पोखरा/उामेदवारी दर्ताको केही दिनपश्चात पोखरामा भेटिए, चर्चित उम्मेदवार अब्दुस मिया । चुनावी प्रचारप्रसार छाडेर यता आउनुभएछ त भन्ने प्रश्न उनले हाँसेर टारे । काठमाडौं जाने क्रममा पोखरामा भेटिएका मिया अहिले एमालेले प्रतिनिधिसभामा उठाएका सबैभन्दा कान्छा उमेदवार हुन ।
उमेरको अंकगणित सानो भएतापनि उनको भीडन्त चाहिँ गठबन्धनबाट भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हुँदैछ ।
माओवादीले जनयुद्धको रणनीति बनाएको भनेर प्रचण्डले त्यहाँका मतदातासँग सहानुभूति मागिरहँदा अब्दुसले चाहिँ आफूहरु पृथ्वीनारायण शाहका सहयोगी वंशको प्रतिनिधि भएको खुलाए ।
लिगलिगकोटको दौड जितेर तत्कालीन गोरखाका राजा बनेका द्रव्य शाहको घरमुनि आफ्नो घर रहेको उनले दाबी गरे ।त्यही गोरखा २ को प्रतिनिधिसभा निर्वाचनको लिगलिगे दौडका उम्मेदवार बनेका मियाले उनै द्रव्य शाहपछिका १० औँ राजा पृथ्वीनारायण शाहलाई आफ्नो वंशले सहयोग गरेको बताए ।उम्मेदवारी दिएपछि प्रचण्ड गोरखामा पुगेर भावुक भएका छन भने रिल्याक्स पनि गरिरहेका छन ।उनले गोरखालाई चिनकाङसाङ भन्दै भावुक हुन्छन त, मतदातालाई अगाडि राखेर रिल्याक्स फिल गरिरहेको पनि बताउँछन ।
उनी अहिले गोरखामा अन्तिम युद्ध लड्न आएको बताएका छन । आफ्नो युवाकाल वितेको, जनयुद्धको थालनी भएको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएको जिल्ला गोरखालाई चिनकाङसाङ भएको भन्दै मतदाता फकाउनमा व्यस्त छन । स्थानीय तहको चुनावको नतिजा हेर्दा पनि उनी सबैभन्दा सुरक्षित उम्मेदवारमध्ये पर्दछन ।
गोरखालाई जनयुद्धको थलो, उद्गमस्थल भनेर प्रचण्डले बोलिरहँदा अब्दुसले चाहिँ वर्तमान नेपालको उद्गमथलो लिगलिगकोटको इतिहासको प्रतिनिधी नै आफ्नो पुस्ता रहेको बताए ।गोरखामा बाबुरामलाई जति माया प्रचण्डलाई नगर्ने र आफू युवापुस्ताको, भविष्य बोकेको युवा उमेदवार भएको हुँदा गोरखालीको प्रेमले चुनाव जित्ने उनको दाबी छ ।
‘प्रचण्डलाई मन नपराउने मतदाताले मत मलाई दिन्छन भन्ने आश छ’, कुराकानीमा उनले भने, ‘प्रचण्डले गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री भएर के हुन्छ ? बाबुराम भट्टराई पनि गोरखाबाटै जितेर प्रधानमन्त्री बन्नुभएको हो । प्रचण्डले सिरहाबाट पनि जित्नुभएको हो, ती ठाउँ के भए त ? त्यसकारण गोरखाबाट जितेर के हुन्छ ?’
प्रचण्डका प्रतिष्पर्धी अब्दुस, प्रचण्डलाई जिताउनुपर्ने कारण नभएको र अब्दुसलाई जिताउन हजार कारण रहेको बताउँछन ।उम्मेदवारी दिएपश्चात प्रचण्डले जनक्रान्तिको सुरुवात गोरखाबाटै भएको भनेर गोरखासँगको आफ्नो साइनो मतदातालाई सुनाए । गोरखाबाट चुनाव लड्दैगर्दा त्यहीँको कुनै विद्यालयमा अध्यापन गरेको प्रसंग ल्याएर आफू गोरखाको लागि नयाँ व्यक्ति नभएको प्रष्ट पार्न खोजे ।
तर,प्रचण्डको त्यही अभिव्यक्तिलाई अब्दुसले प्रतिवाद गर्छन ।‘प्रचण्डले भनेका छन, मैले जनक्रान्ति यहाँबाट सुरु गरेँ, त्यही भएर गोरखाले जिताउनुपर्ने ? विद्यालय बनाएको हो ? उहाँले भन्नुहुन्छ कुनै स्कुलमा पढाएको हुँ । जुन स्कुलमा पढाएर यो व्यवस्था ठिक भएन भनेर आन्दोलन गर्नुभो, मान्छे मरे । प्रधानमन्त्री बन्नुभो । आज त्यही स्कुल हेर्ने हो भने सुधार भएन । प्रचण्ड प्रधानमन्त्री भएर के हुने रहेछ त ?’उनी प्रतिप्रश्न गरे ।
