बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरपालिकाले ठेलागाडी व्यवस्थापन गर्ने

बागलुङ नगरपालिकाले ठेलागाडी व्यवस्थापन गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७९, बुधबार

बागलुङ/ अव्यवस्थित रुपमा संचालनमा आएका ठेलागाडालाई बागलुङ नगरपालिकाले व्यवस्थित बनाउने भएको छ ।

नगर कार्यापालिकाको बैठकले एक महिनाभित्र उचित व्यवस्थापन गर्ने र नभएमा बन्द गराउने काम थाल्ने निर्णय गरेको हो । बजार क्षेत्रमा अव्यवस्थित रुपमा संचालित ठेला गाडी, पोके व्यवसायीका कारण ट्राफिक व्यवस्थापनमा समेत असर परेको ठहर पछि उक्त निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

व्यवसायीको पनि गुनासो आएको र बजारमा निस्कंदा ठेला र पोके व्यपारीको कारण समस्या भएको, पैदलयात्रीले पनि सहजै हिंड्न नपाएको भेटिएको उनको भनाइ छ । एक महिनाको समय दिएर तरकारी फलफुल र चनाचटपट लगायतका सामाग्री बेच्दै आएका ठेलाको व्यवस्थापनको बिकल्प खोज्न भनेको हो । बजार क्षेत्रमा ठेलामा व्यवसायले गर्दा सटरमा भाडा तिरेर बस्नेलाई मर्का परेको र उनीहरुबाट समेत गुनासो आएपछि यो निर्णयमा पुग्नु परेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

नगरपालिकाले बजारभन्दा बाहिरबाट खरिद गरेर गाउँ गाउँमा बिक्री वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय संचालन गर्न आग्रह गरेको छ । ‘करको दायरामा आएका व्यवसायीलाई असर पार्ने, उनीहरुले कर नतिर्ने भएकोले हटाउन बाध्य भयौं’ श्रेष्ठले भने, ‘सफा नगरको अभियानमा यो कदमले सहयोग पुग्नेछ ।’ फोहोरको सफाइसँगै बजारलाई सफा बनाउन यो निर्णय लिएको उनको भनाई छ । कर तिरेर संचालनमा आउन चाहेमा ती व्यवसायीलाई नगरपालिकाले उचित चोक वा कुनै स्थान तोकिदिन भने सक्नेछ ।

बैठकले बागलुङ बसपार्क संचालनका लागि बानपा–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीको संयोजकत्वमा बसपार्क संचालन तथा जग्गादाताहरुको व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलमा वडा नं. १, २, ३ र ५ का अध्यक्ष र कार्यपालिका सदस्य ज्योती विष्टसमेत सदस्य छन् । उनीहरुले बसपार्कका जग्गादाताहरुसँग समन्वय गरी त्यहाँ पुग्ने सडकको मर्मत गरेर सवारी चल्ने वातावरण बनाउनेछन् । बसपार्कका लागि बिजुली र पानी समेतको व्यवस्थापनमा नगरपालिकाले काम गर्ने बताइएको छ ।

अस्थायी तथा करारका कर्मचारीको व्यवस्थापनका लागि सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको छ । समितिमा बानपा–१३ का अध्यक्ष नारायण शर्मा पौडेल, बानपा–४ का अध्यक्ष कुमार विक्रम क्षेत्री, बानपा–१० का अध्यक्ष तिलबहादुर थापा तथा कार्यपालिका सदस्य धनमाया शर्मा रहेका छन् । समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरिएको छ ।

सबै वडासम्म पुग्ने सडकलाई मर्मत गरेर सवारी चलाउन सबै कार्यव्यवस्था मिलाउने निर्णय गरेको गौतमले जानकारी दिए । विपद व्यवस्थापनका लागि आर्थिक सहायता तथा संस्थागत सहयोग कार्यविधि कार्यपालिकाले पास गरेको सापकोटाले जानकारी दिए । नगरपालिकलो वडा तहमा सुपथ मूल्य पसल संचालन गर्ने भएको हो । नगरपालिलको विश्व बैंकको सहयोगमा एनयुजिवाईपी नामक परियोजनमार्फत संचालन हुने सडक निर्माण तथा मर्मतको काम पनि थाल्ने भएको हो । उक्त कार्यकालागि विश्व बैंकले ५५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->