बागलुङ/ यो बर्ष अत्याधिक बर्षात नभएपनि गलकोट क्षेत्रमा भने किसानको खेती र खेतबारी समेत बगेर करोडौंको क्षति भएको छ ।
बाढीपछिको पहिरोले किसानको घरगोठमा समेत क्षति पुगेको छ । केही चौपायाको समेत क्षति भएको हो । गत असारमा पशु चौपाया समेत बगेर क्षति भएकोमा फेरी एकसाता भित्र दुइ सय रोपनी बढी जमिन बगर बनेको छ ।
लगातार बर्षातले ल्याएको पहिरोपछि खेतबारी बगर बनेको किसानले गुनासो गरे । मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकोले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । उक्त बाढीले सडक र खेतीपातीमा व्यापक क्षति पुगेको हो । दर्जनौं स्थानमा खसेका पहिरोले किसानको धानबाली नष्ट भएको छ ।
नरेठाँटीस्थित धैसेमारे भन्ने स्थानमा मध्यपहाडी लोकमार्गबाट खसेको पहिरो र नालीको बाढीले २ सय रोपनी जमिन बगर बनेको हो । गत असारमा रोपेको धान सबै नष्ट भएको र तत्काल मर्मत समेत गर्न नसकिने गरी खेत सबै बगर बनेको किसानले गुनासो गरे । बर्षभरी खाने अन्न बगेपछि किसान निरास छन् ।
काठेखोला गाउँपालिका ५ को बिहुँदेखि गलकोट नगरतर्फको सबै सडकमा बग्ने पानीले बाढीको रुप लिंदा सडकमै ठूला पहिरो पनि खसेको छ । कतिपय स्थानमा सडक नै जोखि मबनेको भण्डारीले जानकारी दिए । सडकमा नालीको व्यवस्थापन नभएपछि सिधै किसानको खेतमा बाढी पस्ने गरेको हो । केही बर्षदेखि लोकमार्गको नाली अव्यवस्थित थियो । नाली व्यवस्थापन नगरेकै कारण वडा नंं १ को झाक्रीस्थान, काफलढुटा र रगेनी लगायतका स्थानमा घुम्तीनै खसेका छन् । मध्यपहाडी लोकमार्गले गत बर्षनै ५० करोड बढी रकम बिनियोजन गरेर नाली र घुम्ती व्यवस्थापन गर्ने काम ढीला गर्दा सडक छिया छिया भएको हो । सडकको दुइवटा घुम्तीले दर्जनौं घर जोखिममा पारेको छ ।
पहिला रोप्न कठिन भएपनि बल्लबल्ल रोपेको रोपेको धानखेत सबै बगाएको स्थानीय यामबहादुर भण्डारीले गुनासो गरे । ‘खेत बगाएको मात्र छैन, बगर बनेको छ’ उनले भने, ‘बर्षातभर दुःख गरेर रोपियो अहिले सबै नष्ट भयो ।’ पहिरो पन्छाएर पनि खेत बनाउन नसक्ने उनले गुनासो गरे । सडकको घुम्तीले बस्तीमा जोखिम बढाएको पनि उनले गुनासो गरे । पहिरोले स्थानीय प्रेमबहादुर भण्डारी र पदमबहादुर भण्डारीको पनि खेत बगाएको छ । खेत बगेपछि बर्षभरी खाने अन्न नभएको उनीहरले गुनासो गरेका छन् । बाढीकै कारण ४ जना किसानको गोठ र घरमा समेत क्षति पुगेको छ । जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेर राखिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए । पहिरोले मानवीय क्षति भने भएको छैन ।
बर्षातकै कारण वडा नंं २ को जसपुरदेखि ठाना हुदै वडा नंं ६ जाने सडकमा दर्जनौं पहिरो खसेर अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सवारी साधन गुड्न नसकेका हुन् । अप्ठ्यारो र पहिरै पहिरो भएकोले पैदल यात्रा समेत गर्न नसकेको स्थानीय बिष्णु बिश्वकर्मले बताइन् ।
गत असारमा पनि बाढी पहिरोले गलकोट क्षेत्रमा करोडौंका संरचना बगेका थिए । एकदर्जन घर भत्केपछि किसानहरु बर्षातमा पानी परेको दिन छिमेकीको घरमा आश्रय लिन जान्थे । पहिरोले पुरिएर केही किसानको चौपाया समेत मरेका थिए । गलकोट नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ मा गरी दर्जनौं घर गोठमा क्षति पुगेको थियो । ऐतिहासिक कोतघर समेत रुख ढलेर भत्केपछि स्थानीयले मर्मत गरेका थिए ।
बर्षातकै कारण मध्यपहाडी लोकमार्गको बागलुङ देखि हटिया सम्मको ४५ किमी सडक छियाछिया भएको छ । बर्षातकै कारण कालोपत्रे तयारी भएको २ सय ५० मीटर सडक बग्दा गत बर्षको झण्डै २ करोड लगानी खेर गएको वडा नंं ४ का अध्यक्ष बलबहादुर खत्रीले जानकारी दिए । केही समय अघिको बर्षातले भत्केको तोरीखोलादेखि ठाना जाने सडक, तथा घामपानी जाने सडक समेत अझै बन्न सकेको छैन । ती सडकमा सवारी चल्न नसक्दा स्थानीयले उपभोग्य सामान बोकेरै लैजान बाध्य भएको स्थानीयले गुनासो गरे ।
बाढी पीडितको राहतकालागि नगरपालिकाले सामान्य राहत दिने योजना बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘हामीले सबै व्यवस्था गर्न सकिंदैन, तर प्रारम्भिक राहत दिएर किसानलाई साथ दिन्छौं’ गैरेले भने, ‘बिपत व्यवस्थापनकालागि दिगो योजना पनि बनाउनु पर्ने भएको छ ।’ बर्षेनी ती क्षेत्रमा बाढीले क्षति पुगेको उनले बताए ।





