बागलुङ/ जिल्लाको गलकोटमा गरिएको हात्तिपाईले रोग परीक्षणमा सुन्य संक्रमण देखिएको छ । गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा गरिएको नमुना परीक्षणका क्रममा कसैमा पनि हात्तिपाईले संक्रमण नरहेको पाईएको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालयले बागलुङले मंगलबार गलकोटमा तीन चरणमा ३ सय १४ जनाको रगतको नमुना लिएर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये सबैमा हात्तिपाईले रोग लाग्ने जीवाणु नदेखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियर डिल्ली आचार्यले बताए ।
वडाका बिभिन्न टोलमा पुगेर प्राविधिक स्वास्थ्यकर्मीको समुहले रगतको नमुना लिएको थियो । ‘हामीले तीन क्लष्टरमा एक सय तीन÷एक सय तीन र एक सय ८ जनाको नमुना लिएका थियौं तर कसैमा पनि संक्रमण भएको पाइएन’ हटिया स्वास्थ्य चौकीका सिनियर अहेव दिलु प्रसाद सुवेदीले भने ‘नतिजा हाम्रो लागि सुखद हो ।’ पटक–पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएको हात्तिपाईले रोगको अबस्थाका बिषयमा प्रारम्भिक अध्ययन गर्न गलकोट र बागलुङ नगरपालिका–१४ नारायणस्थान छनोट भएको थियो ।
बागलुङमा हात्तिपाईले रोग निवारण नभएको पाईएपछि १४ औं पटक आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ । अभियान सञ्चालन पूर्व यसअघिका आम औषधि सेवन अभियानको प्रभावकारिता खोजी गर्न थालिएको हो ।
यसअघि पटक पटकका परीक्षणमा हात्तिपाईलेका बिरामी फेला परिरहेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पनि प्रारम्भिक अध्ययनका लागि तीन सय जनामा परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । गलकोटमा भने नारायणस्थानबाट रोग सरुवा भएनभएको बिषयमा बुझ्न जाँच गरिएको थियो ।
गलकोटमा गरिएको परीक्षणमा दुई प्रतिशत बढीमा संक्रमण देखिएको भए हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभाव पार्ने थियो । सुन्य संक्रमणले जिल्लालाई नै हात्तिपाईले निवारण उन्मुख भएको संकेत गरेको आचार्यले बताए । नारायणस्थामा परीक्षण गर्दा पुनः दुई प्रतिशतमाथि संक्रमित भेटिएमा थप दुई बर्ष र दुई प्रतिशत कम संक्रमित भएमा यो बर्ष १४ औं पटक आम औषधि सेवन अभियान सञ्चालन गरेर सकिने छ ।





