बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नारायणस्थानमा १३ बर्षपछि निवारण उन्मुख हात्तिपाइले

नारायणस्थानमा १३ बर्षपछि निवारण उन्मुख हात्तिपाइले


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७९, सोमबार

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ बर्षपछि हात्तिपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ सालमा ‘बेसलाईन सर्वे’ हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम संक्रमण भएको नतिजा आएको हो ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा ३ सय ४७ जनामा गरीएको परीक्षणमा एक जनामा मात्रै हात्तिपाईले रोगका जीवाणुहरुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्ली आचार्यले बताए ।

यसअघि सन् २०१४ मा ३ प्रतिशत, २०१६ मा २.३ प्रतिशत, २०१८ मा ४.६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा २.६४ प्रतिशतमा हात्तिपाईले रोगका जीवाणुहरुको संक्रमण देखिएको थियो । ‘नारायणस्थानमै भएको बेसलाइन सर्बेमा महामारीको रुप लिनथालेको भेटेपछि बागलुङमा हात्तिपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान सुरु भएको थियो’ स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन्, ‘यो पटक ०.२८ प्रतिशतमा झरेको छ, अब अन्तिम पटक आम औषधि सेवन अभियान सञ्चालनपछि जाँच हुन्छ, दुई प्रतिशतभन्दा कम भए आम औषधिसेवन कार्यक्रम सञ्चालन गर्नुपर्दैन् ।’

सन् २०२१ (२०७८) सालमा गरिएको परीक्षणमा नारायणस्थानमै २.६४ प्रतिशतमा संक्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई बर्ष आम औषधि सेवन अभियान सञ्चालन गरिएको थियो । १४ औं पटक माघ अन्तिम साता स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दैछ ।
‘यो पटक अन्तिम हो भन्ने लागेको छ, प्रिटास पास भइयो, अव औषधि सेवनपछि अर्को जाँच हुन्छ’ शर्माले भनिन् ‘सामान्यतयाः ६ वर्ष आम औषधि सेवनपछि हात्तिपाइले निवारण हुनुपर्ने हो, हामीले १४ बर्ष प्रयास गर्नुपर्यो ।’ नाराणस्थानमा हात्तिपाइले रहे नरहेको खोजी गर्न १४ औं पटक पुग्दा स्वास्थ्यकर्मीमा संशय थियो तर यस पटक भने हात्तिपाइले निवारणको उत्साहजनक नतिजाले स्वास्थ्यकर्मीहरु उत्साहित छन् ।

‘विश्वव्यापी मापदण्डअनुसार जाँच गरिएकामध्ये २ प्रतिशतभन्दा कममा संक्रमण नदेखिएसम्म पटक पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत बर्षदेखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको हो’ किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याव टेक्निसियन निरीक्षक रामबालक रायले भने ‘यो पटकको प्रि–टास पास भए एक पटक मात्रै आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुन्छ ।’

यो पटक पनि ‘प्रि–टास’ पास नभएको भए आम औषधि सेवनको बिधि परीवर्तन गरेर थप औषधिसहित दुई बर्षे अभियान सञ्चालन गर्ने रणनीति तालिम केन्द्रले बनाएको थियो । नारायणस्थानमा पछिल्ला दुई बर्ष औषधि सेवन गर्नेलाई खोपकार्ड नै दिएर कार्ड नबनाउनेका सरकारी सेवा सुविधा रोक्का गर्ने भनेपछि नतिजा सकारात्मक आएको हो । औषधिको बिषयमा फैलिएका गलत अफवाहका कारण सबै नागरिकले औषधि सेवन नगर्दा नारायणस्थानमा हात्तिपाईले रोग निवारण हुन सकेको थिएन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->