बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोले कुलो बगाएपछि ढोरपाटन ७ मा विद्युत अबरुद्ध

पहिरोले कुलो बगाएपछि ढोरपाटन ७ मा विद्युत अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७९, बुधबार
फाईल तस्विर

बागलुङ/ अविरल वर्षातपछि खसेको पहरोले ढोरपाटन नगरपालिका वडा नं. ७ मा विद्युतको कुलो बगाएको छ । कुलो बग्दा यहाँको भुजीखोला लघु जलविद्युत आयोजनाको कुलो बगाएको हो । १ सय किलोवाट क्षमताको विद्युतको कुलो बग्दा वडा नं. ७ का ३ सय ५० घरले बिद्युत बाल्न पाएका छैनन् । अन्धकारमा बस्नु पर्दा उनीहरुको दैनिकी कष्टकर भएको स्थानीयले गुनासो गरे ।

‘बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य दिएपनि बिहान बेलुकी अध्यारो हुँदा त्यसै आएका छन्’ ज्ञानोदय माविका प्रअ यामबहादुर कायतले भने, ‘मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।’ चाडपर्वको बेला देश विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्न समेत नसकिएको उनले गुनासो गरे ।

ढोरपाटन नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँले कै चन्दाको भरमा दशकअघि बनेको यो लघु विद्युतको भरमा स्थानीयले कुटानी पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । ‘भत्के बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौं, अहिले त पहिरो खसेर बर्बादै बनायो’ नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, ‘चापपर्वमा बत्ति नभए कसरी खुसी हुने ?’ कायतले स्थानीय युवाहरु परिचालन गरेर अस्थायी रुपमा पानी चलाउने प्रयास भएको बताए ।

भुजी खोलाको पानीबाट निकालिएको विद्युतको झण्डै २० मीटर खण्ड कुलो पहिरोले बगाएको हो । बगेको पहिरो तीन सय मीटर उचाइको छ । भीरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेको कायतले जानकारी दिए ।

दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकामा सहयोग मागेका छन् । बर्षात नरोकिएकोले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उनले बताए । ‘पहिरो अझै खस्ने जस्तो देखियो, त्यसैले मौषम सुख्खा भएपछि मात्रै धेरै लगानी गर्ने लक्ष्य राखिएको छ’ कायतले भने, ‘अस्थायी रुपमा पानी चलाउन पनि स्थानीयको १० लाख बढी खर्च हुने भयो ।’ तीन वर्ष अघिको भुजीखोला पहिरोले पनि यहाँका सबैजसो लघु विद्युतको मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बिच भागमा खसेको पहिरोले फेरी बिद्युत अबरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->