प्रचण्डले गोरखामा बसेर गरेको जनक्रान्तिले गोरखाली नै मरेको भनेर उनलाई जिताउनु आवश्यक नरहेको बताए ।‘प्रचण्डले मैले क्रान्तिको रुपरेखा गोरखामा बसेर कोरेको हो भन्नुभएको छ । के विश्वविद्यालयको नक्सा डिजाइन गरेको हो र यहाँ बसेर ? प्रचण्डले गर्दा कत्रो विश्वविद्यालय बन्यो होइन ? जिताउनुपर्छ’, उनले थपे, ‘हतियारको भण्डार बन्यो र हतियार प्रयोग भएर गोरखाली नै मरे । देशमा मान्छे मरे । त्यसैले, गोरखाले प्रचण्डलाई जिताउनुपर्ने कारण नै छैन । अब्दुस मियालाई जिताउने हजार कारणहरु छन । यो कुरा मैले एकदम बलियोका साथ भन्ने गरेको छु ।’
स्थानीय तहको निर्वाचन हेर्ने हो भने एमाले भन्दा सत्ता गठबन्धन झन्डै ८ गुण बढि मतान्तरले अगाडि छ । त्यही आँकडा देखेर प्रचण्डले रिल्याक्स गर्दैगर्दा अब्दुसचाहिँ प्रत्येक टोल र घरमा पुगेर मतदाता रिझाउने चुनावी अभियानमा छन ।‘प्रचण्डले के भन्नुभएको रहेछ भने चुनावको क्याम्पेन गर्ने समय जम्मा ३ दिन हो रे । म चाहिँ फुलटाइम गोरखामा नै हुन्छु । हरेक टोलमा नमस्कार गरेर घरघरमा पुग्नेछु । सबैलाई थाहा छ कि, प्रचण्डको प्रतिष्पर्धा अब्दुससँग हुँदैछ ।
त्यो हिसाबले गोरखाको जनताले कसरी बुझ्छन त्यही भाषामा बुझाउँछौँ’,आफ्नो चुनावी कार्यक्रमबारे बोल्दै उनले भने, ‘मैले जिते भने चाहिँ संसदमा लिएर जाने नयाँ विषय छन, ती जान्छन । प्रचण्डले गर्नुपर्ने सबै काम गरिसक्नुभएको छ । उहाँसँग नयाँ भिजन, आइडिया छैन । उहाँ निरन्तर हुनुहुन्छ, त्यही निरन्तरता रोके न नयाँ चीज आउने हो । केही नयाँ कुराहरु जसले आजसम्म संसदमा लगेको छैन, ती विषय तयार गरेर चुनावमा उठेको हुँ ।’
भावी प्रधानमन्त्री भनेर चित्रित गरिएका प्रचण्डसँग चुनाव लड्दा गोरखाका शुभेच्छुक समर्थकले आफूलाई भौतिक आक्रमणबाट बचेर हिँड्न सुझाव दिएको उनी बताउँछन । कम उमेरमा चुनाव लडिरहेको युवा र वर्षौँदेखि चुनाव लडिरहेका प्रचण्डको तुलना मतदाताले नै गर्ने र त्यहाँ आफूले सकारात्मक प्रतिक्रिया पाएको उनले सुनाए ।
‘तपाईं यति कम उमेरमा चुनाव लड्न आउनुभएको रहेछ भनेर भन्नुभएको छ मतदाताहरुले । हामीले तपाइलाई सहयोग गर्छौँ भन्नुभएको छ । प्रचण्डलाई धेरैपटक देखिसक्यौँ, देशमा धेरैपटक जितिसक्नुभएको मान्छे हो । फेरि उहाँलाई नै जिताउन मतदाता उत्साहित छैनन्’ उनले भने, ‘राजनीतिक रुपमा अब हामीलाई लाग्छ, मतदाताले केही बुझेका छैनन कि भन्ने । तर, उहाँहरुले धेरै बुझ्नुभएको छ । काठमाडौंमा बालेनहरुको समर्थन देखेर पनि अब त युवाहरुलाई अनुमोदन गर्नुपर्छ, समर्थन गर्नुपर्छ भन्ने माहोल पनि बनिरहेको छ ।’
चितवनमा च्यातिएका मतपत्र, मतपेटिकाको बाकस नै साट्ने र प्रचण्डको स्वभावको कारण शुभेच्छुकले प्रेमका साथ आफूमाथि आक्रमण हुनसक्ने सम्भावना देखेर नै बचेर हिँड्न सुझाव दिएको उनले बताए । अर्कातर्फ, आफ्नो उमेदवारीले एउटा माहोल बनेको र विश्वभरिका नै मान्छेले हौसला दिएको उनले बताए ।
