शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

दलित समुदाय भन्छन् : भोट हाल्दाहाल्दा वाक्लै लाग्यो

दलित समुदाय भन्छन् : भोट हाल्दाहाल्दा वाक्लै लाग्यो

एक बोरा चामल र एक किलो दालमा बिक्ने आरोपबाट मुक्त हुने प्रतिवद्धता ।


  • विजय नेपाली
  • कार्तिक २४ २०७९, बिहिबार

पोखरा/ पोखरा महानगरपालिका २० भलाम गैरश्वाराकी शुभकुमारी परियारको १९ वर्षमा विहे भयो । विहेपछिका हरेक चुनावमा उनले मतदान गरेकी छन् । उमेरले अहिले ५० नाघिन् । ३० वर्षसम्म मत हाल्दासमेत उनले आफू बसेको ठाउँमा केही परिवर्तन पाइनन् । पहिला जस्तो, अहिले पनि उस्तै छ– भलामको गैरस्वाँरा ।

अहिले उनको घरआसपासमा मत माग्न विभिन्न राजनीतिक दलका उम्मेदवारहरु पुग्ने गरेका छन् । उम्मेदवारहरु भलामको अन्य स्थानमा घरघरमै मत माग्न पुग्ने गरे पनि दलित बस्ती भएको सो क्षेत्रमा भने एकै ठाउँमा भेला गराएर मत माग्ने काम गर्छन् । घरमा पुरुष कोही हुँदैनन् । महिला, त्यो पनि उमेरले ५० काटेकामात्रै हुन्छन् । उनीहरु नै उक्त चुनावी भेला हुँदा पुग्ने गर्छन् ।
उम्मेदवार पनि बाटो पुगेको ठाउँसम्म जान्छन् आफ्ना लागि मत माग्छन्, अनि फर्किन्छन् । तर, अहिले शुभकुमारीको मन मरिसकेको छ । उनी आजित भइसकेकी छन् ।

उनीहरु एकआपसमा गफिदै थिए र भन्दै थिए ‘ह्या कति दिनु ? हाम्रा लागि कसैले केही गरिदिने होइन् ।’ उम्मेदवारको नजरमा दलित भनेको एक बोरा चामल र एक किलो दालमा बिक्ने भन्ने भान देशभर नै परिसकेको छ । तर, भलामका दलित भने अब त्यो चाहँदैनन् । उनीहरु आफ्नो गाउँठाउँको विकास हेर्न चाहन्छन् । उनीहरु अब कसैको कुरा सुन्न चाहदैनन् । उनीहरुलाई व्यवस्थासँग कुनै मतलब छैन्, मतलब छ त केबल आफ्नो घर–आँगनमा गाडी गुड्ने बाटो र खानेपानी । अहिलेसम्म टाठाबाठाले घुमाउँदै आए । अब भने आफै प्रश्न गर्ने आँट राख्छन् उनीहरु । त्यहाँ भेला गरेर आफ्नो चुनावी कोणसभा गर्नेहरुलाई उनीहरु प्रश्न गर्छन् ‘हाम्रा लागि के ग¥यौ?’ शुभकुमारी भन्छिन्, ‘यहाँ हाम्रो समुदायको मत बढी छ । तर, हामीमाथि अर्कैको हुकुम चल्छ । हाम्रो मत ५० बाट माथि जान सक्छ, तल जादैन । दुई चार मत भएका उपल्लो जातको घरआँगनमै बाटो पुग्यो हाम्रोमा कहिले ?’ श्रीमान कामको सिलसिलामा बाहिर छन् । उनीसहित उनको छोरीको मतदाता नामावलीमा नाम छ ।

