बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरि अस्पतालमा पाठेघरको निशुल्क अपरेशन गरिने

धौलागिरि अस्पतालमा पाठेघरको निशुल्क अपरेशन गरिने


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

बागलुङ/धौलागिरि अस्पतालमा महिलाको पाठेघर खस्ने रोगको निशुल्क अपरेशन गरिने भएको छ । अस्पतालले मंसिर २१ गतेदेखि २३ गतेसम्म शिविरको रुपमा निशुल्क सेवा दिन लागेको हो ।
अस्पताल व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । अस्पतालले त्यसका लागि शुक्रबारदेखि नै स्त्रीरोग बिशेषज्ञको उपस्थितिमा महिलाको पाठेघरको परीक्षण थालिसकेको छ । उक्त परीक्षणमा अपरेशन गर्नपर्ने भेटिएका र स्वास्थ्य कार्यालय बागलुङले यसअघि विभिन्न स्थानमा गरेको स्क्रिनिङमा भेटिएका बिरामी समेतलाई अपरेशन सेवा दिइने बताइएको छ ।

अस्पतालकी नर्सिङ अधिकृत शान्ति भण्डारीले अपरेशन सेवाका लागि गण्डकी अस्पतालका ३ जना बिशेषज्ञ डाक्टर समेत झिकाइने बताइन् । नेपाल सरकारले प्रतिअपरेशन गर्ने बिरामीको खर्च स्वरुप १३ हजार रुपैयाँ दिने र त्यसले नपुग्ने भएपछि धौलागिरि अस्पतालले एउटा अपरेशनका लागि थप ७ हजारका दरले दिने गरी २० हजारमा एउटा अपरेशन गरिने बताइएको छ ।

२०६५ सालमा बनेको कार्यविधि भएकोले अहिलेको अवस्थामा रकम अपुग भएकोले अस्पतालले रकम खोजेर व्यवस्थापन गर्न लागेको अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मीदेवी जिसी कार्कीले बताइन् । ‘महिलाको समस्याप्रति गम्भिर भएर अस्पतालले यो शिविर राखेका हौं’ उनले भनिन्, ‘पुरानो कार्यविधि अनुसार सरकारले थोरै रकम दिंदा बिरामीलाई उपचार दिन सकिएको छैन ।’

स्वास्थ्य तथा प्रजनन् अधिकार संविधानमा लेखेपनि उपचारमा समस्या भएको उनले बताइन् । तत्काल कार्यविधि फेरेर कम्तिमा पनि २० हजार रुपैयाँ नभएसम्म बागलुङ जस्ता अस्पतालमा पाठेघरको अपरेशन गर्न नसकिने उनले बताइन् ।
अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. अभिषेक वाग्लेले दक्ष चिकित्सक, उपकरण र औषधी खर्च मात्रै २० हजार बढी लाग्ने बताए । बिरामी र कुरुवाको खाना खर्च तथा बिरामी फर्कदा कम्तिमा १ हजार बाटो खर्च दिने व्यवस्था गरिएको बताए । यो अभियानका लागि अस्पताल व्यवष्स्थापन समितिले जोखिम मोलेरै निर्णय गरेको भन्दै यो अभियानका लागि कानूनी प्रकृया संशोधनमा दबाव आवस्यक भएको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षता, शाखा अधिकृत तेजप्रसाद निउरेको संचालनमा सम्पन्न कार्यक्रममा अस्पतालका डाक्टर, नर्स तथा व्यवस्थापन समितिका पदाधिकारीले शिविरबारे पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->