाउनका लागि थालिएको योजनामा दुई बर्ष मात्रै काम भएर सकियो । यो सडकको बाँकी खण्ड पुरानै अवस्थामा छ । जिल्लामै पहिलोपटक समपुरक कोषबाट थालनी भएको सडक पुरा नहुँदा भैरवस्थान पुग्ने यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१२ का निवर्तमान वडाअध्यक्ष गुरुदत्त पाठक बताउँछन् ।
समपुरक कोषको बजेट दुई बर्षभन्दा धेरै एउटै योजनामा राख्न नमिल्ने भएकाले यो सडक आधाउधी बनेपछि बाँकी काम रोकिएको हो । ‘समपुरकको बजेट हाल्न नमिल्ने हो भने नगर, प्रदेश र संघ सरकारले अन्य स्रोतहरु खोज्नु पर्छ, तर सडक कतै कालो कतै हिलो भएर पर्यटक भैरवस्थान पुग्दैनन्’ पाठक भन्छन् ‘बागलुङको गरिमा हो भैरवस्थान, त्यहाँ बाटो पु¥याउँदा सबै बागलुङबासीलाई फाईदा हुन्छ ।’
चालु आर्थिक बर्षमा बागलुङ नगरपालिकाले एक करोड ८० लाख रुपैयाँ खर्चेर बागलुङ बजारदेखि भकुण्डे जाने सडकका लागि समपुरक कोषको रकम माग गरेको थियो । तर बागलुङ नगरपालिका–३ अदालत चौपारीहुँदै तित्याङ र भकुण्डे जाने सडक एसियाली विकास बैंकको लागनीमा स्तरोन्नती हुने भएपछि यो योजना समेत कार्यान्वयन हुन सकेको छैन् ।
‘भैरवस्थान जाने सडकका लागि हामीले बिकल्पको खोजी गछौं, जसरी पनि क्रमागत रुपमा त्यो सडक स्तरोन्नती गर्ने हो’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘भकुण्डे जाने सडक एडिबीले बनाउने भएपछि त्यहाँको बजेट हामी रकमान्तर गरेर अन्यत्रै काम गछौं ।’ पहिलो पटक समपुरक कोषबाट सुरुवात भएको सडकनै एक चौथाई बनेर काम रोकिँदा सर्वसाधारणमा भने संसय पैदा भएको छ । ‘सबै सडक कालोपत्रे हुन्छ भनेर काम थालेका थिए, बीचबाट काम थालेर यता न उता बनाएर छोडेका छन्’ अमलाचौरकै स्थानीय सरोज शर्मा भन्छन् ‘आशा गरेर बस्यो, निरास बनाउँछन् सधैं ।’
समपुरक कोषबाट प्राप्त हुने बजेटमा जैमिनी नगरपालिकाले थालेको पहिलो सडकको पनि अवस्था उस्तै छ । जैमिनीले २०७६ सालमानै कालीगण्डकी करिडोरदेखी पालिका मुकाम कुश्मीशेरा बजारसम्मको तीन किलोमिटर सडक स्तरोन्नती र कालोपत्रेको काम थालेको थियो । बहुबर्षे कार्यक्रम बनाएर तीन बर्षमा ७ करोडभन्दा बढी खर्चेको यो सडकमा एक किलोमिटर खण्ड मात्रै कालोपत्र भएको छ । बाँकी खण्डमा पूर्वाधारका काम मात्रै भएको इञ्जिनियर बिबेक सापकोटाले बताए । ‘भुगोलका कारण हामिले स्टक्चरमा बढी समय र पैसा खर्चिनुपर्यो’ सापकोटाले भने ‘तीन बर्षभन्दा धेरै समपुरक कोषबाट एउटै योजनामा बजेट आएन, बाँकी काम नगरले अन्य योजना बनाएर पुरा गर्ने छ ।’
पालिका मुकाम कुश्मीशेरा बजारदेखी प्रसिद्ध जैमिनी धाम क्षेत्रलाई जोड्ने कालिगण्डकी करिडोरसँग यो सडक जोडेर बजारलाई दक्षिण बागलुङको व्यापारिक केन्द्र बनाउने योजना थियो । बाँकी रहेको दुई किलोमिटर सडक समेत कालोपत्रे हुँदा व्यापार व्यवसाय, धार्मिक पर्यटनदेखि जैमिनी नगरपालिकाका अधिकांश वडालाई कालीगण्डकी किनारका घाटहरुमा पुग्न समेत सहज हुन्छ ।
जैमिनीमा समपुरक कोषसँग साझेदारीमा चलेको अर्को योजना भने पुरा भएको छ । नगरपालिकाले साझेदारीमा वडा नं. ६ अर्जेवाको प्रशासनीक भवन निर्माण गरेको हो । चालु आर्थिक बर्षमा समपुरक कोषसँगको सझेदारीमा वडा नं. ४ सर्कुवादेखी माईकाथान जाने सडक र प्रदेश समपुरक कोषबाट वडा नं. ७ चौरदेखि बाँव जाने सडक स्तरोन्नती गर्ने योजना नगरपालिकाले बनाएको सापकोटाले बताए ।





