बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एक हजार श्लोकको भागवत

एक हजार श्लोकको भागवत

बामनप्रसादको सक्रियताले सरकारबाट प्रदान गरिएको अपाङ्गको रातो परिचयपत्र नै फिका भएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७९, बुधबार

बागलुङ/ उनी शारीरिक रुपमा अपांग छन् । तर, उनको लेखनशैली असाध्यै राम्रो छ । त्यसैले उनले अपांग भएर घरमा बस्दापनि उत्कृष्ट लेखन गर्न सकेका छन् ।

बागलुङ नगरपालिका–३ रात्माटाका बामनप्रसाद सापकोटाले घरैमा बसेर हिन्दु समाजका लागि महत्वपूर्ण पुस्तक लेखेका छन् । हिन्दु संस्कृतिमा अठार हजार श्लोकको श्रीमदभागवत महापुराणको सबैभन्दा ठूलो महत्व छ । उक्त पुस्तकलाई उनले सारांस लेखेका छन् । १८ हजार श्लोबबाट सापकोटाले १ हजार श्लोक बनाएर पुस्तक समेत बजारमा ल्याएका हुन् ।

उनको पुस्तक ‘सहश्रगीति श्रीमद्भागवतमहापुराण’ नामक पुस्तक बजारमा आएको हो । सापकोटाले पछिल्लो तीन बर्षमा घरमै बसेर यो पुस्तक तयार पारेका हुन् । त्यतिमात्र होइन उनले ‘ज्योतिष शास्त्र प्रवेशिका’ पुस्तक पनि प्रकाशित गरिसकेका छन् । उक्त पुस्तकबाट ग्रहदशा हेर्न मिल्छ । सामान्य नागरिकले पनि तिथिबार र नक्षेत्र हेर्न पनि सक्ने उनले बताए ।

उनको छातीदेखि तल्लो भाग चल्दैन । सरकारी मापदण्डमा उनी पूर्ण असक्त अपांग गनिन्छन् । तर, घरमै बसेर गरेको साधनाबाट उनले यो सफलना पाएका हुन् । पूर्ण अपांग भएकोले सरकारले उनलाई रातो परिचयपत्र दिएको छ । तर उनी असक्त व्यवहार देखाउँदैनन् । बरु हरेक चाडपर्व, पुण्यतिथिमा प्रवचन गर्न तम्सिन्छन् । कोठामा बस्दा पनि नियमित लेखन, अध्ययन र ध्यान गर्ने उनको बानी छ । गाउँभरीका मानिसको चिना लेखाइदिन्छन् ।

उनको पुस्तक बजारमा आएपछि धेरैको चासो बढेको छ । ‘एक हजार श्लोकको रहेछ त्यसैले पढ्ने विचारले खरिद गरेको छु’, स्थानीय जनन्नाथ आचार्यले भने, ‘छोटो भएपछि धेरैको रोजाइमा पर्न थालेको छ ।’ यो पुस्तकले एक जना मात्रै पण्डितबाट पनि श्रीमद्भागवत महापुराण गर्न सकिने उनले बताए । उक्त पुस्तक ८ सय ५० रुपैयाँमा किन्न पाइन्छ । ज्योतिष शास्त्र प्रवेशकिा भने ३५० रुपैयाँ मात्रै मूल्य छ ।

दाहिने हात मात्रै चलेपनि उनले यो सफलता पाएका हुन् । उनले गरेको कामले नेपाली भाषा, साहित्य र धार्मिक संस्कारका लागि भने महत्वपूर्ण योगदान पुगेको धार्मिक क्षेत्रका अगुवाले पनि बताए । ‘यो महत्वपूर्ण काम जो कसैले गर्न सक्दैनन्’ ऋषि प्रपन्नाचार्यले भने, ‘निरन्तरको मिहिनेत र साधनाले यो महतवपूर्ण काम बनेको हो ।’ शरीरको अधिकांस भाग प्यारलाइसिस् भएपनि उनी दशकदेखि घरमै साधनारत छन् । एकादशी, पूर्णिमा र अन्य हिन्दू चाडपर्वको दिनमा व्हीलचियरमा बसेर उनले प्रवचन समेत दिने छिमेकीले बताए ।
श्रीमद्भागवतदेखि सबै प्रकारका महाकाब्य, धार्मिक ग्रन्थ र पुराण बाचन गरेर सबैलाई मन्त्रमुग्ध पारिदिन्छन् ।

