बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोले पदमार्ग पुरेपछि विद्यालय जाने बालबालिका प्रभावित

पहिरोले पदमार्ग पुरेपछि विद्यालय जाने बालबालिका प्रभावित

एक घण्टासम्म हिँडेर विद्यालय जान बाध्य ।


  • तारानाथ आचार्य
  • असोज ३ २०७९, सोमबार

बागलुङ/ पहिरोले विद्यालय पुग्ने पैदलमार्ग अबरुद्ध भएपछि यहाँको एक विद्यालयले घुम्ती कक्षा सञ्चालनमा ल्याएको छ । विद्यालयका शिक्षकहरुले कहिले विद्यार्थी बोकेर पहिरो कटाउने त कहिले गाउँमै पुगेर घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन गराउने गरेका हुन् ।

बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाबाट खसेको पहिरोले पैदलमार्ग मासेपछि जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा रहेको कुश्मी प्रावि प्रभावित भएको हो । कुश्मीशेराको वडार र खौर गाउँबाट विद्यालय पुग्ने पैदलमार्ग पहिरोले पुरेको छ । निरन्तर पहिरो बगिरहेकाले दुई गाउँका बालबालिकालाई विद्यालय पुग्न कठिन हुने गरेको छ ।

‘भदौ २१ गते पहिरो खसेपछि केही दिन शिक्षकहरु नै विद्यार्थीको घर पुगेर बोकेर विद्यालय ल्यायौं’ कुश्मी प्राविका प्रधानाध्यापक होमनाथ शर्माले भने ‘परीक्षा चलेको थियो, परीक्षा सकिएपछि घुम्ती कक्षा सञ्चालनमा ल्याएका छौं ।’ खौर र वडार गाउँबाट १० जना बालबालिका कुश्मी प्राविमा पठनपाठनका लागि आउने गरेका छन् । कक्षा १ देखी पाँचसम्म अध्ययन गर्ने सबै बालबालिकालाई खौर गाउँमा रहेको मुना बालविकास केन्द्रमा राखेर पठनपाठन गराउने गरीएको शर्माले बताए ।

‘एक–दुईजना शिक्षक साथीहरु माथि बालविकासमा पढाउन जाने र एक दुई जनाले विद्यालय धान्ने गरेका छौं’ शर्माले भने ‘वर्षा र पहिरो दुवै रोकिएको छैन्, तर बालबालिकाको पढाइलाई रोक्न त भएन नि’,उनले भने । रायडाँडाबाट सुरु भएको पहिरोका कारण गाउँ नै जोखिममा छ । घुम्ती कक्षा सञ्चालन गर्दा शिक्षक, कर्मचारीको अभाव हुने भएपनि उपलव्ध शिक्षकहरुले केही समय बढी खर्चेर कक्षा सञ्चालन गरेको शर्माले बताए ।

कक्षा १ देखि ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा ३६ जना विद्यार्थीले अध्ययन गर्छन् । तीनजना मात्रै दरबन्दीका शिक्षकले पाँचवटा कक्षा चलाउनुपर्ने र त्यसमा पनि दुई ठाउँमा कक्षा सञ्चालन गर्दा कठीन भैरहेको शर्माले बताए । ‘दुई वटा बालविकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीसमेत योग्यता पुगेका हुनुहुन्छ, उहाँहरुको सहयोग र शिक्षकहरुको सक्रियताले सम्भव भएको हो’, प्रअ शर्माले भने ‘बर्षा र पहिरो थामियो भने यो समस्या सधैं नरहला ।’ छिट्टै दशैं बिदाको समय आएको र त्यसपछि वर्षा रोकिए पैदलमार्ग पुनः निर्माण गर्न सकिने शर्माले बताए ।

सोही पहिरोका कारण बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलामा रहेको सरस्वती प्राविका बालबालिका पनि प्रभावित भएका छन् । पहिरोले पैदलमार्ग पुरिएपछि उनीहरु एक घण्टा घुमाउरो बाटो हिँडेर विद्यालय पुग्न बाध्य भएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

तल्लो रामतोला गाउँबाट २० जना बालबालिका सरस्वती प्राविमा अध्ययन गर्ने गरेका छन् । स–साना बालबालिकालाई घुमाउरो बाटो भएर विद्यालय पुग्न कठिन हुने गरेको छ । पहिरो निरन्तर खसिरहेकाले अन्य बिकल्प छैन् । हिउँदको समयमा समेत पहिरोको बाटो भएर बालबालिका बिद्यालय पठाउन जोखिम हुने अभिभावकहरु बताउँछन् । एउटै पहिरोले दुई वटा बिद्यालय जाने पैदलमार्ग, किसानले घाँसदाउरा गर्ने पैदलमार्ग, रायडाँडाका बिभिन्न बस्तिमा पुग्ने सडक र कुश्मीशेराको वडार तथा खौरको बस्तिपुग्ने सडक समेत पुरेको छ ।

पहिरोपछि बिस्थापित परिवारको व्यवस्थापनमा जैमिनी र बागलुङ नगरपालिकाले चासो देखाएका छन् । परिवारको व्यवस्थापनसँगै विद्यालय जाने बालबालिकाको समस्या पनि समाधान हुने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->