बागलुङ/ लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार राना अब भने आफ्नै गाउँमा व्यवसाय गर्दैछन् । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका हुन् ।
कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो । रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उनीसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन् । गाउँपालिकाभित्रै चल्नेगरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटोरिक्सा उपलव्ध गराएको छ ।
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । शुक्रबार एक कार्यक्रमको आयोजनागरी धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलव्ध गराईएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
गाउँपालिकाले अनुदानमा उपलव्ध गराएका अटो रिक्सा गाउँपालिका भित्रका मुख्य बजार र बस्तीहरु चल्ने छन् । ‘युवाहरुलाई स्वरोजगार बनाउने र ग्रामिण बस्तीमा सहज यातायात सेवा पु¥याउने दवै योजना हो’ अध्यक्ष शर्माले भने ‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौं ।’
पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरुमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर समेत गाउँपालिकाले तोकेर अटो रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहजहुने शर्माले बताए ।
अनुदानमा अटो रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेको लगायतका मापदण्डका आधारमा उनीहरुलाई अनुदान उपलव्ध गराएको शर्माले बताए ।
गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुने छन् । खरिदमा मात्रै अनुदान दिईएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो रिक्सा सञ्चालन, मर्मत संहार र इन्धनको प्रबन्ध अटो रिक्सा सञ्चालक आँफैले गर्नेछन् । ५ लाख ८९ हजार ९ सय पर्ने अटो रिक्साको लागि व्यवसायीले १ लाख ४७ हजार ४ सय ७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।