संस्कृत व्याकरण र पौरोहितीय शास्त्र गरी दुइ बिषयमा उनले आचार्य (स्नातकोत्तर) उत्र्तीण गरेका छन् । दिल्लीस्थित सम्पूणानन्द संस्कृत विश्व विद्यालयबाट नब्बे व्याकरण र लालबहादुर शास्त्री मानित विश्वविद्यालयबाट पौरोहितीय शाष्त्रमा उनले आचार्य गरेका हुन् । त्यसैले उनी प्रवचन र लेखनमा दक्ष छन् । त्यतिमात्र हैन चिना लेखाउने काममा पनि उनी उत्तिकै सक्षम छन् । उनको क्षमता देखेर धेरैले ऋषिमुनीको संज्ञा दिने गरेका छन् ।

निरन्तर घरभित्रै बस्नुपर्दा उनले ज्योतिष शाष्त्र प्रवेशिका र श्रीमद्भागवतको १८ हजार श्लोकलाई १ हजार श्लोकमा ढालेर पुस्तक तयार पारेका हुन् । ‘महायज्ञ लगाएपनि सबै पाठ कसैले पढेका छैनन्, त्यसैले १ हजार श्लोकको महायज्ञ मन्त्र बनाएँ’, उनले भने, ‘नेपाली र संस्कृत भाषामा भएकोले जोसुकैले पढ्न सक्छन् ।’ ज्योतिष शाष्त्र प्रवेशिकाले ग्रहदशा हेर्न, तिथीबार र नक्षेत्र हेर्नका लागि सहयोग मिल्ने उनले बताए । उनले जीवन शुत्र, श्राद्ध पद्दति लगायतका अन्य पुस्तक पनि लेख्दैछन् ।

अपांगलाई रातो कार्डभन्दा अवसर दिनुपर्ने सापकोटा बताउँछन् । ‘रातोकार्ड दिएर घरभित्र थन्क्याउनुभन्दा अबसर दिनुपर्छ’ उनले भने, ‘म सक्रिय जीवन जिउन चाहन्छु, कार्ड फिर्ता गरेर मलाई अबसर देउ ।’ उनले संस्कृत पाठशाला तथा महाविद्यालयमा अध्यापन गराउन सक्ने बताए । ‘म आफ्नो बौद्धिक क्षमता बेचेर बाँच्न चाहन्छु, तर मलाई राज्यले अपांग भनेर घरभित्र थन्क्याइदिएको छ ।’ अवसर पाए नमूना काम गर्ने उनले बताए । उनको क्षमता राज्यले सदुपयोग गर्दा फाइदा हुने समकक्षी ऋषि प्रपन्नाचार्यले बताए ।

सापकोटाको दीक्षान्तको तयारी चल्दै गर्दा उनी दुर्घटनामा परेका थिए । लालबहादुर शास्त्री मानित विश्वविद्यालय मै संस्कृत अध्यापन गराउने उनको चाहना थियो । नेपाली भाषा र संस्कृतिलाई भारतमा फैलाउने योजना बुन्दै थिए । भारतीय सेनाको व्यारेकमा उनलाई पूजापाठमा बोलाइन्थ्यो । शारीरिक व्यायामको क्रममा उनी लडेर अपांग भएका हुन् । २०६९ सालको असार १ गते उनी लडेपछि शरीर चल्न छाडेको थियो ।

तत्काल अस्पताल लगेप नि अभिभावक बिना अपरेशन नहुँदा उनी अपांग बन्न बाध्य भए । काठमाण्डौदेखि दाजु माधव ४८ घण्टापछि मात्रै दिल्ली पुग्दा उनको शरीर नचल्ने भैसकेको थियो । पछि जति प्रयास गर्दा पनि उनको देब्रे हात र छातीमुनी निको भएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->