बेनी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्चले आयोजना गरेका थिएभने सुआहारा कार्यक्रम (दोस्रो) र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) म्याग्दी शाखाले सहकार्य गरेका थिए । समुदायस्तरमा हुने बालविवाहले पार्ने असरको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले समुदायस्तरमा रहेको बालविवाहलाई सरोकारवाला निकाय सबै मिलेर न्यूनीकरण गर्नुपर्ने बताए । उनले कानुनका हिसाबले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै सानै उमेरमा विवाह गर्दा विभिन्न समस्याहरु आइपर्ने हुँदा त्यसमा अभिभावकहरुले विशेष ध्यान पु¥याउनुपर्नेमा बताए ।
परिवार वा समुदायमा कसैले पनि कसैलाई हिंसा गर्न नहुने बताउँदै उहाँले समुदायमा हुने जुनसुकै किसिमको हिंसालाई पनि रोक्नुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले बालविवाह र यसले पार्ने असर तथा बालविवाह न्यूनीकरण गर्नको लागि कानुनी व्यवस्थासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र सुआहारा कार्यक्रम म्याग्दीका वरिष्ठ कार्यक्रम विज्ञ बालकुमारी पुनले सुआहारा कार्यक्रम तथा पोषणको विषयमा सहजीकरण गरेका थिए।
अन्नपूर्ण–६, घारका कार्यवाहक वडा अध्यक्ष पुष्पा बानियाँ बरुवालको अध्यक्षता, घार स्वास्थ्यचौकीका अहेव मातृकाप्रसाद जोशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।कार्यक्रमको अवसरमा ‘म हिंसा सहन्नँ, आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो ।
यही मंसिरको ९ गतेदेखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा यसवर्ष घारमा बालविवाह न्युनीकरण तथा महिलाहरुलाई प्रजनन् स्वास्थ्यको विषयमा समेत जानकारी गराउन कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा बालविवाह तथा प्रजनन् स्वास्थ्य र पोषणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुका साथै सन्देशमूलक भिडियो डकुमेन्ट्री पनि देखाइएको थियो । उक्त कार्यक्रममा घारका महिलाहरुले उल्लेख्य रुपमा सहभागिता जनाएका थिए ।
नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रिपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यस अभियानअन्तर्गत हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधिहरु र कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।