‘तपाईलाई थाहा छ, मलाई सबैभन्दा धेरै सुझाव चाहिँ, जोगिएर हिँड्नुहोला है, बचेर हिँड्नुहोस, तपाइमाथि आक्रमण हुनसक्छ भन्ने आएको छ’, किन आएको यो सुझाव ? उनी भन्छन, ‘प्रचण्डको छवि ठीक नभएर हो नि त । हिजो हजारौँ मान्छे मार्ने क्षमता प्रचण्डसँग छ, त्यसरकारणले १७ हजार १ बनाइदेला भनेर हो नि । मलाई आएको त्यो सुझाव प्रेमले आएको हो नि । यत्रो सम्भावना बोकेको केटालाई बिगार्लान, आक्रमण गर्लान भनेर हो नि ।’
अर्को कुरा चाहिँ प्रचण्डले जसरी पनि चुनाव जित्छन भनेर भन्नुहुन्छ । मतपत्र च्यातेर पनि, मतपेटिका साटेर पनि जित्न सक्छन भन्नुहुन्छ । प्रचण्ड गोरखालीको प्रेमले चुनाव जित्दैनन ।प्रचण्डले कमाएको अकुत सम्पत्ति र व्यवहारको कारण प्रचण्डले जित्छन भन्ने त्यहाँका मान्छेलाई लागेको रहेछ । तर, अब्दुसले चाहिँ प्रेमले जित्छ । माया गर्छन । गोरखाको सम्भावना बोकेको केटा हो ।नेपाल निर्माण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणमा सघाउने वंशको प्रतिनिधी हो म । त्यो इतिहास, त्यो गोरखाको वीरतालाई गर्व गर्ने पात्र भर्सेस पृथ्वीनारायण शाहको इतिहास लत्याउने, शालिक फुटाउने पात्रबिचको लडाई हो यो ।त्यसकारण वैचारिक रुपमा पनि यो चुनाव गोरखा भर्सेस प्रचण्डको हो । एमाले भर्सेस माओवादी पनि होइन, एमाले भर्सेस गठबन्धन पनि होइन ।
म सेन्ट्रल लेफ्ट पोलिटिक्स रुचाउँछु, त्यही भएर एमाले प्रवेश गरेँ
म कुनै स्वार्थमा एमाले प्रवेश गरेको होइन । निशर्त प्रवेश गरेको हुँ । मैले एमाले प्रवेश गर्नुअघि केपी शर्मा ओलीलाई जीवनमा भेटेको थिइन । अरु नेताहरुलाई पनि भेटेको थिइन । कोहीसँग नभेटिकिन, निशर्त पार्टी प्रवेश गरेको हुँ ।
प्रचण्डलाई भन्दा केपी ओलीलाई समर्थन गर्न सकिन्छ । जस्तो नेपालमा नागरिकता विधेयक आयो । मेरो जे सोचाई थियो, एमालेको धारणा पनि त्यही आयो । राष्ट्रियता, सीमा सुरक्षाको विषयमा एमालेको जुन राजनीतिक धारणा छ मेरो पनि त्यही छ । पात्रका विषयमा कुरा नगरौँ ।
प्रचण्डमा यी हिम्मत देखिएनन ।
हिजो नाकाबन्दी भयो, कांग्रेसले नाकाबन्दीलाई स्विकार समेत गरेन के ।दीर्घकालीन राजनीति गर्ने हो भने, राष्ट्रियताको कुरा म गरिरहेको छु ।एक हिसाबले संघीयताको प्रति मेरो जुन असन्तुष्टि छ, नागरिकता विधेयकमा एमालेले जुन भूमिका निभायो, एक राष्ट्रपतिले जे निर्णय गर्नुभयो, यी सबै कुरा हेर्दाहरु चाहिँ, केही पात्रहरुसँग असमझदारी भएतापनि दीर्घकालको लागि एमाले उपयुक्त छ ।
अर्कोतर्फ हामीले साझा पार्टी सेन्ट्रल लेफ्ट पोलिटिक्स गर्ने भनेर स्थापना गरेका थियौँ, एमालेले पनि त्यही गरिरहेको छ ।मान्छेहरुले भन्नुभाछ, सिद्धान्तमा विचलन ..। होइन नि । होला हाम्रो पार्टीका केही मान्छेहरु सिद्धन्तमा विचलन भएर अन्यत्र गएहोलान । अब्दुस मियाको कुरा गर्ने हो भने उसले सेन्ट्रल लेफ्ट पोलिटिक्स गर्ने भनेको हो, अहिले आफ्नो पार्टी क््रयास भएपछि सेन्ट्रल लेफ्ट पार्टी जोइन गरेको हो ।केपी ओली, प्रचण्ड र देउवालाई तुलना गर्ने हो भने, एक नम्बरमा आउने केपी ओली नै हो । एमाले नै त्यस्तो पार्टी हो, मेरिटोक्रेसीलाई सबैभन्दा प्रवद्र्धन गर्ने पार्टी नै एमाले हो । हरेक हिसाबले यही सहि भन्ने मलाई लाग्यो र एमाले प्रवेश गरेँ । कुनै शर्त राख्नलाई जागिर खान आएको होइन नि ।





