पोखरा/ पोखरा महानगरपालिका २३ हुदैँ पञ्चासे र कास्कीको अन्नपूर्ण गाउँपालिका जोडने सडक निर्माणमा ढिलाइ भएपछि पोखरा महानगरपालिको अनुगमन समितिले शुक्रबार अनुगमन गरेको छ । पोखरा २४ पामेदेखि पोखरा २३ को कात्रे, बाम्दी, घाटीछिना हुदै पञ्चासे पुग्ने सडकको निर्माण कार्य ढिलाई भएको भन्ने गुनासो आएपछि पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा पोखरा वडा नम्वर ४ का अध्यक्ष एवं अनुगमन समितिका सदस्य देवकृष्ण पराजुली, कार्यपालिका सदस्य मन्दिरा गौतम, महानगर पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ, योजना शाखा प्रमुख कृष्णप्रसाद तिवारी सहितको प्राविधिक टोलीले बाटो निर्माणको कार्य प्रगति र गुणस्तर बारे अनुगमन गरेको हो । कात्रे, बाम्दी घाटीछिना सडकको निर्माण कार्यलाई गुणस्तरीय र छिनो सम्पन्न गर्न निर्माण कम्पनीलाई उपप्रमुख गुरुङले निर्देशन दिनुभयो । निर्माण कार्य हेर्दा सन्तुष्ट देखिएको भएपनि गुणस्तरीयता कायम गर्दै छिटो गर्न उनले आग्रह गरिन् । महानगरका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले काम भइरहेको र निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरको करिव ५ करोडको लागनमा निर्माृणाधीन सडकको ठेक्का सम्झौता २०७८ फागुन २० गते भएको थियो भने सम्पन्न गर्नुपर्ने २०७९ चैत १० गते रहेको छ । पोखरा महानगरभित्रका ३३ वडा मध्य पीच सडक नभएको वडाका रुपमा रहदै आएको थियो अहिले भने केही भाग पीच सडक बनेपछि यहाँका बासिन्दा खुशी भएको स्थानीय रामबहादुर जिसीले बताए ।





