
पोखरा / पोखरामा म्यादी प्रहरीहरु ‘पोशाक’ को विषयमा असन्तुष्ट देखिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छनोट गरेका म्यादी प्रहरीमध्ये पुरानाहरुले पुरानै पोशाक लगाउन पाउनुपर्ने माग गरेका हुन् ।
पोखरा महानगरपालिका ९ नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीका लागि पोशाक वितरण भएको थियो । सोही क्रममा दोस्रोपटक म्यादी भएकाहरुले पोशाक नलिने अडान राखे ।
करिब ५०–६० जनाको संख्यामा पुरानै पोशाक लगाएका म्यादी प्रहरीले प्रदर्शनी केन्द्रको खुल्ला चौरमा पलेटी कसेर विरोध असन्तुष्टि जनाए । त्यही विरोधमा सामेल एक म्यादीले नयाँ कपडाको लागि बेकारमा पैसा तिर्न परेको सुनाए । उनले नयाँको रकम पाए घरखर्च चल्ने तर्क गरे । ‘त्यो ६ हजार रुपैयाँ देऊ, हामी घर चलाउँछौँ । यो पनि (लगाएको पोशाक देखाउँदै) त नयाँ नै छ फेरि किन चाहियो अर्को ?’उनको प्रश्नमा त्यहाँ खटिएका प्रहरी कर्मचारीको जवाफ थिया े‘हामीलाई भनेर हुँदैन् माथिको आदेश हो ।’
अर्का म्यादी प्रहरीले आफुहरुसँग ६ महिना अघिको पोशाक हुँदाहुँदै नयाँ लिन बाध्य पारिएको सुनाए । ‘ ६ महिना अघि पाएको ड्रेस जस्ताकोतस्तै छ । केही पनि भएको छैन् । फेरि यो किन लिनुपर्ने ? यो नलिए हुँदैन’, उनले भने,‘पहिला लिँदा ६ हजार रुपैयाँ तिरेको हो । अहिले पनि ६ हजार तिर्नुपर्छ । मंसिर जाडो समय भएकाले एक हजार रुपैयाँको स्वेटर चाँहि किन्नै पर्छ,त्यो दिए भइहाल्थ्यो नि ।’
यस्तै अर्का म्यादी प्रहरी भएका युवाले भने,‘हामीलाई फेरि भर्ना हुन आउँदा फिजिकल टेस्ट गर्नु परेन । सिधै भर्ति गराइयो । म्यादी हुदाँ केही आम्दानी हुन्छ भनेर नै आएको हो । फेरि पनि ड्रेस किन्न पर्ने भयो ।’ सोही भीडमा रहेका अर्का म्यादीले बाहिर सस्तोमा बनाउने पोशाकको नाममा ६ हजार लिएको बताए । उनले पोशाक लिदैँ गर्दा भने,‘यो नलिइकन बाहिर सस्तोमा बनाए हुन्न र ? पहिलाको पनि नयाँ छ’, उनले प्रहरीले दिएको पोशाक समेत आफ्नो साइजको नभएको सुनाए ।
पोशाकको नाममा ठूलो कमिसनको चलखेल भएको आरोप लगाए । उनले आफुहरुसँग ६ महिना अघि लगाएको पोशाक हुँदाहुँदै पनि कमिशनको खेलका लागि नयाँ पोशाक भिडाएको गुनासो गरे । ‘यो सबै कमिशनको खेल हो । हामीसँग पोशाक छ । अहिले दिएको पोशाक ठूलो छ । यो ६ हजार रुपैयाँ पनि पर्दैन तर रकम काटिन्छ’, उनले भने,‘कि त रंग फरक भएको भए हुने । रंग त्यही, डिजाइन त्यही छ, किन लिनुप¥यो नयाँ ? बरु नयाँ भर्ति भएकालाई दिएर हामीलाई (पुरानो) नदिएको भए पनि र त्यो बजेट काटेको भए सरकारको बजेट अर्को योजनामा काम लाग्थ्यो ।’
सरकारले स्थानीय तह निर्वाचनमा खटिएका म्यादीलाई विशेष प्राथमिकता दिएको थियो । मंसिरका लागि गण्डकी प्रदेशमा १२ हजार ३ सय ४० भर्ना गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कक अनुसार ४ हजार ९३३ जना पुराना (स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएका) तथा ७ हजार ४०७ जना नयाँ म्यादी प्रहरी रहेका छन् । प्रहरी स्रोतका अनुसार पहिला म्यादी प्रहरी भएका व्यक्तिलाई सोही पोशाक लगाउने व्यवस्थापन भएको भए गण्डकी प्रदेशमा मात्रै २ करोड ९५ लाख ९८ हजार रुपैयाँ जोगिन्थ्यो ।
पोशाककै लागि बजेट आउँछ: डिआइजी
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीले पोशाकका लागि छुट्टै रकमको व्यवस्थापन भएको बताए ।
‘को पुरानो, को नयाँ, को कस्तो भन्ने थाहा हुँदैन । युनिर्फम लाउने पेशा हो सरकारले युनिर्फमकै लागि बजेट छुट्याएर लुगासमेत दिएको अवस्था हो’, उनले भने,‘पुरानो पनि लाउन पाए, नयाँ झन हुने नै भयो उनीहरुले पैसा तिर्ने होइन् । सरकारले तिर्ने हो ।’ उनले म्यादी प्रहरीलाई प्रहरीकै जसरी रासनपानी, लत्ताकपडा र तलब छुट्टै हुने जानकारी दिए ।
‘सुविधा सबै छट्टाछुट्टै हुन्छ । स्केलमा आउने कुरा हो लगाउनै पर्छ’, उनले भने । एक दुई महिनाका लागि भए पनि उनीहरु प्रहरी नै भएको उनको भनाइ छ । उनले आफुहरुले विभागसँग लडेर नै नयाँ पोशाकका लागि बजेट माग गरेको बताए । उनका अनुसार नयाँ विज्ञापन गरेर नयाँ छनोट गरेको अवस्था हो । ‘कति नयाँ भए, कति पुराना भए त्यो त हिसाब किताब हुँदैन । सबैलाई नयाँ चाहिन्छ भनेर हाम्रो आइजिपी साब लडेर सरकारले पनि दिएको अवस्था हो ।’





