प्रायः मेला महोत्सवमा युवापुस्तालाई केन्द्रित गरेर कार्यक्रमहरु आयोजना हुने गर्दछन । जहाँ रेकर्ड डान्स, भलिबल, लाइभ साँस्कृतिक कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारले नै मेला सकिएको हुन्छ । पछिल्लो समयमा युवापुस्तामा पुराना संस्कृति, पर्व तथा चलन पुस्तान्तरण नुहुँदाँ हराउँदै जान थालेको छ ।
यसबीचमा आफ्ना संस्कृति जोगाउँदै नयाँपुस्तामा जानकारी गराउनु पनि पुरानो पुस्ताको जिम्मेवारी हुन आउँछ । जसमा पौंदी न्वागी मेलाले यसवर्ष नयाँ सुरुवात गरेको छ । मंसिर १० गतेबाट शुरु भएको १७ औं शताब्दीदेखि बडिगाडको खारमा हुँदै आएको पौंदी न्वागी मेलामा यसवर्ष यस्तै एक फरक कार्यक्रम भएको छ ।
साँझको चिसो सिरेठो अनि वरिपरि मेला हेर्नेको भीड, त्यही भीडलाई मनोरञ्जन दिन र कार्यक्रम शुरु गर्न तयार थियो पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समिति । प्रायः मेला महोत्सवको रातको समय राष्ट्रिय कलाकारको लागि छुट्टयाइएको हुन्छ । तर, पौंदीको यो मञ्चले यसवर्ष फरक माहोल बनाउन सफल भएको छ । मेलामा उपस्थित भीडलाई मनोरञ्ज दिन तयार थिए ६० वर्षभन्दा माथिका पुरुष । मेलामा उपस्थित भीडलाई आन्नद दिन उनीहरुको हातमा थियो खैंजडी र मुजुरा ।
भजन आरतिबाट आफ्नो प्रस्तुति राख्न थालेका उनीहरुले जब शिवपुराण, रामायण र कृष्ण लिलाका कथासँगै भजन गाउन थाले सहभागिले पनि उनीहरुलाई साथ दिन शुरु गरे । मेलाको अवसरमा समितिले यसवर्ष आयोजना गरेको भजन गायन तथा नृत्य प्रतियोगिताले न्वागी मेलामा फरक माहोल बनायो ।
भजन गायन तथा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक तिर्थमणि भुषालले मेलामा भजन गायन तथा नृत्य प्रतियोगिता यस क्षेत्रमा नै पहिलो भएको बताउदै भुषालले भजनप्रति युवापुस्तालाई प्ररेणा दिलाउन र संस्कृति जोगाउन सहयोग पुगोस् भन्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको बताए ।
मेला अवलोकनमा आएका बडिगाड ५ का कैलाश घर्तिले मेलामा आयोजित भजन प्रतियोगिताबाट आफुले भरपुर आन्नद लिएको बताए । ‘रातको चिसो समय भएपनि भजनमा रमाइलो गरँे’, घर्तिले भने ‘अन्यत्र पनि भजनलाई यसै गरेर स्थान दिए युवापुस्ताले पनि यसमा चासो राख्थे कि ।’ न्वागी मेलाले भजनलाई दिएको स्थानले अन्त्रय पनि भजन जोगाउन सन्देश दिने घर्तिले बताए ।





