बागलुङ/गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका बृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । बर्षभरी दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर शहर पस्नेहरुको कमी छैन् ।
यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुन काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच बर्षअघि वडा अध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आँफु जनप्रतिनिधि भएकाले २४ घण्टा वडाबासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र बृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो ।
तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यहि बाझिँन थालेको बारीबाट लाखौं कमाई गर्न थालेका छन् ।
काठेखोला गाउँपालीका–७ रेशमा रहेको उनको घरवरीपरी किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार÷पाँच बर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’ लामिछानेले भने ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही बर्ष त कुर्नैपर्यो ।’ लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाएका छन् । तिनै बिरुवामा यो बर्ष ७ सय किलो किवी फलेको लामिछानेले बताए ।
‘दुई क्वीन्टल त बिक्री भैसके, अझै पाँच क्वीन्टल जती बोटमै छन्’ उनले भने ‘बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौं ।’ पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गतबर्ष नै लगानी उठाएको उनले बताए । बगानमा किवीको बिरुवालाई आडदिन गतबर्ष ७० हजार खर्चेर उनले टहरा बनाएका छन् ।
लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भैरहेका छन् । प्रतिकिलो २५० रुपैयाँमा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमति कमला लामिछानेले बताईन् । ‘बजारमा होलसेल दिन खोजेको यस्तोउस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महंगो पर्ने’ लामिछानेले भनिन् ‘हामी आँफैले उपभोक्तालाई दिँदा उहाँहरुले रोजेर लैजान पाउनुभएको छ, मुल्य पनि सस्तो पर्छ ।’
यो बर्ष मात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताईन् । बहुबर्षे बाली भएकाले बेला बेलामा सिंचाई र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै बर्ष किवीबाट उत्पादन लिन सकिने उनले बताईन् । त्यहिं बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ ।
‘हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ’ लामिछाने भन्छन् ‘पछिल्लो समय मैले नगदेबाली र फलफुल खेतीमा वडाबासीलाई प्रेरित गर्ने गरेको छु ।’ लामिछानेले वडा कार्यालयको तर्फबाट किसानहरुलाई अनुदानमा किवीका बिरुवा समेत हरेक बर्ष बाँड्दै आएका छन् । उनी गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।





