बागलुङ/ सडकमा हिमालपारीका खसी भरिभराउ छन् । बजारमा हिमालपारीका च्याङ्ग्राकै भीडले जाम हुन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मुल्य ४५ हजारभन्दा माथी छ । मध्यम परिवारले समेत प्रयोग गर्नै नसक्ने गरी महंगिएको च्याङ्ग्राको मुल्यले यहाँका कतिपय गाउँसँग भने साईनो राख्दैन् ।
बागलुङका ग्रामिण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक समुहले आँफैले खसी बोकाको उत्पादन गर्छन् । समुह र सहकारीका सदस्यलाई चाहिने खसीबोका राखेर बाँकी बिक्री गर्छन् र दशैं खर्च चलाउँछन् । दशैलाई लक्षित गरेर समुह तथा सहकारीहरुले स्थानीय जातको खसीबोका खरिद–बिक्री सुरु गरेका छन् ।
चाडपर्वमा हुने मासुका खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आबद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण थालेका हुन । पशुवस्तुको मुल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजनाअन्तर्गत गठन सहकारीहरुले हरेक बर्ष दशैं र तिहारलाई लक्षित गरी स्थानीय जातको खसीबोका खरिद बिक्री गदै आएको परियोजनाको बजार सहजकर्ता रितादेवी शर्माले जानकारी दिइन् ।
यो बर्ष बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको बसन्त सामाजिक उद्यमी महिला सहकारीले ६०५, बसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका–३ को रुद्रताल सहकारीले ७२५, भाग्यदय सहकारीले ४७५, पर्वतको फलेवास नगरपालिका–१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले ७५०, महाशिला गाउँपालिका–६ को सामाजिक महिला उद्यमी सहकारीले ७१० खसीबोका बिक्री गर्ने लक्ष्यमा छन् ।
पर्वतको महाशिला गाउँपालिका–८ को पैयुकोट सामाजिक उद्यमी महिला सहकारीले ८८०, फलेवास नगरपालिका–८ को ठानामौला सामाजिक महिला उद्यमी सहकारीले ३९०, बरपाण्डेथुम सहकारी संस्था कास्कीले ३५५, मिजुरे सहकारी संस्था कास्कीले ८४५ वटा खसीबोका बिक्री गर्ने योजना छ । ‘सेयर सदस्यसँग खसीबोका संकलन गरेर बजार पठाउन थालेका छौँ’ बसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भने–‘‘दशैको दुई दिनमा ३३५ वटा बिक्री गरेका छौँ ।’’ सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन ।
कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत बिक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन् । ‘हामीलाई बजारको चिन्ता छैन’ कृषक तंग्रामकी मनकुमारी पुनले भने ‘जति भएपनि सहकारीले खरिद गरेर बिक्री गरिदिन्छ ।’ चाडपर्वमा मात्रै होईन अन्य समयमा समेत यहाँका किसानले राम्रो खसीबोका उत्पादन गर्ने गरेका छन् । च्याङ्ग्राको मुल्य बृद्धिले स्थानीय जातका खसीबोकाको माग अत्याधिक बढेको किसानहरु बताउँछन् ।
उत्पादन लागत र बजार मुल्यको हिसाब गर्दा हुने मुनाफाबाट किसान सन्तुष्ट छन् । ‘पहिलो बजार खोज्दै जानुपथ्र्यो, अहिले ग्राहक घर घरमा आउन थालेका छन्’ विकले भने–‘हिमाली क्षेत्र र तराईका भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ ।’ सहकारीले आफना सदस्यसँग २५ किलोसम्मको ५१० मा खरिद गरी ५२० र २५ किलो माथिका खसीकोका प्रतिकेजी ५५० मा खरिद गरी ५६० रुपैयाँमा बिक्री गर्दै आएका छन् । गैरसरकारी संस्था विवाईसी बागलुङले स्थानीय व्यवस्थापनमा संञ्चालित हेफर इन्टरनेशनलको साना किसान सवलीकरण परियोजनाअन्तर्गत गठित तीन जिल्लाका सहकारीमा ६ हजार २७८ जना सेयर सदस्य आबद्ध छन् ।





