शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

व्यवस्था होइन्,अवस्था बदलिएको हेर्न चाहन्छन् अर्मलावासी

व्यवस्था होइन्,अवस्था बदलिएको हेर्न चाहन्छन् अर्मलावासी

अर्मलावासीलाई अहिले पनि सडक नै चाहिएको छ । उनीहरुले सडक नै मागेका छन् ।


  • विजय नेपाली
  • कार्तिक २५ २०७९, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिकाको उत्तरतर्फ पर्छ– अर्मलाकोट । निकै उचाईभएको डाँडो जहाँ ठूलो मात्रामा मतदाता छन् । यतिबेला गाउँमा भ्याइनभ्याइ छ । एकातिर धान काट्ने चटारो चलिरहेको छ भने अर्कातिर नेताहरुलाई भोट माग्ने हतारो ।

बिहीबार एकाविहानै अर्मलाकोटमा गठबन्धनका उम्मेदवारहरु कार्यक्रम गर्न आए । शुक्रबार पनि अर्को पार्टी कार्यक्रमका लागि आउँदैछन् । हरेक पाँच–पाँच वर्षमा चल्ने यो प्रक्रिया नेपालमा निर्वाचन हुन थालेपछि सुरु भएको छ । हालसम्म त्यहाँ जति नेता पुग्छन् उनीहरुको पहिलो प्रतिबद्धता हुन्छ ‘सडक’ सोझा साझा जनता त्यति भनेपछि मख्ख अनि जान्छन्,फटाफट मत हालिदिन्छन् । तर, यो पटक उनीहरु फेरिएका छन् ।

उनीहरुले प्रश्न गरेका छन्,‘ ‘हाम्रो सडक कहिले बन्छ ? नेता तथा उम्मेदवारको जवाफ आउँछ–‘मैले जितेर गएपछि । ’ तर, नेताहरुको आश्वासन अर्मलाकोटको सडकझैं धुला र पुराना भइसके । देशमा संघीयता आएर पनि दोस्रो निर्वाचन हुँदैछ,संघ र प्रदेशको । तर अर्मलाकोटेहरु भने संघीयताको अझैं मल्हम लगाउन पाएका छैनन् ।

२०५६ सालमा अर्मलाकोटसम्म ट्रयाक खन्ने काम भयो । सडक खनेको २३ वर्षसम्म पनि अर्मलाबासीले ग्राभेल सडक देख्न पाएका छैनन् । २०५६ देखि अहिलेसम्म कयौं निर्वाचन भए । गाविसबाट महानगर भए तर सडकको स्तर भने अझै उस्तै छ । बर्खाको समयमा हिलाम्मे हुन्छ, पहिरोले सडक अवरुद्ध हुन्छ भने हिउँदको समयमा धुलाम्मे हुन्छ । अर्मलावासीले झट्ट हेर्दा सडक जस्तो देखे पनि सडकको अनुभूति गर्न भने पाइरहेका छैनन् ।

स्थानीय सिंहबहादुर परियार भन्छन्,‘ग्रामिण भेगमा सबैभन्दा पहिला खनेको बाटो नै यहि होला । यो हिजो जस्तो खन्यो उस्तै छ ।’ उनको परिवारमा मत बढेर १३ पुगिसकेको छ । ‘वडा १६ कै तल्लो भेग विकास भइसक्यो तर अर्मलामा भने अझै पिछडिएको छ । हाम्ले कति मत दिइयो–दिइयो । मैले हरेकलाई भोट दिएँ’, उनले भने, ‘हरेक पार्टी आए । यो गर्छु उ गर्छु भन्छ तर अहिलेसम्म कसैले केही गरेन । यो गाउँ पोखराबाट यति नजिक हुँदा पनि आखाँमा पर्न सकेन निकै दुर्गम भयो । यहाँ आउन कति नै समय लाग्छ र ?’ केआइसिंह पुलदेखी १२ किलोमिटरको दूरीमा अर्मलाकोट पर्छ । परियारले आफूहरुलाई व्यवस्थासँग भन्दा पनि अवस्थासँग मतलव भएकाले विकास चाहेको बताए । ‘व्यवस्था बदलिएर के गर्ने ? अवस्था नबदलिएपछि । हामीलाई त अहिले पनि सडक नै चाहिएको छ । कसरी हुन्छ सडक दिनुप¥यो’, उनले भने । सडककै कारण अर्मलामा पर्यटकको आगमनसमेत भएको उनको भनाइ छ । उनका अनुसार सडक कच्ची भएकाले पर्यटकहरु आउन आनाकानी गर्ने गरेका छन् । सडक जोडिएमा स्थानीय कृषिजन्य उत्पादनलाई बजारसँग सहजै जोड्न सक्ने र स्वास्थ्यको क्षेत्रमा समेत ठूलो राहत मिल्ने बताउँछन् ।

