बागलुङ, २१ कात्तिक– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्ने बताएका छन् । सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाई थियो । धेरै दल मिलेर बनेको सरकार भन्दा एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनको धारणा थियो । स्थिर सरकारले मात्रै विकास र समृद्धी गर्न सक्ने ओलीले बताए ।
नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले आगामी मंसिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने बताए । ‘यो निर्वाचन देशको भविश्यसँग जोडिएको छ, राष्ट्र जोगाउनेलाई जिताउने हो या गठबन्धन गरेर भागबण्डामा रमाउनेलाई जीताउने त्यो जनताको हातमा छ’ ओलीले भने ‘एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँ जनताका समस्या एमालेले बुझ्ने छ ।’
बागलुङ क्षेत्र नं. २ प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनका उमेद्वार देवेन्द्र पौडेललाई लक्षित गर्दै अध्यक्ष ओलीले घुम्न आएका उमेद्वारले जनताका दुःख नदेख्ने टिप्पणी गरे । उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले मंसिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए । ‘हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ’ ओलीले भने ‘अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।’ उनले अहिलेको सरकार नीतिगत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । बजेट र कार्यक्रमनै नभएको ठाउँमा कार्यकर्ता पाल्ने गरी पैसा खर्च भैरहेको उनको आरोप थियो । कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेद्वारहरुले सम्बोधन गरेका थिए ।





