
बागलुङ/ यमपञ्चक अन्र्तगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरंगी टीका लगाउने गर्छन् ।
दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । आज भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको पनि उनले बताए ।
अहिले चन्द्रमा उत्तरमा रहेकाले आशीर्वाद दिने मानिसको दाहिने पार्नका लागि यस्तो निर्णय गरिएको हो । ‘सप्तरंगी टीका भनी विभिन्न ढंगले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ’– समितिका अध्यक्ष गौतमले भने ।
आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।





