बागलुङ/ चाडपर्व नजिकीएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतको काम थालेका छन् । वर्षाको समयमा बाढी र पहिरोका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दशैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिका मुकाम जोड्ने स्थानीय सडकहरुको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताए । ‘दशैंमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउन नगरप्रमुखकको निर्देशन थियो’ आचार्यले भने ‘हामीले सबै वडामा काम थालेका छौं, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको काम भैरहेको छ ।’
जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरंगे खण्ड मर्मतको काम सकिएको छ । सबै वडामा वडा अध्यक्षहरुको सकृयतामा सडक मर्मतको काम भैरहेको आचार्यले बताए । अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुनेगरी मर्मत गरिएको उनले बताए ।
नेपालका मुख्य चाडबाडहरु नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा दुर्घटनाको डर हुने भएकाले मर्मत गर्नुपरेको आचार्यले जानकारी दिए । सवारी नै नचल्ने र चलेपनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दशैँ अगावै सडकहरूलाई सञ्चालनमा ल्याउन लागिएको बताएको छ ।
बरेङ गाउँपालिकाले पनि दशैं लक्षित सडक मर्मतको काम थालेको छ । हरेक वर्ष बर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्षपनि मर्मतको काम थालेको हो । ‘खहरे खोलाहरुले खोलका ठाउँमा सवारी चल्नै नसक्ने अबस्था छ, कच्चि सडक भलबाढीले क्षतबिच्छेद बनाएको छ’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘चाडबाडका बेला नागरीकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौं ।’
काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपैयाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । वडालेनै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्योजन गरेको हो । ‘चाडबाड आए भनेर सडक मर्मतको काम भैरहेको छ, तर बर्षा रोकिएको छैन्’ गाउँपालिका अध्यक्ष राजु थापाले भने ‘दिनभर सडक बनाउने, रातभर पानीले बगाउने भैरहेको छ ।’
बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ । नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडकहरू कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।
यसवर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकहरूको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाट समेत माग आएकाले सडकलाई दशैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरोमा सडक खुलाउने बिषयमा समेत नगरपालिका लागि रहेको उपप्रमुख राजु खड्का बताउँछन् । गत बर्ष खसेको पहिरो नरोकिँदा बर्षाभरीनै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अबरुद्ध हुने गरेको छ ।