अर्मलामा होमस्टे संचालन गर्दै आइरहेकी २५ वर्षीया बबिता गुरुङले सडककै कारण पर्यटको आकर्षणको केन्द्रविन्दु बन्न नसकेको बताइन् । उनले आफूहरु हरेक कुरामा सक्षम भएपनि सडक संजालले पछि पर्दा निकै समस्या खेप्न परेको बताइन् । ‘हामीलाई मुख्य समस्या भनेको सडक हो । नेताहरु जितेर गएपछि आउने त्यस्तै हो । विशेष कार्यक्रमहरु हुँदामात्रै आउने गर्छन् । अघिपछि बिर्सेर जान्छन् । हामी महानगरवासी भनेर कसरी भन्नु । सानोमा जस्तो अहिले पनि गाउँ त्यस्तै छ’, उनले भनिन् । त्यतिमात्र होइन् महानगरकै क्षेत्र भएपनि अर्मलाकोटमा महानगरको फोहोर मैला व्यवmस्थापन गर्ने सवारी पुग्दैन् । गाउँमा फोहोर मैला व्यवस्थापन समेत निकै चुनौतिको बाटो हो । ‘फोहोर मैला व्यवस्थापनमा समेत समस्या छ । हामीले यहाँ डस्विनहरु त राखेका छौँ तर त्यसको व्यवस्थापनका लागि केही पनि भएको छैन् । महानगरमै भएर पनि हामी निकै दुर्गममा छौँ’, उनले भनिन्,‘कुहिने फोहोरलाई त मलको रुपमा प्रयोग गर्छाँै तर नकुहिने फोहोर कहाँ लाने ? न त वडाले यो विषयमा सोचेका छन् न त महानगरले नै । हामीलाई महानगरवासी भन्न पनि लाज लाग्छ । कर्णालीवासी जस्तै भएर बस्न परेको छ ।’

६८ वर्षीय यमन गुरुङले आफ्नो बाल्यकालदेखि जवानी नै अर्मलामा फाले उनले कयौं मत सडकै लागि दिए तर नेताहरुले स्तरको सडक कहिल्यै दिएनन् । आफूहरुले दिएको मतको गलत प्रयोग हुँदै आएको उनको गुनासो छ । ‘हामी सबैको एकै समस्या हो । पहिला त हामीलाई स्तरीय सडक चाहिएको छ । जवानीमा नदेखे पनि मर्नेबेलमा गाउँमा कालोपत्रे सडक हेर्न मन छ’, उनले भने

यो अर्मलाको मात्रै होइन् पोखरा महानगरपालिकाको वडा ३३, २०, २१, २२, २३ र २४ को पनि हो । भलामवासीको पनि पीडा उस्तै रहेको छ । पोखरा २१, रामदीका इन्द्रबहादुर खत्रीले फुस्रेखोला मट्टीखानको बाटो वर्षौदेखि अलपत्रमा परेको सुनाउँछन् । २०७३ सालमा संघ सरकारले सडक खुलाए पनि अहिलेसम्म पिच हुन सकेको छैन् । सिरुवा कन्सट्रक्सन प्रालिलाई पिच गर्ने गरी जिम्मा दिएपनि अलपत्र छाडेको हो । ‘हामीले सधैँ भोट दियौँ । अब त सडकका लागि भोट परिवर्तन गर्नपर्ने देखियो । हामीले दिएको एक भोटले हाम्रो गाउँ वर्षौ पछि धकेलियो’, उनले भने ।

पोखरा महानगरपालिका २० भलाम गैरश्वाराकी शुभकुमारी परियारले पनि आफुहरुका लागि अन्य विकासका कुराभन्दा पनि पहिला सडक चाहिएको बताउँछिन् । ‘धेरैपटक मत हालियो तर खै यहाँ जस्ताकोतस्तै छ । विरामी हुँदा बोकेर लैजान पर्ने स्थिति अझै छ, जो आएपनि त्यस्तै रहेछ । भोट पनि दिन मन लागेको छैन् ।’

मतदातासँग निर्वाचनको समयमा आएर सपनाको पोका बाडेर जाने त्यसपछि फर्कर पनि नआउने कारण अहिले पनि पोखरा महानगरका वडाहरु विकसित हुन सकिरहेका छैनन् । हरेक पार्टीले हरेक निर्वाचनमा उनीह सडकलाई नै एजेन्डा बनाउँदै आइरहेका छन् । आगामी मंसिर ४ गते संघ र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । देशभर मुख्य गरी गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदै छ ।

‘

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->