पोखरा / नेपालको विशेषगरी तराइभेगमा मनाइँदै आएको छठ पर्व पूजा पछिल्लो समय पहाडमा समेत मनाउन थालिएको छ ।
देशकै पर्यटकीय नगरी पोखरामा समेत छठ पर्व मनाउने गरिन्छ । पोखराको चार स्थानमा मनाउँदै आइरहेको छठ पर्व पूजालाई थप व्यवस्थित र विश्वसामु चिनाउनका लागि छट पूजा महोत्सवको आयोजना गरिने भएको छ ।
आगमी वर्षदेखी ठूलो महोत्सवको रुपमा लैजाने उदेश्यका साथ छठ पर्व पूजा समितिले व्यवस्थापनलाई तिव्रता दिएको छ ।
पोखरा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिका अधयक्ष रामआधार गुप्ताले पोखराको केदारेश्वर मन्दिर, भद्रकाली मन्दिरस्थित माछापोखरी, नदीपुर स्थित नारायणस्थान मन्दिर र कालीखोलमा मनाइने छठ पर्वलाई संयुक्त रुपमा मनाउने योजना अघि सारेको जानकारी दिए ।
उनले यसलाई पर्वको रुपमा मात्रै सिमित नगरी महोत्सवको रुपमा लैजाने योजना आफुहरुको रहेको बताए ।
‘हामीले पोखराका विभिन्न स्थानमा छठ पर्व पूजा गर्दै आइरहेका छौँ ।

अब हामीले संयुक्त रुपमा लैजाने योजना अघि सारेका छौँ । यसमा महानगरपालिकाको पनि साथ पाएका छौँ । त्यसैले अब महोत्सवको रुपमा लैजान्छौँ’ उनले भने ।
समितिका कोषाध्यक्ष दिनेश कुमार चौधरीले नेपालको विरगंज विराटनगरबाट शुरु भएको छठ पर्व मनाउने प्रचलन अहिले देशभर फैलिएको सुनाए ।
उनले पोखरा पर्यटकीय स्थलमात्र नभई धार्मिक पर्यटनको क्षेत्र समेत रहेकाले छठ पर्वका लागि भारतीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको सुनाए ।
उनले यो पर्वलाई तराइको मात्र पुजा भनेर मानिदै आएपनि यो सनातन धर्मको अंगको रुपमा रहेकाले सबैले मनाउनुपर्नेमा जोड दिए । पोखरामा करिब पाँच हजार बढीले छठ पूजा गर्ने समितिका सचिव गोरखनाथ जैसवालले जानकारी दिए ।
छठ पर्व सूर्यको अनुष्ठान हो । सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरु दिने चलन रहेको छ ।

केराका घोगा, नरिबल, भोगटे अनि अन्य फलफूलहरुलाई छठको प्रसादका रुपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन विहानै अर्घ्य स्वरुप उदाउँदो सूर्यलाई देखाउने र प्रसादस्वरुप घर लैजाने चलन छ ।
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ ।
कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।





