पोखरा/ पोखरामा नक्कली सुन धितोमा राखी ऋण निकाल्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली सुन धिरो राखी ऋण निकाल्न पल्केका कुश्मा नगरपाकिला ३ घर भई हाल पोखरा महानगरपालिका १८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२०७८ फागुन १३ गते पहिलो पटक ऋण निकालेका उनले पटकपटक नक्कली सुन राख्दै कर्मचारीलाई छलगरी बैंकबाट ऋण निकालेका थिए । उनले त्यतिबेला बेरुवा औठी र बेरुवा बाला गरी २२ ग्राम सुन धितो राखी ३ लाख ४५ हजार रुपैयाँ निकालेका थिए । त्यसपछि उनले २०७९ जेठ २७ गते बेरुवा बाला १ र बेरुवा आंैठी २ थान गरी ४४ ग्राम धितो राखी २ लाख रुपैयाँ निकालेका थिए । यसरी नै पटकपटक रकम निकाल्दै गए । पछि ऋण तिर्न नआएपछि बैंकका कर्मचारीले शंका गर्दै सुन चेकजाँच गराउँदा नक्कली रहेको थाहा पाएका हुन् । सुनारले २०७८ र २०७९ सालमा गरी कुल २४ लाख पाँच हजार निकालेर समयमा कर्जा ब्याज तथा साँवा नबुझाएपछि नक्कली रहेको तथ्य बाहिर आएको हो ।
सुनारले पोखरा महानगरपालिका १७ विरौटा र पोखरा ८ पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट ऋण लिएका थिए । उनले विरौटामा रहेको शाखाबाट विभिन्न समयमा गरी १६ लाख ६० हजार तथा पृथ्वीचोक शखाबाट ७ लाख ४५ हजार रुपैयाँ निकालेका थिए । उनले थोरै थोरै गर्दै १–२ लाख रुपैयाँ गरी कुल २४ लाख पाँच हजार निकालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धानको क्रममा धितोमा राखेका गरगहनाहरु नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचका लागि पठाएको थियो । संघले उक्त गरगहना परीक्षण गर्दै नक्कली रहेको प्रतिवेदन प्रहरीलाई दिएको हो । जाँच पश्चात उक्त गरगहनामा कमसल सुन प्रयोग गरिएको थियो । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाम सम्बन्धि कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
वाणिज्य बैंकका कर्मचारीले आफैले जोखिम लिएर सुन धितोमा राखी ऋण दिएको तिवारीले बताए । ‘सुनको सन्दर्भमा बैंकहरुले ३ तरिकाको कारोबार गर्दो रहेछ । कतिपय बैंकले सुन राख्दै राख्दैन रहेछ । केही बैंकले एक दिनका लागि जाँच्ने व्यक्ति ल्याएर जाचेर राख्दो रहेछ । तेस्रो भनेको क्यासियरले आफ्नै रिक्समा राख्ने रहेछन्’, उनले भने, ‘यहाँ क्यासियरले आफ्नै रिक्समा राखेको देखियो । यस्तो अवस्थामा यदि त्यो गलत प¥यो भने आफ्नै तलब काटिने रहेछ ।’





