म्याग्दी/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका दुर्गम क्षेत्रका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ प्रस्थान गरेका छन् । सवारीसाधन बाहेक पैदल १ दिनको यात्रा पछि पुगिन जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१,गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु बिहीबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन ।
मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले मतपत्र सहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो । जिल्लाका अति दुर्गम क्षेत्रमा खटिएका कर्मचारी सहित सुरक्षाकर्मीलाई कार्यक्षेत्रतर्फ पठाउने कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । ‘कुनैपनि स्रोतको अभाव छैन, अतिसंवेदनशील क्षेत्रमा जनशक्ति धेरै छ’, नेपालले भने । म्याग्दीको सदरमुकाम बेनीदेखि गूर्जा पुग्न दुईदिन लाग्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गरी आवश्यक सुरक्षाकर्मी सहितको तयारी समेत गरिएको छ ।
जिल्लाका सबै निर्वाचन केन्द्रिमा मंसिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर गुर्जातर्फ लागेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले बताए । ‘बिहीबार बेलुकीसम्म गुर्जा पुग्छाँै,त्यहाँ पुगेर तोकिएको जिम्मेवारी अनुसार काम गछौ’ उनले भने । एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत,सहायक मतदान अधिकृतसहित ८ जना कर्मचारी र १२ जना सुरक्षाकर्मी सहित २० जना खटिएका छन् ।
म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९५२ जना कर्मचारीहरु परिचालन गरिने भएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन्भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् ।





