बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड र अहिलेको भिडन्त

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड र अहिलेको भिडन्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७९, शुक्रबार
हरिकृष्ण श्रेष्ठ

पोखरा / कास्कीका रामचन्द्र अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’, म्याग्दीका कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी कास्की हेम्जाकै जयप्रसाद बास्तोला हेम्जा, कास्की हंसपुरका पुष्पकमल सुवेदी, पोखरा सराङकोटका मोदनाथ रेग्मी अमरनाथ सुवेदी, गोपालनन्दन गिरी, जयप्रकाश बास्तोला लगायतका युवाहरुलाई ‘नक्सलवादी’ आन्दोलनले तानिसकेको थियो ।

तातो रगत ! सत्ता विप्लव चाहने उनीहरुले २०२५ साल जेठ ३० गते नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी–धौलागिरी) गठन गरे । हालका एमाले अध्यक्ष केपी शर्मा ओलीले मालेको सदस्यता लिनु अगावै रगतले ल्याप्चे ठोकेका उनीहरुले भूमिगत संगठन निर्माण थाले । युवाहरुसँग खर्च थिएन । त्यसैले उनीहरुले ‘आफैं बाँच र पार्टीको काम गर’ भन्ने नीति पारित गरे । त्याग, बलिदान, इमान्दारिता र समर्पणको नारासहित गाउँ उक्लिए । र, यसरी गाउँ पस्नेमध्ये एक थिए, एमालेका पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’ ।

२०२७ सालमा म्याग्दी उक्लिएका प्यासीले सुरुमा दरवाङ स्कूल पढाए । ‘दरबाङ हाइस्कुल पढाएँ, तातोपानी साइडतिर संगठन निर्माण गरेँ । अरु साथीहरुले राखुमा काम गर्नुहुन्थ्यो । सोमबहादुर बोगटी प्रकाश माविमा पढाउनुहुन्थ्यो । रामचन्द्र दाइ (रामचन्द्र अधिकारी) र प्रकाशहरु राखुमा काम गर्नुहुन्थ्यो’, अतित सम्झँदा रोमाञ्चित बनेका प्यासीले भने, ‘साथीहरुले दोवा जाऊ भने । त्यहाँ भानु निम्न माध्यमिक विद्यालय खोलेँ, काम थालेँ । दिनभर केटाकेटी र रातभर बाउआमा पढाउने काम गरेँ ।’

दोवा गाउँ म्याग्दी

प्यासीको भनाइ अनुसार दोवा (हाल अन्नपूर्ण गाउँपालिका–१) तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भिमप्रसाद गौचनको पकेट क्षेत्र थियो । प्यासीका अनुसार विकट गाउँमा भिमप्रसादको चरेस खेती थियो । प्यासीले दोवा पुगेपछि नयाँ अभियान चलाए । भिमप्रसादले चरेस खेती गरेको ठाउँमा ५४ हल गोरु लगेर जोत्न लगाए, जग्गा बाँडे र गाउँलेलाई मकै रोप्न उक्साए । भिमप्रसाद रिसाउनु स्वभाविक थियो । उनले प्यासीलाई पक्राउ गर्न सिडियोसहितको टोली पठाए । सिडिओसहितको टोलीलाई गाउँलेले डाँडा माथिबाट ढुंगामुढा ग¥यो । सिडिओले हात उठाए ।

‘गिरफ्तार गर्न आएका सिडिओसहितको टोलीलाई लक्षित गर्दै माथिबाट ढुंगा मुढा ग¥यौं । उनले हात उठाए । के सिंजापति भन्ने सिडिओ थिए अहिले नाम बिर्सें’, प्यासीले भने, ‘हामीले सिडिओलाई कब्जामा लियौँ । उनी बोलेनन् । हामीले सिंगो दोवा कब्जा ग¥यौँ । आमसभा भयो । पञ्चहरुलाई राजिनामा दिन लगाइयो । मलाई गिरफ्तार गर्न आएका सिडिओ नै गिरफ्तारीमा परेपछि हामीले त्यहाँ गणतन्त्र घोषणा ग¥यौँ ।’

