बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यवसायीक जुनेलो खेती सुरु गरेको छ । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यवसायीक जुनेलो खेती थालेको हो ।
कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाईएको सहकारीका अध्यक्ष मोती प्रसाद शर्माले बताए । स्थानीयले जनशक्तिको अभावमा केही बर्षदेखि यहाँ रहेको बारीमा खेतीपाती गर्न छोडेका थिए । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्य अनुसार खेती थालिएको शर्माले बताए ।
रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यहरुको आय बृद्धिका लागि व्यवसायीक खेती थालिएको हो । गत जेठ महिनामा लगाईएको जुनेलोले यसैवर्ष उत्पादन दिने छ । ‘यो वर्ष पाँच क्वीन्टल जुनेलो फलाउने लक्ष्य छ, बिरुमा राम्रो भएका छन्, हामीले सोचे अनुसारकै उत्पादन हुन्छ’, शर्माले भने ‘वर्षेनी उत्पादन लिन सकिने भएकाले हरेक वर्ष सहकारीलाई जुनेलोबाट आम्दानी जोडिने छ ।’
जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशिल छन् । बिउ लगाउने, गोडमेल गर्ने र सिंचाईं गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माले बताए । ‘यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी बृद्धिमा लगाइने छ’ शर्मा भन्छन् ‘अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यहरुले दामासाहीले पाउँछन् ।’
सहकारीले एक लाख रुपैयाँ खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बिउँ ४ सय ५० रुपैयाँ प्रतिकिलोका दरले खरिद गरेर लगाइएको शर्माले बताए । ‘यो रैथाने बाली हो, पहिले हामीलाई बिउँ पाउनै कठिन भयो’ उनी भन्छन् ‘बजारमा बिउँको अभाव छ, हामीले केही वर्ष बिउँकै रुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोही अनुसारको बजारको खोजी भैरहेको छ ।’
केही वर्षअघिसम्म अस्मिता कृषक समुहमा आवद्ध भएर मुला तथा केराउको मुल बिउँको व्यवसायीक उत्पादन गरेका कृषकहरु सहकारीमा आबद्ध रहेकाले उनीहरुलाई बिउँ उत्पादनको अनुभव र बजारको जानकारी रहेको शर्माले दाबी गरे ।
जुनेलो एक प्राचिन बाली हो । यो बाली यसको छोटो उत्पादन अवधिका कारण महत्वपूर्ण रहेको शर्माले बताए । रोपिएको करिब ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमा समेत उत्पादन हुने गर्दछ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीको रुपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको हो ।
धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागि समेत प्रयोग गरिने जुनेलो औषधि बनाउन प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मुत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषकहरू जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।
होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेपछि यसको महत्व झन बढ्न थालेको हो । हाडको भिरालो, खोरिया र रुखो बारीमा सहजै उत्पादन गर्न सकिने भएपछि जुनेलोलाई खासै मेहनत पनि गर्नु पर्दैन । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो ।
सहकारीले रैथाने बालीको रुपमा रहेका कोदो र फापरको ब्राण्डिङसमेत थाल्ने भएको छ । सहकारीमा आवद्ध किसानहरुले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठोको ब्राण्डिङ गर्ने योजना छ । रैथाने बालीको संरक्षण, बाँझो जग्गाको उपयोग र किसानलाई व्यवसायीक बनाउनका लागि सहकारी लागेको हो ।





