बागलुङ/ धौलागिरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको छ । धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासंघ नेपाल बागलुङले संयुक्त रुपमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै ‘धौनीढोका’ का अभियन्ता कृष्ण केसीले गण्डकी प्रदेश सरकारबाट नै धौलागिरी क्षेत्रलाई उपेक्षा गरिएको बताए । उनले समग्र धौलागिरी क्षेत्रको पर्यटन विकासका लागि धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटा चक्रपथको निमार्ण गर्नेगरी योजना अघि सारिएको जानकारी दिए । गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुलाइ ढोरपाटन क्षेत्र चिनाउन गाह्रो भएको उनको गुनासो थियो । उनले पोखरामा बसेर अन्नपूर्ण बेचिरहँदा धौलागिरी क्षेत्र समेत बेचिदिन आग्रह गरे । धौलागिरी पर्यटनको सम्भवानाका साथै गण्डकी प्रदेशको मासु खपत समेत पूरा गर्नसक्ने क्षेत्र भएकाले राज्यको ठूलो लगानीको खाँचो रहेको उनको भनाइ थियो । हाल निमार्ण हुँदै गरेको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई जोडेर धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ निर्माणमा उनको जोड छ ।
सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा धौलागिरी क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय रुपमै कार्यक्रमका खाँचो रहेको बताए । उनले अब गण्डकी प्रदेश सरकारका मन्त्री तथा सांसदहरु कामचलाउ सरकारको रुपमा मात्रै रहेकाले ढोरपाटन क्षेत्रको विकासमा योजना ल्याउन नसकिने बताए । ढोरपाटन क्षेत्रमा बन्न लागेको हाइड्रो पावर योजना नेपालकै सबैभन्दा सस्तो प्रोजेक्ट रहेको र उक्त प्रोजेक्ट पूरा भए कृतिम ताल बन्ने र पर्यटनको विकास हुनेमा आफू आशावादी रहेको उनले बताए । धौलागिरी क्षेत्रका व्यक्तिहरु अहिलेसम्म संघीय सरकारको पहुँचमा पुग्न नसकेकाले पिछडिन बाध्य भएको उनको स्वीकारोक्ति थियो । ‘अब हामी गण्डकीमा पनि कामचलाउ मन्त्री भइसक्यौं । तपाईंहरुले यो योजना निकै ढिला ल्याउनुभयो ।
धौलागिरी क्षेत्रको विकासका लागि यसमा प्रदेश होइन, संघ सरकारको योजना पर्नुपर्छ अनिमात्र पर्यटन विकास सम्भव छ’, उनले भने,‘अब संघीय सरकारमा ढोरपाटनलाई प्राथमिकतामा राखेर काम गर्ने स्तरका नेता हामी परेनौँ । हामी त्यो हाइटको नेता बनेनाँै त्यसैले पनि पछि पर्न गयो ।’
अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बढ्दो डोजरे विकासका कारण अहिले मुस्ताङमा समेत पर्यटक घटेको बताए । उनले पहिला मनाङहुँदै मुस्ताङ आउने पदयात्रा २१ दिनको हुने गरेपनि बढ्दो डोजरे विकासका कारण २÷३ दिनको हुन थालेपछि पर्यटनको बसाइ घटेको बताए । ‘मुस्ताङमा बाटोको विकासका कारण पदयात्रा बिग्रिएको छ । मनाङहुदै आउने पर्यटक अहिले मुक्तिनाथबाट सिधै बस चढेर पोखरा आउँछन्’, उनले भने । धौलागिरी पर्यटन चक्रपथका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न पालिका तयार रहेको उनको भनाइ छ । ‘हामी नयाँ जनप्रतिनिधि छौँ, सबै कुरा थाहा छैन् तर धौलागिरी क्षेत्रको पर्यटन विकासका लागि पालिकाबाट के गर्नपर्छ हामी तयार छौँ ’,उनले भने ।
बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गण्डकी प्रदेशमा पोखरा पर्यटन क्षेत्रले धेरै अघि जाँदा धौलागिरी क्षेत्र भने निकै पछि पुगेको गुनासो पोखे । उनले पोखरामा पर्यटन व्यवसाय गर्नेले अन्नपूर्णमात्रै देखाएको तर धौलागिरी हिमाललाइ नदेखाउँदा पर्यटकको आकषर्ण नभएको बताए । सबै गाउँपालिकाले आ–आफ्नो गाउँपालिकाको विकासका लागि योजना बनाउँदै आएपनि समग्र धौलागिरी क्षेत्रको विकासका लागि बहस नहुनु दुःखद भएको उनको भनाइ छ । उनले पर्यटन चक्रपथ समग्र धौलागिरीको पर्यटनका साथै स्थानीयको आय आर्जनसँग जोडिएको विषय भएकाले यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएको सुनाए ।
वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले ढोरपाटन क्षेत्रलाई जोडेर बनाइएको यो योजना निकै उत्कृष्ट रहेपनि पहिला ढोरपाटनवासीहरुमा सचेतना फैलाउन आवश्यक रहेको सुनाइन् । उनले वडिगाड गाउँपालिका ढोरपाटनसँगै रहेकाले त्यहाँको समस्याको बारेमा आफु जानकार रहेको र उक्त क्षेत्रमा शिक्षा, बाटो, सरसफाइ र जनचेतनाको विकास गर्नु अत्यावश्यक रहेको सुनाइन् । ढोरपाटन क्षेत्र संघ र प्रदेश सरकारको पहुँचबाट निकै टाढा रहेकाले उक्त क्षेत्रको विकास हुन नसकेको उनको जिकिर थियो । उनले ढोरपाटन क्षेत्रमा राज्यको ठूला पदमा बसेका व्यक्ति तथा मन्त्रीहरुले जग्गा किन्ने गरेपनि त्यहाँको विकास भने नगरेको बताइन् । ढोरपाटन क्षेत्रमा दलित बस्ती बढी रहेका र बागलुङ, मुस्ताङ, म्याग्दीसहित रोल्पालाई समेत ढोरपाटनले छोएको हुँदा स्थानीय सरकारले पर्याप्त काम गर्न नसक्ने बताइन् ।
पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले पोखराको पर्यटन व्यवसायीले धौलागिरी क्षेत्रमा समेत लगानी गर्नुपर्नेमा जोड दिए । उनले चक्रपथको कुरा गर्दैगर्दा गरिबीको रेखामुनि रहेका स्थानीयको जीवन उकास्नका लागि थप गुरुयोजना बनाउन आवश्यक रहेको बताए ।
म्याग्दीको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले धौलागिरीवासीले धौलागिरी हिमाल बेच्न नसकेको बताए । उनले धौलागिरी क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि अहिलेसम्म उचित नीति नबन्दा निकै पछि परेको सुनाए ।
पर्यटन व्यवसायी गणेश भट्टराइले चिन्ता र योजना सिरानीमा राखेर सुत्दैमा पर्यटन विकास नहुने बताए । उनले ढोरपाटन क्षेत्रमा युरोपबाट बढी पर्यटक आउने जानकारी दिदैँ उनीहरुको बसाइ लम्ब्याउनका लागि स्थानीय व्यवसायीले नै पहिलो कदम चाल्न आश्वयक रहेको सुनाए । उनले नेपाल पर्यटकी सहर भएपनि राज्यले पर्यटन विकासका लागि उचित योजना ल्याउन नसकेको गुनासो पोखे ।
५० वर्षदेखि काठमाडौंबाट पोखरा आउने राजमार्गको हालत उस्तै देख्दा निकै दुःख लागेको उनको भनाइ थियो । उनले व्यवसायीहरुले एक अर्कालाइ आक्षेप लगाउनुभन्दा पनि समन्वय गरेर जाँदा उपयुक्त हुने बताए । उनले ढोरपाटनमा सिकार गर्ने स्वीकृति पत्र पोखराबाटै उपलब्ध गराउनुपर्ने माग गरे । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ पोखरा समाजका पूर्वअध्यक्ष कुलचन्द्र शर्माले स्वागत मन्तव्य राखेका थिए । पोखरामा सम्पन्न चार अन्तक्र्रियामा धौलागिरीका चार जिल्लाका विभिन्न पालिका प्रमुखको सहभागिता रहेको थियो ।