आफूहरु दलित भएकै कारणले हेपाहामा परेको उनीहरुको बुझाइ छ । उनीहरुको घरभन्दामाथिबाट सडक गएको छ । करिब पाँच मिनेटको उकालो हिँडेपछि बल्ल पुगिन्छ सडक । एक छोरा, एक छोरी र जेठी छोरीको सन्तान पाल्दै आएकी उनले कोरोना महामारीकै समयमासमेत वडाले अन्य क्षेत्रमा ठूलो राहत दिएपनि दलित बस्तिमा भने दुई परिवारलाई एक बोरा चामल दिएको सुनाइन् । आफुले अहिलेसम्म दिएको मत खेर उनको उनको भनाइ छ । यस्तै ३५ वर्षीया सुनिता परियारले ४ पटक मत हालिन् । चार पटक मत हाल्दा आएका उम्मेदवार र अहिले आएका उम्मेदवारको एजेन्डामा केही फरक नपाएको उनी सुनाउँछिन् । उनले खेर गएको बताइन् ।

विष्णु परियार आफ्नो मत खेर गएकोमा दुःख व्यक्त गर्छिन् । उनका अनुसार गाउँमा अन्य जातकाले जे भने पनि पाउने तर दलितले भनेको केही पनि नपाउने अवस्था छ । आफैले मत दिएर जिताएका जनप्रतिनिधिले २ वर्षअघि आफ्नो घरको छेउमा पहिरो जाँदा, गरिखाने खेत नै सखाप बनाउँदा समेत केही राहत नदिएको सुनाइन् । उनले अब भने गाउँका टाठाँबाठाले भनेको नमान्ने र आफ्नो विचार प्रयोग गरेर मत हाल्ने सुनाइन् । आफूहरुले अहिलेसम्म एकै कुरा मागेको सुनाउँछिन् । ‘हाम्रा माग भनेकै सडक, पानी र क्रियापुत्री भवन हो । त्यो माग मत हाल्न थालेदेखिको हो । तर, खै अहिलेसम्म पूरा भएको छैन् । मत हाल्न पनि वाक्क लागिसक्यो’, उनले भनिन् । विष्णुले अहिलेसम्म आफूहरुले जितेर पठाएका उम्मेदवारले केहीपनि नगरेको बताइन् । उनले अहिलेपनि मत माग्न आएको र उही ‘गर्छु’ भन्ने आश्वासन बाडेर गएको सुनाइन् ।

‘हाम्रा लागि अहिलेसम्म जानेले केही पनि गरेको छैन । जितेर गएपनि उहाँहरुले यहाँ केही पनि गर्नुभएको छैन् । जे गरेका छन् हुने खानेहरुका लागिमात्रै गरेका छन्’, उनले भनिन्, ‘हाम्रो त बस्ने झुपडीबाहेक केही पनि छैन् । हिजोमात्रै बुबा विरामी हुँदा हामीले बोकेर लान परेको हो । यहाँसम्म बाटो ल्याइदिएको भए के जान्थ्यो र ?’

कोही विरामी भयो भने पनि बोकेर लानपर्ने समस्या छ । छोरामान्छे कमाउन जान्छन् । एक जना विरामी भयो भने तीन– चार स्थानमा विराएर लानुपर्ने बाध्यता छ । गाडीको समस्या छ ।’ उनले बैशाखमा बनाउन सुरु गरिएको क्रियापुत्री भवनसमेत अलपत्रमा परेको बताइन् । ‘क्रिया बस्दा हामीले खाना खाने ठाउँपनि छैन् । त्यसका लागि पहल ग¥यौ केही रकम पनि आयो तर अहिले त्यो पनि अलपत्र छ ।’
गैरश्वारामा २८/२९ दलित घर रहेका छन् । हरेक घरमा ३ देखि पाँच मतसम्म रहेको छ ।

वैशाखमा बनाउन सुरु भएको क्रियापुत्री भवन अलपत्र

सुनिता परियारले क्रियापुत्री भवन अलपत्र परेको सुनाइन् । बैशाखमा दलित बस्तिका लागि क्रियापुत्री भवन बनाउनका लागि २ लाख रुपैयाँ बजेट विनियोजन भयो । तर रकम आयो ७५ हजार रुपैयाँ । ‘२ लाख बजेट हो तर ७५ हजार रुपैयाँमात्र आयो । त्यति पैसाले के हुन्छ ? हामीले ल्याएको सामानको पैसापनि दिन पाएका छैनौँ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->