बागलुङ/निर्वाचनका बेला सडक, खानेपानी, सिंचाइ र ठूला पूर्वाधार योजना बनाउने आश्वासन धेरै पटक जनताले पाउने गर्छन् । कतिपय आश्वासनहरु निर्माण पनि भएका छन् । तर अहिलेसम्म सामाजिक क्षेत्रको विकास र गतिशीलताका लागि न राजनीतिक दलले आफ्ना एजेण्डा बनाएका छन् न त काम गरेर देखाएका छन् ।
यो पटकको निर्वाचनमा मतदाताले यस्ता विषयमा पनि चासो राखेका छन् । शिक्षा, स्वास्थ्य र समुदायको चेतना बारे यो पटक बढीनै बिषय उठ्न थालेको सरोकारवालाले बताए । बागलुङका उमेदवारलाईपनि मतदाताले यस्तै प्रश्न सोध्ने र कामबारे प्रतिवद्धता खोजेका छन् । ‘गाउँमा डुल्दा सडक धेरै बनेको देखियो, गाडी चढेरै सबैतिर पुगियो, स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन भएका रहेनछन्’, एमाले क्षेत्र नं. २ की उम्मेदवार मञ्जु शर्मा चालिसेले भनिन्, ‘ग्रामीण क्षेत्रमा धेरै काम गर्दा महिलाको स्वास्थ्यमा आएको समस्याबारे सुनिदिने कोही रहेनछन् ।’ उनले आफू स्वास्थ्यकर्मी भएकोले यो विषयमा बुझ्ने मौका पाएको बताइन् ।
दलित बस्ती भएमा केही खान दिने र मत माग्ने चलन पनि पुरानो हो । यो पटक भने खान दिएर होइन, उनीहरुको शिक्षा र चेतना विकासमा केही काम गर्नुपर्ने अवस्था देखिएको शिक्षा मन्त्री तथा गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले बताए । ग्रामीण क्षेत्रका जनतामा अझै चेतना विकास नभएको, किन मतदान गर्ने भन्ने बुझाउन नसकिएको अनुभवबाट सामाजिक विकासको क्षेत्रमा बजेट बिनियोजन गर्नुपर्ने र सामाजिक क्षेत्रकै लागि सबैको चासो र चिन्तन बन्नुपर्ने उनको धारणा छ । ‘धेरै विद्यालयको भवन निर्माणमा लगानी गरेका थियौं, अब शिक्षक दक्ष राख्ने, सबै साक्षर बन्ने विषयमा लगानी आवश्यक देखियो’ पौडेलले भने, ‘शिक्षा बिना गरिने विकासले समाज अगाडि बढ्न सक्दैन ।’ शिक्षा पनि व्यवहारिक चाहिएको उनले बताए ।
शिक्षाका लागि राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराम सुवेदीले शिक्षालाई व्यवहारिक बनाउन नसक्दा युवाहरु विदेशिएको बताए । उनले यही काम गरेर कमाउन सक्ने नागरिक बनाउन नीति परिवर्तन गर्नु परेको बताए । ‘युवाका लागि पहिलो पटक मतदान गर्ने उमेर समूहलाई ‘युवा मतदातासँग, साक्षातकार’ कार्यक्रम राखेर सुझाव संकलन गरिएको छ, सोही अनुसार नीति बनाउने र काम गर्ने लक्ष्य छ’, सुवेदीले भने, ‘युवाको चाहना अनुसार काम नगरे समाजबाट बहिस्कृत बन्ने खतरा छ ।’ क्षेत्र नंं १ को १ का उम्मेदवार हिराबहादुर केसीले पनि युवालाई जोश जाँगर भर्ने तथा उनीहरुको चाहना अनुसारका काम नगरे चुनाव जित्न नसकिने बताए । हरेक स्थानमा पुगेर मत माग्दा यो सन्देश मिलेको उनको भनाइ छ । खाडीमा जाने युवालाई रोक्न सकेमा मात्र देशको भौतिक विकास समेत हुने उनको तर्क छ ।
शैक्षिक योग्यताले भन्दा सीपमूलक तालिमले युवा बढी खुसी हुने भन्दै कांग्रेस सभापति जितबहादुर शेरचनले अब डाइनामिक युवा चाहिएको बताए । ‘हामीले नेपालको शिक्षाको एक क्षेत्रको डिग्री हासिल गरियो, तर युवा रोजगारका लागि सीप पनि उत्तिकै आवश्यक छ’ शेरचनले भने, ‘अब जातजाति क्षेत्र भूगोल भन्दा ग्लोबलाइजेसनको शिक्षा र चेतना चाहिएको छ ।’ उनले क्षेत्र, जाति र भूगोलले यो र त्यो भन्ने दिन सकिएको बताए ।
नेताहरुले समग्रतामा चेतनास्तर बढाउने कुरा बुझेपनि काम गर्ने नगर्ने भन्ने परीक्षा सुरु भएको गलकोट माबिका प्रअ देबेन्द्र खत्रीले बताए । शिक्षा, चेतना र रोजगारी सँगै आम नागरिकमा राष्ट्रियता पनि चाहिन्छ’, उनले भने, ‘अब विदेश नजाऊ, यहीँ केही गर भन्ने सन्देश चाहिएको छ ।’ त्यसका लागि यहाँ वातावरण पनि चाहिएको उनले बताए ।





