बागलुङ/एमालेका नेताले आसन्न निर्वाचनमा मतदानस्थल कब्जा हुने चिन्ता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र नं. १ का उमेदवारले आयोजना गरेको पत्रकार सम्मेलनमा मतदाताहरुलाई भेटेर सदरमुकाम फर्केपछि उत्साह थपिएको बताए । उनीहरले मतदान स्थलनै कव्जा हुन सक्ने भएकोले सबैले चासोका साथ हेर्नुपर्ने बताएका हुन् ।मतदाता चिन्तित रहेको बताए ।
‘हामीलाई भेट्दा मतदाता उत्साहित हुनुहुन्छ, तर मत दिन पाईंदैनकी भन्ने चिन्ता व्यक्त गर्नुभयो’ प्रतिनिधिसभाका उमेद्वार डा.सूर्य पाठकले भने ‘केही बुथहरु संवेदनशिल रहेको पाएको छौं, त्यहाँ स्वतन्त्र हिसावले मत दिनपाउने वातावरण राज्यले बनाउनुपर्छ ।’ मत माग्न मतदाताको घरदैलोमा निस्केका नेकपा (एमाले) का उम्मेदवारहरु घरभेट सके पछि उत्साहित भएका छन् ।
मत माग्दै मतदातासँग पुगेका उम्मेदवारलाई मतदाताले दिएको सकरात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा सुझाव सल्लाह र संगठन विस्तारले उम्मेदवारहरुलाई प्रोत्साहन मिलेको दावी गरे । बागलुङ क्षेत्र नम्बर न. १ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्य पाठक, गण्डकी पदेशसभा क्षेत्र नं. १ (क) का उम्मेदवार हिराबहादुर केसी र क्षेत्र नं. १ (ख) का उम्मेदवार नवराज पौडेलले आ–आफ्नो निर्वाचन क्षेत्रका सबै मतदातालाई एकसरो भेट गरी मत माग्ने तथा सुझाव संकलन गर्ने कार्य सम्पन्न गरेको जानकारी समेत दिए ।
मतदाताले आफुहरुसँग विकासका आधारभुत पूर्वाधार निर्माण, खेतीबालीमा बाँदर नियन्त्रणदेखि राष्ट्रियता, वैदेशिक रोजगार र मतदान, सामाजिक सुरक्षा जस्ता गम्भिर मुद्दामा सचेत र सजग गराएको पाठकले बताए । ‘मतदाताहरु विकास, समृद्धि, राष्ट्र, राष्ट्रियताको बारेमा चिन्तित हुनुहुन्छ’ उनले भने–‘राजनीतिमा युवा पुस्ताको नेतृत्व स्थापिन गर्न मतदाता आतुर हुनुहुन्छ ।’
मतदाताको अभुतपूर्ण साथ र समर्थन, जिल्लाव्यापी संगठनात्मक संरचना, राजनीतिमा युवा पुस्ताको माग लगायतका विषयले निर्वाचन आफ्नो पार्टीको पक्षमा हुने एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य उम्मेदवार हिराबहादुर केसीले बताए । ‘राजनीतिक रुपान्तरण गरेको पुस्ताले आर्थिक सामाजिक रुपान्तरण गर्न सक्दैन भन्ने जनताको भावना छ’ उनले भने–‘आर्थिक र सामाजिक रुपान्तरणको लागि मतदाताले युवा पुस्ता खोजेका छन, बागलुङबाट सुरुवात हुन्छ ।’ केही भुगोलका मतदाताले आफुहरुले मत राख्न नपाएको, अन्य पार्टीका नेता कार्यकर्ताले आफ्नो नाममा भोट राख्ने गरेको, मतदान केन्द्रमा बसेर मतपत्र खोसी जबरजस्ती भोट हाल्ने गरेको गुनासो गरेको उनको भनाइ थियो ।
आगमी निर्वाचनमा ‘एक व्यक्ति एक भोट’ नभए राजनीतिक हिंसा र द्वन्द्व बढ्ने एमाले अध्यक्ष केसीले चेतावनी दिए । ‘मतदाताले ढुक्कसँग आफ्नो भोट राख्ने वातावरण तयार गर्नु राज्यको दायित्व हो’ उनले भने,‘सबै बुथमा लोकतन्त्र आउनुपर्छ ।’ गठबन्धनले राज्य शक्तिको दुरुपयोग गरे जिल्लाको राजनीति हिंसा र द्वन्द्वमा फस्ने उनको भनाई छ । विशेष गरी बागलुङ क्षेत्र न. १ को बागलुङ नगरपालिका– ११ रायडाँडा, जैमिनी नगरपालिका–१० राङखानी, बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट र काठेखोला गाउँपालिका–४ तग्राममा मतदाताले स्वतन्त्रपूर्वक मत राख्न नपाउने, मृतक तथा वैदेशिक रोजगारमा रहेका मतदाताको भोट राख्ने जस्ता अलोकतान्त्रिक गतिविधि हुने उनले आरोप लगाए ।
ती क्षेत्रमा गठबन्धनको धेरै मत आउने गरेको थियो । ‘विगतका निर्वाचनमा खसेको मत आधार मान्दा निर्वाचन निष्पक्ष छैन भन्ने हो’ पाठकले भने ‘मतदाता थोरै भएपनि ८०देखि ९० प्रतिशतसम्म खस्नु वास्तविकतो होइन ।’ राज्यले मतदाताको सुरक्षा र लोकतन्त्रको स्वतन्त्र अभ्यासलाई संरक्षण गुर्नपर्ने उनको भनाई छ । नेकपा (एमाले)ले उल्लेख गरेका चार वटा वडा मध्य रायडाँडामा नेपाली काँग्रेस, तंग्राम, धुल्लुबाँस्कोट र राङखानीमा राष्टिय जनमोर्चाको पकड क्षेत्र हुन । क्षेत्र नं. १ मा गठबन्धनबाट राजमोका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन् ।
बागलुङ क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत डाक्टर दिवाकर भट्टले फर्जीमत नखस्ने बताए । ‘हामीले निर्वाचन अधिकृतहरुलाई फर्जी मत राक्ने उपायसहित कडा निर्देशन तथा प्रशिक्षण गरेका छौँ’ उनले भने–‘मत राख्न सरकारी प्रमाणपत्र र त्यसमा भएको नागरिकता नम्बर नमिले मत राख्न पाउने छैनन । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लाका संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । आवश्यकता र औचित्यको आधारमा सुरक्षाकर्मीहरुको संख्या घटबढ हुने जानकारी उनको भनाई छ ।





