बागलुङ/ जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । २०६७ सालमा सुरु भएको बृहत कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ तर पानी आएको छैन् ।
साविकको कुश्मीशेरा गाविसका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । संघीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको छ । गाविसबाट परिमार्जन भएर वडा बनेको कुश्मीशेरा बजारले दशकौंदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको छ ।
कहिले खोलाको पानी त कहिले कुलोको पानीका भरमा बजारबासी छन् । कुश्मीशेरा बजारमात्रै होइन, बजार आसपासका गाउँहरुमा समेत खानेपानीको चरम समस्या छ । केही वर्ष पहिला बजारका घर– घरमा धारा बने । बजारको केही माथि पानी संकलनका लागि ट्याङ्कीहरु पनि बनेका छन् तर पानी भने आएको छैन् ।
लामो समय मुहानको विवादका कारण कुश्मीशेरा बजारमा पानी ल्याउने काम रोकिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्य बताउँछन् । लामो संघर्षपछि मुहान विवाद समाधान भएकाले अब भने पानी ल्याउने बाटो फुकेको छ । ‘संरचना सबै तयार भएका छन्, अब एक महिनामा धारामा पानी खसाल्न सकिन्छ’, आचार्य भन्छन् ‘विवाद समाधान भएकै दिनदेदि मुहानमा आएको बाढी र पहिरोले पानी ल्याउन नसकिएको हो ।’
आयोजनाको मुख्य मुहानबाट ६ सय धारामा पानी खसाल्ने योजना छ । मुख्य मुहानको पानी नपुग्ने अन्य १४ वटा गाउँका लागि स्थानीय मुहानको व्यवस्थापन गरेर आयोजनाले घरघरमा पानी पु¥याउने लक्ष्य राखेको छ । झण्डै साढे ६ करोड रुपैयाँ लागत स्टमेट रहेको आयोजना समयमा पूरा नहुँदा सर्वसाधारण शुद्ध खानेपानीबाट बञ्चित हुनुपरेको हो । बहुवर्षे आयोजना भएकाले कामको प्रगतिको आधारमा नेपाल सरकार र प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेका छन् । यो आयोजनाका सबै काम सकिँदा कुश्मीशेराका झण्डै १२ सय घरधुरीले शुद्ध खानेपानी पाउनेछन् ।
अध्यक्ष आचार्यका अनुसार यो आयोजना सम्पन्न गर्न १४ किलोमिटर पाइपलाइन, एक सय घनमिटरका दुईवटा ट्याङ्की, २० घनमिटरका ४ वटा ट्याङ्की, १० घनमिटरका दुईवटा र १२ घनमिटरको एक ट्याङ्की तयार भएका छन् ।
खानेपानीको समस्या जैमिनी नगरपालिकाको मुकाममा मात्रै छैन् । बागलुङका अधिकांश स्थानीय तहको मुकाममा खानेपानीको समस्या छ । गलकोट नगरपालिकाको मुकाम रहेको वडा नं. ६ मा पनि शुद्ध खानेपानीको अभाव छ । तीन वर्ष पहिले सुरु भएको भुल्केनी खानेपानी आयोजना सम्पन्न नहुँदासम्म यहाँका सर्वसाधारणले शुद्ध पानी पाउने छैनन् ।
तीन वर्ष पहिले सुरु भएको यो खानेपानी आयोजनाले हालसम्म ३ सय ६७ घरधुरीमा पानी पु¥याएको छ । ७ सय घरधुरीका लागि खानेपानी पु¥याउने लक्ष्य राखेको योजनाले बाँकी घरधुरीका लागि एक घर एक धारा निर्माणको काम गरिरहेको गलकोट नगरपालिका–६ का अध्यक्ष रामप्रसाद कँडेलले बताए ।
‘खोलानाला धेरै भएकाले गलकोटमा पानीको समस्या छ भन्न मिल्दैन’, कँडेल भन्छन् ‘खानेपानीलाई व्यवस्थित गरेर घरघरमा पु¥याउने काम बाँकी छ ।’ यसै वर्ष आयोजनाको काम सकेर पालिकामका घरमा ‘एक घरः एक धारा’ पु¥याउने योजना रहेको कँडेलले सुनाए ।
पानीको समस्या ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारमा पनि देखिएको छ । यहाँ खानेपानी ल्याउनका लागि २०५६ सालमा सुरु भएको क्रमागत बुर्तिबाङ खानेपानी आयोजना चलिरहेकै छ भने
अन्य स–साना आयोजनासमेत सञ्चालनमा छन् । बजारका लागि पानी ल्याउन २७ किलोमिटर टाढा रहेको मुहानदेखि बजार आसपासका मुहानको प्रयोग गर्ने प्रयास ढोरपाटन नगरपालिकाले गरेको छ ।
सदरमुकाम बागलुङ बजारमा शुद्ध पानीको अभावको विषय दिनहुँ चर्चामा आउँछ । अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइदै आइएको छ । तर वर्षाको समयमा हिलो र हिउँदमा मुहानबाटै पानी कम आउँदा समस्या जस्ताको तस्तै छ । २०७५ असारदेखि निर्माण थालिएको लिफ्टीङ खानेपानी आयोजना समयमा सम्पन्न नहुँदा समस्या गहिरिएको हो ।
बागलुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्नसँगै शुद्धीकरण गरेको पानी वितरणको तयारीमा नगर खानेपानी छ । पुस महिनामा परिक्षणको पानी बागलुङ बजारमा पु¥याउने निर्माण व्यवसायीको लक्ष्य रहेको छ ।
खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । अधिकतम् प्रयास गर्दासमेत बागलुङ बजारबासीलाई बितरण गरेको पानीमा केही सुधार आएपनि शुद्धिकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदासम्म खुवाउन समस्या हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिए ।
बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको हो ।





