बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमुलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिइन् । सधैंजसो जनस्वास्थ्यका अभियानहरुको सन्देश बोकेर आफ्नो टोलका घर घरमा पुग्ने थापा यस पटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेकी छन् ।
जनस्वास्थ्यका अभियानहरु चलेका बेला थापाको झोलामा सचेतनामुलक सामग्री हुन्थे । सुत्केरी आमा, नवजात शिशु, बृद्धबृद्धाको हेरचाह र बयस्कहरुलाई विभिन्न रोगबाट जोगिनका लागि सिकाउँदै हिँड्ने थापा यस पटक मताधिकार कसरी प्रयोग गर्ने भनेर घरदैलोमा पुगेकी छन् । थापा जस्तै जिल्लाभरीका महिला स्वास्थ्य स्वयंसेविकाहरुको दैनिकी शुक्रबारदेखि मतपत्र, स्वस्तिक छाप, निर्वाचनका आयोगका प्रचार सामग्रीसँग चलिरहेको छ ।
स्वयंसेविकाहरु घर घरमा पुग्छन्, भेटेकालाई बदर नहुनेगरी मत राख्न सिकाउँछन् । मताधिकारको विषयमा सचेत गराउँछन् र आफ्नो बाटो लाग्छन् । ‘पहिलो पटक मतदाता शिक्षामा सहभागी भए,ँ मलाई त रमाइलो लाग्यो, सबैलाई भेट्नपनी पाइने, उनीहरुले भनेको सुन्न पनि पाइने’ थापाले भनिन् ‘मेरो त सिक्ने, सिकाउने र गाउँठाउँ बुझ्ने सबै काम भैरहेको छ ।’
मतदातालाई मतदाना प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको हो । निर्वाचन आयोगको निर्देशिका अनुसार जिल्लाका दश वटै स्थानीय तहले आफ्नो पालिकाका सबै वडामा कार्यरत स्वास्थ्य स्वंयमसेवीका छनौट गरी मतदात शिक्षाको लागि जनशक्ति तयार गरेका थिए ।
जिल्लाका ८५ वटै वडाका टोलटोलमा शुक्रबारदेखि एक साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिए । मतदाता शिक्षाको लागि छनोट भएका स्वयम सेविकाहरुलाई आवश्यकता मतदाता शिक्षा सहजीकरण तालिम प्रदान गरेको र सिकाइ सामग्री सम्बन्धीत वडासम्म पुगेको उनको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका सम्पर्क व्यक्ति र सम्पर्क व्यक्तिहरुले स्वयम्सेवीकाहरुलाई मतदाता शिक्षा तालिम सहजिकरण गरेका थिए । मतदातालाई मतदान प्रक्रियामा सहभागिता बढाउने तथा मत बदर हुन नदिने उद्देश्यले हरेक निर्वाचन हुन अघि आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ ।
जनप्रतिनिधि छनोटको विषय देश र नागरिकको भविष्यसँग जोडिएको हुँदा प्रत्येक मत सदर बनाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।
मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशिका अनुसार जिल्लास्तरीय, पालिकास्तरीय र वडा स्तरीय समिति गठन गरिएको छ । निर्वाचन कार्यालय प्रमख रिजालका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति छ । जसको सदस्यमा जिल्ला समन्वय समितिको सदस्य, सदरमुकाम स्थित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासंघको प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।
कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च तथा आवश्यक साधन स्रोत र जनशक्तिको व्यवस्थापनसम्बन्धित स्थानीय तहले गर्नु पर्ने व्यवस्था रहेको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिका अनुसार स्थानीय तहका वडाहरुमा १५ दिनसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमको समन्वय गर्न मतदाता शिक्षा समन्वय समिति (स्थानीय तह स्तर) र मा मतदाता शिक्षा सञ्चालन समिति (वडा स्तर) को व्यवस्था रहेको छ । स्वयसेवीकाहरुलाई आवश्यक तालिम र सामग्री उपलब्ध गराई कार्य क्षेत्रमा पठाएको निसीखोला गाउँपालिका निर्वाचन सम्पर्क व्यक्ति पुरुषोत्तम गौतमले जानकारी दिए ।
स्थानीय तहमा सम्बन्धीयत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संयोजकमा चार सदस्यीय र वडा तहमा वडा सचिवको संयोजकत्वमा तीन सदस्य समन्वय समिति गठन गरिएको छ । समितिले निर्वाचन शिक्षाको लागि आवश्यक समन्वय तथा अनुगमनको काम गर्नेछ । स्वयसेवकहरुले मतदान गर्ने, मतपत्र मतपेटीकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिनेछन् ।
यस्तै, बागलुङका दश वटै स्थानीय तहले निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन् । काठेखोला गाउँपालिकाले मनोज कार्की, बागलुङ नगरपालिकाले ससबहादुर पुन, निसीखोला गाउँपालिकाले पुरुषोत्तम गौतम, तमानखोला गाउँपालिकाले मुना विश्वकर्मा, ढोरपाटन नगरपालिकाले चण्डरीराज पौडेललाई सम्पर्क व्यक्तिको रुपमा खटाएको छ ।
बडिगाड गाउँपालिकाले पूर्णबहादुर घर्ती, ताराखोला गाउँपालिकाले जितबहादुर सुनार, गलकोट नगरपालिकाले रुद्र नारायण सापकोटा, बरेङ गाउँपालिकाले सूर्यप्रसाद शर्मा र जैमिनी नगरपालिकाले पृथीबहादुर थापालाई निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन् ।





