बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नक्कली कर्मचारी बनेर सरकारी कागजात किर्ते

नक्कली कर्मचारी बनेर सरकारी कागजात किर्ते


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७९, सोमबार

बागलुङ/आइतबार साँझको पौने पाँच बज्दै थियो । जिल्ला प्रशासन कार्यालयमा दिनभरीका काम सकेर कार्यालय बन्द गर्ने तयारी हुँदै थियो । सेवाग्राहीको काम गरिरहेका कार्यालय प्रमुख र कर्मचारीहरु आफ्नै काममा व्यस्त थिए ।

कार्यालय समय सकिनै लाग्दा एक जना अपरिचित व्यक्ति कार्यालय परिसरमा पसे त्यो पनि सरकारी पोशाकमा । कार्यालयमा दुई जना प्रशासकीय अधिकृतको दरवन्दी छ । दुवै दरबन्दीमा सूर्यलाल बिश्वकर्मा र मोहन प्रसाद उपाध्याय कार्यरत छन् । दरवन्दी खाली नरहेको कार्यालयकै प्रशासकीय अधिकृत बताउने ती व्यक्ति कार्यालय मात्रै प्रबेश गरेनन् । त्यहाँ रहेका सेवाग्राहीको काम गर्छु भन्न थाले ।

होँचो कद, पातलो शरीर गहुँगोरो बर्णका ती व्यक्ति कार्यालय परिसर पसेपछि प्रमुख जिल्ला अधिकारीले सचेतता अपनाए । तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुग्यो । सेवाग्राहीकै अघि प्रशासकीय अधिकृत बताउने ती व्यक्ति पक्राउ परेपछि बल्ल सर्वसाधारणले चाल पाए उनी किर्ते गर्ने व्यक्ति थिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, परराष्ट्र मन्त्रालयलगायत कयौं कार्यालय र मन्त्रालयका छाप तथा लेटरप्याडसहित परिचय पत्र तथा नेमप्लेट बनाएर किर्ते कागज बनाउने र सर्वसाधारण ठगी गर्ने गरेका ती युवालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–४ का २९ बर्षिय आकाशचन्द्र परियार पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृतको परिचय पत्रसहित, परराष्ट्र मन्त्रालयको छाप, जिल्ला प्रशासन कार्यालय बागलुङको छाप, बिभिन्न कार्यालयका सिफारीस पत्रका नक्कलप्रति बरामद गरेको छ ।

‘तीन दिन पहिला सेवाग्राहीले नचिनेको कर्मचारीले काम गरिदिन्छु भनेको भनेर गुनासो गर्नुभएको थियो, हामीले खोजी थालेका थियौं’ प्रमुख जिल्ला अधिकारी रमेश ढकालले भने ‘हामीले गुनासो आएको तीन दिनमा उसलाई पक्राउ गरेका छौं ।’ उनले के कती सर्वसाधरणलाई ठगी गरे भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘प्रहरीले शंकाकै भरमा पक्राउ गरेको थियो, पछि उ बसेको कोठामा पुग्दा झोलाभरी किर्ते गरेका सामग्री भेटिए’ प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले भने ‘ठगीको कुनै उजुरी त आएको छैन् तर उसले धेरै सरकारी कार्यालयको छाप, लेटरप्याड दुरुपयोग गरेको उसैसँग सुरक्षित प्रमाण छ ।’ जिल्ला अदालत बागलुङबाट सात दिनको म्याद थपगरी अनुसन्धान भैरहेको उनले बताए ।

एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका परियारले प्रमुख जिल्ला अधिकारीकै हस्ताक्षर किर्ते गरेर तयार पारिएका सिफारीस समेत प्रहरीले बरामद गरेको छ । नक्कली कर्मचारी बनेर बागलुङलगायत देशका अन्य ठाउँमा समेत उनले किर्ते काम गरेको हुनसक्ने प्रहरीको आशंका छ । काठमाण्डौंमा बस्दै आएका परियार आइतबार बिहान बागलुङ आईपुगेको र कार्यालय समय नसकिँदै जिल्ला प्रशासन कार्यालय पुगेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->