बागलुङ/ सानो मत पत्र । चुनाव चिन्ह थोरै । एउटा मत पत्रमा एक संकेत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घर घरमा स्वयंसेविका खटाएर दिईएको मतदाता शिक्षा । उमेद्वार तथा दलहरुले आ–आफ्नो चिन्हमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।
मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो यो पटक बदर मत निकै कम आउँछ । तर शिक्षा र सचेतनाको कमीभन्दा धेरै बदर मतमा मतदाताको दल तथा उमेद्वारहरुप्रतिको बितृष्ण छरपष्ट छ ।
मत गणना जारी रहेको बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभामा छ वटा चुनाव चिन्ह छन् । मत संकेत गर्न निकै सहज मतपत्र हुँदा–हुँदै मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिन्हमा छाप लगाएका छन् । यस्तो बदर मतको संख्या उल्लेख्य छ । मत पत्रमा रहेका कुनैपनि चिन्हमा छाप नलगाएका मतपत्रको संख्यामा पनि कमी छैन् । नेपालको संबिधानले नो–भोटको व्यवस्था गरेको छैन् ।
त्यसैले मतपत्रमा नो भोटको बिकल्प राखिएको छैन् । केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाई छोडेको पाईयो । बागलुङ क्षेत्र नं. १ मा १४ हजार १ सय २३ मत गणना हुँदा ४ सय ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाईएका मत छन् ।
‘कयौं मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’ मत गणनामा सहभागि एक कर्मचारीले भने ‘कतिपय मतपत्रमा नो भोट लेखेको हामीले भेटेका छौं ।’ दलहरु तथा उमेद्वारहरुप्रतिको बितृष्णा मतदाताले मतपत्रमा पाखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा १५ हजार ९ सय ३ मत गणना हुँदा ३ सय ५२ र प्रदेशसभा ‘ख’मा १५ हजार १ सय ६५ मत गणना हुँदा ३ सय ९१ मत बदर भएका छन् ।
‘बृद्धबृद्धा र अशक्तहरुका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिईएकाले बदर कम हुनुपर्ने हो’ नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य खगेन्द्र पौडेलले भने ‘सबै चिन्हमा लगाउने, खाली मत खसाल्ने गतिबिधि नजानेर भन्दा जानेरै गरेको हुनुपर्छ ।’
दलहरुले बदर मत, बिगतका निर्वाचनमा भन्दा फरक नतिजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको बितृष्णा किन उत्पन्न भैरहेको छ भन्ने बिषयको खोजी हुनुपर्ने बागलुङ नगरपालिका–२ का युवा मनिस रायमाझी बताउँछन् ।
‘सबै हेरियो गठबन्धनलाई मत दिए मैले दिएको भनेर पत्याउँदैनन्, एमालेका उमेद्वारलाई मत दिनै मन लागेन्, मैले मत दिएर वा नदिएर हारजीत रोकिने हैन भन्ने लाग्यो सबै चिन्हमा छाप लगाईदिएँ’ बागलुङ नगरपालिका–२ का एक मतदाताले भने ‘निर्वाचन हारजीतको खेल मात्रै भयो, जीतेकाले जनतालाई फर्केर हेरेनन् ।’
स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउँदा भुलबस मत बदर हुने अबस्था हुने भएको भएपनि आम निर्वाचनको समयमा आईरहेका बदर मत राजनीतिमा सर्वसाधारणको बितृष्णा भएको उनले बताए । उनले जनभावना अनुसारको काम दल तथा नेताले गर्न नसकेकाले बितृष्णा बढेको टिप्पणी गरे ।





