बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दरवार जाने पक्की पुलमा चल्न थाले गाडी

दरवार जाने पक्की पुलमा चल्न थाले गाडी


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७९, आइतबार

बागलुङ/ गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएपछि नियमित सवारी चल्न थालेका हुन् ।

गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुंगे पुललाई राजाको पुल भनिन्थ्यो । सोही पुल जीर्ण भएपछि केही वर्षदेखि पैदलयात्रीले सास्ती खेपेका थिए । भत्केको झोलुंगे पुल गतबर्ष बनेर चल्न थालेको छ भने सोही पुलकै छेवैमा मोटर चल्ने पुल पनि बनेको हो ।
यो पुलले गलकोट नगरपालिका वडा नंं ५ र ६ जोड्छ । दरमखोलामाथीको ‘राजाको पुल’ बनेपछि बर्षात्मा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुंगे पुलमा यात्रा गरेकाहरुले सवारीसाधन लिएर यात्रा गर्न सक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताए । यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारी साधनले भैंसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । यो बाटो कम्तिमा ५ किमी लामो पर्छ ।

हरिचौरस्थित गलकोट राजाको दरबार अहिले पनि पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । त्यसैले दैनिक घुम्न जानेका लागि पक्की पुल उपयोगी भएको हो । खोलाको वारीपारी खेत भएकोले किसानले खेती लगाउनेदेखि भित्राउने समयमा पनि पुल अभावले समस्या भोगेका थिए । ‘पहिला काम गर्नुपर्दा घुमाउरो बाटो हिंड्नुपथ्र्यो, अहिले सजिलो भयो’ स्थानीय सरिता निउरेले भनिन्, ‘अहिले हटिया बजार जानु परेपनि पैदलै १५ मीनेटमै पुगिन्छ ।’ गाडी चढेर जानुपरेमा भैसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको उनले बताइन् ।

यसअघि बनेको गौदी खोला पुल पनि नियमित भएकोले हरिचौर र हटिया तथा ताराखोलादेखि हटिया बजारसम्म झर्न र दैनिक आउजाउमा सहज भएको हो । गौंदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साँढे तीन करोडमा बनाएको थियो भने दरमखोला पुल जय बाबा गोरखा÷ओखलढुंगा संयुक्त निर्माण कम्पनीले ५ करोड ९ लाखमा बनाएको हो । यी दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौरस्थित दरवार र पुरानो सदरमुकाम घुम्न ४ किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौदीखोला, दरमखोला र खहरेखोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ ।

तत्कालिन गलकोटे राजा भरतबम मल्लको आग्रहमा दरमखोलामा झोलुंगे पुल बनेका थिए । एक सय बर्ष पुराना ती पुल सबै भत्केर जीर्ण भएपछि कतिपयको भंगावशेस समेत मेटिएको छ । गलकोट नगरपालिकाले आफ्नो आन्तरिक श्रोतसहित गण्डकी प्रदेशको संयुक्त लगानीमा पुराना झोलुंगे पुल पनि बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

सडक नआउन्जेल झोलुंगे पुलले काम दिएपनि केही बर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । सवारी आउन थालेपछि पक्की पुलको माग बढेको थियो । दुवै खोलामा पक्की पुल नबनुन्जेल नगरपालिकामा काम विशेषले आउनेले पनि सवारी चढ्न पाएका थिएनन् । वडा नंं ५ को बाटो आउनेले दरमखोला पारी र वडा नंं ३ को बाटो आउनेले गौंदीखोला पारी सवारी रोकेर पैदल हिंडेपछि मात्रै नगरपालिका कार्यालय पुगिन्थ्यो ।

यी पुल बनेपछि गलकोटदेखि ताराखोला जाने सडक पनि सहज बनेको छ । ‘हामी आएपछि गलकोट नगरभित्रै ४ वटा पक्की पुल बनेका छन्, अझै दुइतीन वटा बनाउन बाँकी छ’ गैरेले भने, ‘बजेट र कार्यक्रमको खोजीमा छौं ।’ लामो समयदेखि अलपत्र रहेको वडा नंं ७ र ८ जोड्ने दरमखोला पुलको काम सक्न पनि ताकेता गरेको उनले बताए । महत्वपूर्ण पुल निर्माणमा संघीय सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->