बागलुङ/ बागलुङ बजारको सफाइका लागि नगरपालिकाले ढल निकास गर्ने तयारी गरिरहेको बेला खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सहितको प्राविधिक टोलीले स्थलगत संभाव्यता अध्ययन गरेको छ ।
महानिर्देशक रमाकान्त दुवाडीसहित प्राविधिक बिज्ञ टोलीले ढल निकासको परियोजना संचालन गर्ने स्थल समेत निरिक्षण गरेको हो । उक्त टोलीले यसअघि दुइ स्थानमा फोहोर व्यवस्थापन गर्ने भनिएकोमा एकै स्थानमा व्यवस्थापन गरेर काम गर्न सुझाएको छ । काठेखोलास्थित ससेस्थानमा फोहोर व्यवस्थापन गर्न सुझाव दिएको हो ।
तीन वर्षअघि नगरपालिकाले बनाएको डिपिआरमा बानपा ४ को ढोडेनी र बानपा–१ को ससेस्थानमा गरी दुइ स्थानमा ढल निकास गर्ने लक्ष थियो । साथै त्यसका लागि दुइ स्थानमा ढल प्रशोधन केन्द्र बनाउनु पर्ने बाध्यता थियो । यो टोलीले भने एकै स्थानमा केन्द्र बनाएमा खर्च पनि कम हुने र सहजै काम गर्न सकिने बताएको हो । त्यसका लागि सो स्थानमा २० रोपनी जमिन आवस्यक पर्ने बताइएको छ ।
बागलुङ नगर पालिकाको लागत साझेदारीसमेत गरिने भएकोले नगरपालिकाले जग्गा छनौटमा पनि सहजीकरण गर्ने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । बजार भरको ढल एकीकृत गरेर जिल्ला कारागार रहेको स्थानदेखि तल काठेखोलामा जम्मा गरिनेछ । उक्त स्थानमा ५ वटा स्टेपको प्रशोधन केन्द्र बनाएर कम्पोष्ट मल बनाउने योजना छ । उक्त योजना सफल भएमा बजारको ढल व्यवस्थापन हुने, कम्पोष्ट मल सहजै पाइने र नदी खोलामा प्रदुषण पनि कम हुने बताइएको छ ।
हाल बजार क्षेत्रको शौचालयबाट निस्कने फोहोर समेत सेफ्टी ट्यांकी सफाइको नाउँमा उठाएर नदी किनार क्षेत्रमा लागेर फाल्ने गरिएको छ । त्यसले नदी प्रदुषण भएको छ । तर प्रशोधन केन्द्र बनेपछि कम्पोष्ट मल बनाउने र बाँकी पानी वातावरण मैत्री बनेपछि मात्रै खोलामा छाडिनेछ । यो कामका लागि नगरपालिकाले डिपिआर बनाइसकेको थियो । उक्त डिपिआर संशोधन गरेर प्रयोगमा ल्याउन बिभागले चासो दिएको हो ।
दुइ स्थानमा प्रशोधन केन्द्र बनाएमा २ अर्ब लाग्नेमा एकै स्थानमा बनाएमा १ अर्ब १५ करोड खर्च हुने बताइएको छ । त्यसका लागि बजेटको अभाव हुन नदिने दुवाडीले बताए । ‘काम कुन रुपमा गर्ने भन्नेमा मात्रै ढिलाइ हो, बजेटले काम रोकिंदैन’ उनले भने, ‘दिगो रुपमा ढल निकासको कामका लागि पर्याप्त जग्गा भने चाहिन्छ ।’ नगरपालिकाले लागत साझेदारी समेत गर्ने भएकोले जग्गा छनौट र व्यवस्थापनको जिम्मा दिइएको उनले बताए ।
रामरेखादेखिको ढल बाल उद्यानहुँदै पाइपलाइनबाट ससेस्थान लैजाने योजना छ । उक्त कामका लागि सामुदायिक वनक्षेत्रमा पनि काम गर्नुपर्ने छ । सामुदायिक वनको जमिन उपयोग गर्ने कामकालागि सहमति जुटाउन नगरपालिकाले काम थाल्नेछ । वडा नं. १ का अध्यक्ष जयबहादुर केसीले पनि सहमतिकै आधारमा योजना संचालन गर्ने बताए । ‘यो हाम्रो नगरको गौरवको योजना हो, यो काम सफल भएमा नगर स्वच्छ र सफा समेत हुन्छ’ उनले भने, ‘सबै मिलेर काम गरेमा सफा नगरको अभियान सफल हुन्छ ।’ ढल निकासको काम जटिल भएकोले प्राविधिक बिज्ञमार्फत गर्नुपर्ने दुवाडीको कथन थियो ।
यसअघि विभागले काठमाण्डौ, दोलका र भोजपुरमा पनि यस्तै काम गरेको र ती परियोजनाहरु अन्तिम चरणमा पुगेको उनले बताए । बागलुङमा सडकको ढल समेत व्यवस्थित छैन । जसका कारण पानी पर्दा बजार क्षेत्रमा डुवान हुने गरेको छ । यो परियोजनामार्फत सबैक्षेत्रमा व्यवस्थित ढल बनाएर पानीको निकास समेत गरिने बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।





