बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका राम प्रसाद शर्मा दश वर्ष यता रासायनिक मल बिक्री गर्दै आएका छन् । कुश्मीशेरा बजारमा रहेको उनको पसलबाट बिभिन्न खालका रासायानिक मलको मात्रै बिक्री हुन्छ ।
खेतीपातीको याममा रासायनिक मलका लागि किसानको लाईन लाग्ने उनको पसलमा गोडमेलको याममा भने बिषादीको खोजीमा किसान पुग्छन् । तर उनले बिषदीको बिक्री गर्न भने पाएका थिएनन् । नेपालमा कृषि बालीका लागि आवश्यक बिषादी बिक्री गर्न इजाजत चाहिन्छ । राम प्रसादसँग इजाजत छैन् । किसानको माग बढेपछि राम प्रसाद इजाजत लिन तालिम लिँदैछन् ।
रामप्रसाद मात्रै होईन जिल्लाभर बिउबिजन तथा रासायनिक मलको कारोवार गर्ने व्यवसायीकहाँ आजभोली किसान बिषादीको खोजीमा पुग्ने गरेका छन् । कृषि प्राविधिकहरुको सिफारिस बिनानै बालीनालीमा किसानहरुले बिषादीको प्रयोग बढाएका हुन् । क्षणिक रुपमा बिषादीको प्रयोगले बालीनाली जोगिए पनि दिर्घकालीन रुपमा भने त्यसको नकारात्मक असर भयावह हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउँछन् । तर किसानले भने बजारमा अव्यवस्थित बिषादीको खरिदलाई रोकेका छैनन् ।
किसानको बाली जोगाउने र बिषाधिको असर नियन्त्रण गर्नका लागि ज्ञान केन्द्रले प्रयास थालेको छ । बिषादीको व्यवस्थित प्रयोगमार्फत बाली र जीवन दुवै जोगाउने प्रयास थालिएको भट्टराईले बताए । ‘हामीले बिषादी बिक्रेतालाई नै सचेत र सक्षम बनाउने प्रयास थालेका छौं’ भट्टराई भन्छन् ‘बिषादी बिक्रीका लागि व्यवसायीले इजाजत प्राप्त गर्न परीक्षा दिनुपर्छ, त्यो भन्दा पहिले हामीले व्यवस्थित प्रयोगको बिषयमा तालिम दिन्छौं ।’
व्यवसायीमार्फत व्यवस्थित बिषादी प्रयोग बिधि किसानसम्म पू¥याउन ज्ञान केन्द्रले यो वर्ष ३२ जना व्यवसायीलाई तालिम दिँदै छ । ज्ञान केन्द्रलदे इच्छुक व्यवसायीलाई सार्वजनिक सूचना गरेर तालिममा सहभागी हुन आव्हान गरेको थियो । इजाजत पाउनुपूर्वको तालिमका लागि फाराम भरेका ५२ जनामध्ये ३२ जना छनोट भएर तालिममा सहभागी भएका छन् ।
‘यो भन्दा पहिला जिल्लामा केही व्यवसायी मात्रै इजाजत प्राप्त हुनुहुन्छ, तालिमपछि अब गाउँ गाउँमा व्यवस्थित बिषादी प्रयोग सिकेका व्यवसायी हुनुहुने छ’ भट्टराई भन्छन् ‘यो तालिम देख्दा व्यवसायीका लागि भएपनि किसानहुँदै आम उपभोक्ताको हितमा हुने छ ।’
पछिल्लो समय रोग किराको संक्रमण बढ्दो रहेकाले बिषादीबिना उत्पादन नबढ्ने र बिषाधिको अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको बरिष्ठ बाली संरक्षण अधिकृत शालीग्राम अधिकारीले बताए । व्यवस्थित बिषादीको प्रयोगले किसान र मानव स्वास्थ्य सबैको हित हुने उनको धारणा थियो ।
गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईंले नेपाल सरकारले बिषादीको प्रयोग सम्बन्धि कानून तयार गरेको भएपनि त्यसको कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । किसान र व्यवसायी सबैले बिषादीको प्रयोग गर्दा बिद्धमान कानूनको पालना गर्नुपर्नेमा उनले जोड दिए ।
बागलुङमा यसअघि १४ जना व्यवसायीले बिषादी बिक्रीका लागि इजाजत पाएका छन् । तीमध्ये ९ जनाले मात्रै कारोवार गर्ने गरेको तथ्यांक छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्यांक अनुसार यसअघि तालिम प्राप्त गरेर इजाजत पाएकाहरुले पनि व्यवसाय सुरु नगरेका कारण व्यवस्थित बिषादीको कारोवार गर्नेको संख्यामा कमी आएको हो । कृषिजन्य सामग्री, मल बिउ तथा औजारसमेत बिक्री गर्ने ३१ वटा एग्रोभेट पसलहरु सूचिकृत भएका भएपनि उनीहरु सबै बिषादीका लागि तालिम प्राप्त जनशक्ति भएका होईनन् ।
बिषादीको व्यवस्थित प्रयोगका लागि बुधबारदेखी कृषि ज्ञान केन्द्रले बिषादी खुद्रा बिक्रेता इजाजतका लागि तालिममा सुरु गरेको छ । ६ दिनसम्म सञ्चालन हुने तालिममा मन्त्रालयका सचिव लगायत बिषय बिज्ञहरुले सहजीकरण गर्ने भट्टराईले जानकारी दिए । तालिम पश्चात लिईने परीक्षामा ५० प्रतिशत अंक ल्याउनेले इजाजत पाउने र बिषादीको कारोवार गर्न पाउने छन् ।





