पोखरा/ कुमार खड्का नभएको भए गण्डकीमा गठबन्धनले सरकार बनाउन ठूलै मेहनत गर्नुपथ्र्यो । एकचौथाई सांसदमा चित्त बुझाएको कांग्रेसलाई गण्डकी संसदमा चिनाउने सांसद उनै खड्का थिए । संसदमा उनको प्रस्तुति र उनले उठाएका विषय प्राथमिकताका साथ समाचारमा आउँथे । नयाँ प्रादेशिक स्वरुपमा संसदभित्र कांग्रेसलाई उनले नै धानेको जस्तो देखिन्थ्यो । संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल भएतापनि संस्थागत कुरा राख्दा कांग्रेस संसदीय दलमा कुमार खड्का नै हाबी देखिन्थे ।
संसदीय राजनीतिमा चतुर उनले प्रतिपक्षले पाउने सार्वजनिक लेखा समितिको सभापति बन्न पुगे । त्यतिबेला लेखा समितिले गण्डकी सरकारका मन्त्रीले दुरुपयोग गरेको इन्धन देखि गण्डकी काउ फार्मको महत्वाकांक्षी योजनाको छानविन गरेको थियो ।
आफूलाई अगाडि देखाउने भन्ने चातुर्यतामा उनी चुक्दैनथे । नयाँ स्वरुप भएका कारण प्राय सांसदहरु प्रक्रिया सिक्ने क्रममा नै खड्काले संघीय सांसदको अनुभवका आधारमा आफूलाई अगाडि देखाउन सक्षम भएका थिए । उनको खुबी नै थियो, यो ।
त्यो खुबीलाई उनले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्ने क्रममा पनि नेतृत्व लिँदै प्रमाणित गरे । हुन त, संसदीय दलहरुले नेता चुनेका थिए, तर गठबन्धनको बैठक उनै खड्काको उपस्थितिमा मात्र हुन्थ्यो । कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बनाउन पनि उनले ठूलो भूमिका खेले । आफू पर्दा पछाडि रहेर नै उनले केन्द्रमा नेतासँग समन्वय गर्नेदेखि गठबन्धनका नेताहरुलाई भेटाउने, बोलाउने, मिलाउने काम गरे ।
उनकै भूमिकाका कारण एकचौथाई सांसद रहेको कांग्रेसले अहिले बहुमतका साथ गठबन्धन सरकारको नेतृत्व गरेको छ । सांग्रिला रिसोर्टको बैठकदेखि टीका रिसोर्टसम्म सांसद व्यवस्थापन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग सम्पर्क गर्नेदेखि जनमोर्चाका सांसद हराउँदा बैठक स्थगित गर्न सभामुखलाई लगाउनेसम्मका काम त्यतिबेलाको नेकपा एमाले सरकार ढाल्नेक्रममा भएका थिए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि खड्काको त्यो सक्रियताकै कारण आफू मुख्यमन्त्री बनेको स्वीकार समेत गरेका थिए । त्यतिमात्रै होइन, आफूपछिको बरियताको दोश्रो मन्त्री पनि कुमार खड्कालाई नै बनाएका थिए ।
तर, समय फेरियो । त्यो निकट सम्बन्ध सकियो । त्यो नजिकको सम्बन्ध अहिले कुमार खड्को बर्खास्तीमा परिणत भएको छ भने, बर्खास्तीमा परेका खड्काले मुख्यमन्त्रीको सनसनीपूर्ण भिडियो सार्वजनिक गरिदिने धम्की दिएका छन ।
पत्रकार सम्मेलन गरेर उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई बर्खास्तीको कारणबारे जवाफ नदिए वा दिएको जवाफ चित्त नपरे उक्त भिडियो सार्वजनिक गरिदिने धम्की दिएका हुन । मुख्यमन्त्री पोखरेललाई गम्भीर आरोपमा मुछेका खड्कालाई चाहिँ पार्टी र उम्मेदवारलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै सहमतिपश्चात उनलाई हटाइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरमा छन । खड्काको बर्खास्तीपछि सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय पनि पोखरेलले सँगै राखेका छन ।
चालु आर्थिक वर्षका ठुला योजनाहरु चुनावलगत्तै प्रक्रियामा अगाडि बढ्नेछन । मुख्यमन्त्री पोखरेलले १ अर्बको पुल बनाउने भन्दा आफूले सहमति नजनाएकै कारण हटाइएको हुनसक्ने उनले आशंका गरे ।
‘१०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ’, उनले भने ।पछिल्लो समय मुख्यमन्त्री र आफुबिचसम्बन्ध चिसिएको उनले बताए ।
‘उहाँको र मेरो सम्बन्ध पछिल्ला दिनहरुमा राम्रो छैन । बजेट विनियोजनका क्रममा उहाँहरुले गलत गर्नुभएको छ’ उनले भने ।उनले यतिमात्र भनेनन, सरकारले गण्डकीका मुख्यमन्त्री, मन्त्री तथा पदाधिकारीहरुको लागि गाडीसहितको सुविधा दिनेगरि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको समेत सुनाए ।
“पूर्व पदाधिकारीका नाममा केही करोडका गाडी खरिद हुँदैछ, त्यसो भएको खण्डमा राजीनामा दिने भन्ने तयारी म लगायत एकदुई जना मन्त्रीको थियो’,उनी भन्छन, ‘सरकारले धेरै गलत काम गरेपछि मैले विरोध गरेको हुँ । त्यसको सिकार अहिले मन्त्रीबाट हट्नुप¥यो ।’
कास्की २ (ख) बाट खड्का यसपटक टिकटका आकांक्षी थिए । तर, उनको ठाउँमा विन्दुकुमार थापाले टिकट पाए । गण्डकीका कानूनमन्त्रीसमेत रहेका थापाको नाम पनि उनले लिए । आफ्नो निर्वाचन क्षेत्रबाहिर बजेट हालेको भन्दै उनले योजनाको नाम नै तोके । उनले यो भन्नुपूर्व मन्त्री विन्दुकुमार थापाले आफूलाई आरोप लगाएको बताए ।
‘कुमार खड्काका कारण बजेट हाल्न पाइन भन्नुभयो, राजनीतिको ‘र’ बुझेको मान्छेले यस्तो कुरा गर्दैनन्’, उनले भने । आफूलाई पनि थाहा नभइकिन मुख्यमन्त्रीलाई निवेदन लेखेर निजी जग्गामा सरकारी रकम विनियोजन गरेको उनले दाबी गरे । ‘मन्त्री विन्दुकुमार थापाले ९ करोड बजेट पाउनुभएको थियो, उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट हाल्नुभयो । प्लटिङ गरेको घडेरीमा १ करोड ४५ लाख र अन्नपूर्ण गाउँपालिकाको घडेरीमा २ करोड बजेट हाल्नुभएको छ’, उनले भने ।मन्त्रीबाट बर्खास्तीमा परेतापनि उनले आफूलाई कांग्रेसले पार्टीबाट नहटाएको र आफूले गठबन्धनका उम्मेदवारलाई नै भोट दिने बताए ।
मुख्यमन्त्री र मन्त्रीमाथि आरोप र चेतावनी दिँदै उनले पत्रकार सम्मेलन सके ।





