म्याग्दी/ गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको पश्चिम म्याग्दीको दरबाङ–फुलवारी–खानीबोट–बेली हुँदै रुम जोड्ने सडक पाँच महिना बित्दासमेत सञ्चालनमा आउन सकेको छैन ।
म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोटमा गत असार ९ गते सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक अवरुद्ध भएको हो । गएको असार महिनादेखि अवरुद्ध भएको सडकका कारण स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ भने रुमको बेली लगायतका बस्तीमा जाने स्थानीयलाई समेत सास्ती भएको छ ।
पहिरोले खानीबोट–बेली सडक खण्डको करिब १५० मिटर सडक बगाएपछि उक्त ठाउँमा अहिले विशाल भीर बनेको छ । भीरालो जमिन र अत्यन्त जोखिमयुक्त ठाउँ भएकोले स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ भने रुमको बेली लगायतका बस्तीमा जाने स्थानीयलाई समेत सास्ती भएको स्थानीय ५९ वर्षीया असारी नगरकोटीले बताइन् ।
‘गाईवस्तुलाई घाँसपात गर्न दैनिक ओहोरदोहोर गर्नुपर्छ,कतिबेला खुट्टा चिप्लिएर मरिने हो भन्ने डर लाग्छ’ घाँसको भारी बोकेर सो पहिरो पार गर्दै गरेकी नगरकोटीले भनिन् ‘पाँच महिना बित्यो, हामीले यस्तै जोखिम मोलेर पहिरो वार पार गरिरहेका छौँ, पानी परेको बेला कतिबेला चिप्लिएर मरिने हो भन्ने डर हुन्छ ।’
खानीबोटका स्थानीयले श्रमदान गरेर पाइला अड्याउने ठाउँ बनाएका र सोही ठाउँमा पाइला राख्दै खानीबोटको विशाल भीर ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको सोही बाटो भएर बेली–दरबाङ आउजाउ गर्ने मालिका गाउँपालिका वडा नं २ बेलीका श्याम पुन मगरले बताए ।
मलिका गाउँपालिका ३ का वडाध्यक्ष मोतीप्रसाद बूढाले पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकाले वडा र पालिकाको पहलमा मात्रै सडक संचालन गर्न सम्भव नभएकाले ढिलो भएको बताए । ‘पहिलेकै स्थानबाट सडक संचालन गर्न सम्भव छैन,वैकल्पिक ठाउँको खोजी भइरहेको छ’ वडाध्यक्ष बूढाले भने,‘पहिरोको माथिपट्टी व्यक्तिगत जग्गा पर्छ, जग्गावालासँग बाटोका लागि कुरा मिल्न सकिरहेको छैन,बजेटको पनि अभाव छ,त्यसैले सो सडक तत्काल सञ्चालनमा ल्याउन हामीले चाहेर पनि सकिरहेका छैनौँ ।’
अवरुद्ध सडक सञ्चालनमा नआउँदा मालिका गाउँपालिका वडा नं २ र ३ का २ हजार भन्दा बढी जनता असुविधामा परेका मालिका २ बेलीका टकबहादुर विकले बताए । यातायातका साधनमार्फत एक घण्टामा नै बेलीबाट दरबाङ आउन सकिन्थ्यो भने पहिरोका कारण यातायातका साधन सञ्चालन नहुँदा एक दिन नै खर्चिनुपर्ने समस्या रहेको स्थानीयको गुनासो छ । सडक अवरुद्ध हुँदा नियमित आवतजावत गर्नेहरूका साथै खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा समेत समस्या उत्पन्न भएको शिक्षक टेकबहादुर घर्तीले बताए ।