दोवा कब्जालाई उनी अहिले आफूले चुनाव जितेभन्दा मीठो सफलताको रुपमा स्मरण गर्छन् । तीन महिनासम्म दोवा कब्जा गरेका उनी पछि पक्राउ परे । त्यही अभियोगमा तीन वर्ष जेल परे । जेलबाट छुटेसँगै २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा उनी कास्कीबाट जनपक्षीय उम्मेदवार बने । बाल्टिन चुनाव चिन्ह लिएका प्यासी राष्ट्रिय पञ्चायत पुगे । आफूविरुद्ध अभियान चलाएका व्यक्ति रापंस भएर आएपछि भिमप्रसाद मुर्मुरिनु स्वभाविक थियो । उनले राष्ट्रिय पञ्चायतमै भने, ‘यहाँ (राष्ट्रिय पञ्चायतमा) रक्तबीजहरु चुनाव जितेर आएका छन् ।’ प्यासी पनि के कम ! उनले भिमप्रसादले गरेका गलत क्रियाकलाप समेटिएको र आफैले सिडिओबाट कब्जा गरेको पहेँलो डायरी देखाउँदै भने रे, ‘चरेस बेच्न पाइन भनेर यस्तो भन्ने, मेरो अनुहारमा आँखा जुधाएर हेर्ने ताकत कसैसँग छ ?’ प्यासी म्याग्दीको संगठनलाई अहिले पनि सबैभन्दा चुस्त र बलियो मान्छन् । आफूले रक्तबीजको रुपमा कार्यकर्ता जन्माएको गर्व जिकिर गर्छन् । ‘हामीले त्यो बेला गरेको गतिविधिको जगमा टेकेर म्याग्दीको संगठन निर्माण भएको हो’, उनी ठोकुवा गर्छन् ।

प्यासीको बोलीमा दम छ । कारण, २०४८ सालदेखि हालसम्म भएका चुनावमध्ये त्यहाँ एकपटक मात्र कांग्रेसले जितेको छ । त्यो पनि, एमाले विभाजनपछि २०५६ सालमा । २०५६ सालको चुनावमा मालेबाट यसअघिका सांसद निल पुन, एमालेबाट नरदेवी पुन र कांग्रेसबाट नारायणसिंह पुन उम्मेदवार बनेका थिए । वामपन्थी शक्ति फुटेको फाइदा नारायणसिंहले पाए । नत्र, २०४८ सालको चुनावमा म्याग्दीबाट थममाया थापा र बानियाँ चन्द्रप्रकाश बानियाँ, २०५१ सालमा एमालेकै निल पुन, २०६४ सालमा माओवादीका गोविन्द पौडेल, २०७० र २०७४ सालमा क्रमशः मा एमालेका नवराज शर्मा तथा भूपेन्द्रबहादुर थापा विजयी भए । २०७४ सालको चुनावमा त्यहाँ वाम गठबन्धन थियो । नवराज अहिले एमाले गण्डकीका अध्यक्ष छन् । निल पुन अमेरिका भासिएका छन् ।

अहिले परिस्थिति फेरिएको छ । एमालेको ‘अभेद्य’ किल्ला मानिएको म्याग्दीमा माओवादी केन्द्र फरक धारमा उभिएको छ । कतिसम्म भने प्रतिनिधिसभाको ‘भाग’ पाएको माओवादीले त्यो सिट छाडेर प्रदेशतर्फका २ सिट लिएको छ र त्यहाँ कांग्रेसका जिल्ला सभापतिसमेत रहेका खमबहादुर गर्बुजालाई सघाउँदै अगाडि बढेको छ । एमालेले हरिकृष्ण श्रेष्ठलाई उम्मेवार तोक्यो । जनजाति बाहुल्य म्याग्दीमा राप्रपाबाट जगतप्रसाद गौचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिबहादुर खत्री क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनबाट ओमराज मगर तथा स्वतन्त्रहरु विनोद भट्टचन,नविन जिसी र खिलबहादुर बरुवाल मैदानमा छन् । माओवादीले प्रदेश ‘क’ मा हरि भण्डारी र ‘ख’ मा रेशम जुग्जाली ‘सुविन’लाई उम्मेदवार बनाएको छ भने एमालेले ‘क’ बाट देवेन्द्रबहादुर केसी र ‘ख’ बाट यामबहादुर गर्बुजालाई मैदानमा उतारेको छ ।

