पोखरा/ पोखरा महानगरपालिकाभित्र पार्किङ प्रायोजनका लागि भन्दै अनुमति लिई व्यवसायी प्रायोजनमा प्रयोग गरेको अन्डरग्राउन्डका व्यापारलाई हटाउन ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
पोखरा महानगरपालिकाले मंगलबार सांकेतिक रुपमा अन्डरग्राउन्डमा व्यापार गर्दै आइरहेका व्यवसायीको संरचनामा डोजर चलाउँदै ७२ घण्टासम्मको अल्टिमेटम दिएको हो । चाडको समय रहेको भन्दै छठ पर्वसम्म हटाउन पत्राचार गरेको महानगरले मंगलबार कारवाहीको प्रक्रियालाई अघि बढाएको हो ।
यस अघि महानगरले पटक पटक गरि अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको थियो । सोही चेतावनीपश्चात महानगरका मेयर धनराज आफै स्थलमा पुगी व्यवसाय हटाउन लगाएका हुन् । उनले व्यवसाय हटाउनका लागि २४ घण्टादेखी ७२ घण्टाको अन्ति मौका दिएका हुन् । अन्तिम मौकासँगै उनले सवारी छिर्न मिल्ने गरी बाटो बनाउन समेत निर्देशन दिएका छन् ।
‘सांकेतिक रुपमा अहिले डोजर चलाएका छौं । पहिले चाडपर्वले गर्दा केही लचिलो बनेका थियौं’, उनले भने, ‘अब भने हामीले बल प्रयोग गर्नैपर्छ । यो कुरा पहिल्यै जानकारी गराइसक्या छौं ।’ आरके भवनपछि महानगरको टोली सेलवेज टावरमा पुुग्यो । टावरको अन्डरग्राउण्डमा ‘बिगबजार सेल स्टोर’ सञ्चालनमा थियो । टावरको भूूमिगततलाको उक्त पसलले भने आफ्नो सामान आफैं हटाउन सुरु गरिसकेको थियो । बिगबजारका सञ्चालक जनक कार्कीले आफूलाई केही समय दिन आग्रह गरे । ‘हामीले हटाउन सुरु गरेका छौँ । उता (नयाँ पसल राखिएको ठाउँ) यहीँकै सामान लगेर बनाउँदैछौँ । कोरानाले सिथिल भएपछि नयाँ बनाउन सकिएन त्यसैले यहीँको सामानलाई लगेर बनाउँदै छौँ’ उनले भने,‘हामी राज्यको निर्णयको सम्मान गर्छौँ । सहर सफा र व्यवस्थित बनाउन हामी सहयोग गर्छौ तर केही
समय दिनै पर्छ ।’ मेयर आचार्यले उनलाई रातारात समेत काम गर्दै ७२ घन्टाको समय दिदैँ त्यो नै अन्तिम समय रहेको बताए ।
महानगरले चिप्लेढुंगा, महेन्द्रपुलसम्मका ३ संरचनामा डोजर चलाएको थियो भने ४ भवनका व्यवसायीलाई चेतावनी दिएर छोडेको थियो । महानगरले आरके बिल्डिङ, बुद्ध विशाल बजारको एउटा फेन्सी पसल र गरिमा विकास बैंक रहेको भवनको संरचनामा डोजर चलाएको हो । सीता भवन, अरबिन्द भवन, सीता भवनलगायतका व्यवसायीलाई सम्झाएर फर्किएको थियो ।
गरिमा विकास बैंकले अन्डरग्राउण्ड नै छेकिने गरी संरचना बनाएर बैंकिङ काम सञ्चालन गर्दै आइरहेको थियो । महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले अन्य व्यवसायी तथा घरधनीलाई ७२ घन्टे अन्तिम अल्टिमेटम दिए पनि बैंकको हकमा भने महानगरमा छलफलका लागि बोलाइएको जानकारी दिए । ‘बैंकलाई अरुको जस्तो गर्न सजिलो छैन् । त्यहाँ धनराशीदेखि लकरसम्म हुन्छ र तत्काल सार्न पनि समस्या हुन्छ । त्यसैले हामीले महानगरमा छलफलका लागि बोलाएका छौं’, इन्जिनियर पौडेलले भने, ‘उहाँहरुले के कति समय माग्नुहुन्छ । त्यही अनुसार हुन्छ ।’
पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न सूचना जारी गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा एक औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।
तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउण्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो । पोखरा महानगरपालिकाका नगर प्रहरी (असई) पुरुषोत्म थापाले पार्किङ प्रायोजनका लागि भन्दै महानगरबाट राजश्व छुट लिई व्यापारिक प्रयोजनलाई दिएको सुनाए । उनले महानगरले यसअघि समेत पटक पटक हटाउन आग्रह गरेपनि कार्यान्वयन नगर्दा अहिले पनि अटेरी गरेको बताए । उनले महानगरले पहिला जस्तै अहिले पनि सूचना दिने तर कार्यान्वयन गर्दैन भन्ने सोचका साथ केही घरधनीले अटेरी गरेको र त्यस्ता भवनमा सांकेतिक रुपमा डोजर चलाएको बताए ।
महानगरभित्र करिब २ सय ५० हारहारीमा अन्डरग्राउन्ड सहितको भवन रहेपनि करिब ४०देखी ५० भवनले भने पार्किङको प्रायोजन गर्ने भन्दै महानगरको सेवा लिएर भवन बनाएपनि त्यहाँ व्यवसायी सञ्चालन गर्दै आइरहेको छ । पहिले पूरै राजश्व छूटको व्यवस्था थियो । तर पछि ५० प्रतिशत छूट दिने व्यवस्था गरेको हो । उक्त छूट लिने १६, १७ वटा भवन छन् । ७२ घण्टाभित्र समेत नहटाएमा महानगरले सबै सामान जफत गरि हटाउने उनले बताए ।





