बागलुङ/ बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामाग्री तत्काल हटाउन चेतावनी दिएको बानपा २ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताए । ‘पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौं, दोश्रो पटक भेटिएका सामान उठाएका छौं’ घिमिरेले भने, ‘अलपत्र भेटिएका केही ठेलागाडी नियन्त्रणमा ल्याइसकिएको छ ।’ ठेलागाडा उठाउन थालेपछि कतिपयले भागाभाग गरेर लुकाएका थिए ।
घर छेउमा फालिएका फोहोर, ढुंगामाटो र गिटी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्रयाक्टरमा सामान उठाइएको छ । केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यपारिक प्रयोजनका घुम्ती पसल र काठका बाकससमेत उठाइएको हो । सदरमुकामस्थित बागलुङ बजारमा तीन सयबढी ठेलागाडा भएको अनुमान पछि यो काम थालिएको घिमिरेले जानकारी दिए ।
ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो । उद्योग बाणिज्य संघले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो । त्यस्तै सडक अबरुद्ध हुने गरी उनीहरुले सामान राख्दा ट्राफिक जाम बढेको थियो ।
यस्तै, नगरपालिकाले ५० बढी अव्यवस्थित पोलहरु पनि हटाएको छ । बिद्युतका पोल नगरपालिकाले आँफै व्यवस्थापन गर्दैछ भने टेलिकमको पोल भए टेलिकमले नै व्यवस्थापन गरिरहेको छ । ‘अव्यवस्थित पोल काटेर हटाउँदा सडक केही फराकिलो बनेको छ’ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘बजार अनुगमन र व्यवस्थापनका लागि बिशेष कार्यविधि र कार्यक्रममार्फत नियमित गरिने छ ।’
आगामी पुसमा हुने नगर परिषदमा कार्यविधि बनेर कार्यान्वयनमा आउने उनले जानकारी दिए । बागलुङ बजारमा फुटपाथ छैन । साँघुरो सडक, दायाबायाँ सवारी साधन रोकिदिने र निर्माण सामग्री समेत जथाभावी राखिंदिदा पैदलयात्रीले पनि सास्ती खेपेका छन्भने दुर्घटनाको जोखिम बढेको छ ।