खमबहादुर गर्बुजा

एमाले म्याग्दीका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ अर्थुङ्गे गाविसको पूर्वअध्यक्ष पनि हुन् । २०२२ साल भदौ २ गते जन्मेका उनीसँग पूर्व जनप्रतिनिधीको परिचय झुण्डिएको छ भने खमबहादुर गर्बुजा पूर्वलाहुरे हुन् । दग्राममा २०२२ साल मंसिर ८ गते जन्मेका गर्बुजा र श्रेष्ठबीच उमेरको खासै अन्तर छैन । तर, मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसका उम्मेदवारबीच नै हुने निश्चित छ ।

२०७४ सालमा माओवादीसहित चुनावी मैदानमा होमिएका एमाले एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९८० मत पाएका थिए । त्यो चुनावमा राप्रपा र कांग्रेसबीच तालमेल भएको थियो । प्रदेश ‘क’तर्फ माओवादीका विनोद केसी १४ हजार ७०४ मतसहित विजयी हुँदा राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ र ‘ख’ मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मतसहित विजयी हुँदा कांग्रेसका अमलाल फगामीले ७ हजार ९९० मत ल्याएका थिए । प्रदेशतर्फ म्याग्दी ‘क’मा बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका पर्छन् भने ‘ख’ मा धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका रहेका छन् ।

गएको स्थानीय चुनावको नतिजा हेर्ने हो भने, अन्नपूर्ण गाउँपालिका एमालेले जितेको छ । अध्यक्ष भारतकुमार पुनले ४ हजार १५ मत ल्याउँदा कांग्रेसका प्रत्यासी बलबहादुर तिलिजाले ३ हजार ३५८ मत पाएका छन् । धौलागिरीमा कांग्रेसका प्रेमप्रसाद पुन ३ हजार १२३ मतले विजयी हुँदा एमालेका थमसरा पुनले २ हजार ५४८ मत ल्याएकी छन् । त्यहाँ उपाध्यक्ष भने माओवादीले जितेको छ । बेनी नगरपालिका ७ हजार ६०३ मतसहित एमालेको पोल्टामा जाँदा कांग्रेसका चिरञ्जीवी शर्माले ६ हजार २३० मत पाएका छन् । गठबन्धनबाट त्यहाँ पनि माओवादीले जितेको छ । मंगला गाउँपालिकामा त्रिपक्षीय भिडन्त भएको थियो । एमालेका सत्प्रसाद रोका ३ हजार ९६८ मतले विजयी हुँदा कांग्रेसका वीरेन्द्र बुढाथोकीले ३ हजार ८०५ र माओवादीका टेकबहादुर बिकले १ हजार ५२१ मत पाएका थिए ।

मालिकामा एमालेका बेगप्रसाद गर्बुजा ३ हजार ९१ मतले विजयी हुँदा कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले २ हजार १२५ मत ल्याए । रघुगंगामा कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतले विजयी हुँदा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २७९ र माओवादीकी मिना बिकले ९९५ मत प्राप्त गरिन् । स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीले पाएको मत जोड्ने हो भने म्याग्दीमा गठबन्धनको पक्षमा २८ हजार १६५ र एमालेको पक्षमा २४ हजार ५०८ मत हुन आउँछ ।

तर, चुनावमा व्यक्तित्वले पनि भोट तान्छ । यसअघि २ पटक संघीय सांसद हारेका कांग्रेसका गर्बुजा र २०७० र २०७४ सालको जीत दोहो¥याउने दाउमा रहेका श्रेष्ठबीचको प्रतिस्पर्धा कसिलो नै हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->