बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वास्थ्य अधिकार बोली र व्यवहार एक हुनुपर्छ : मन्त्री अधिकारी

स्वास्थ्य अधिकार बोली र व्यवहार एक हुनुपर्छ : मन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७९, बुधबार

बागलुङ/गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले नागरिकको स्वास्थ्य अधिकारमा बोलाइ र गराइ एउटै हुनुपर्ने बताएकी छिन् । उनले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्न सरकार तयार भएको समेत बताइन् ।

पाठेघर खस्ने समस्या भएका महिलाको अपरेशन शिविरको धौलागिरि अस्पताल बागलुङमा उद्घाटन गर्दै अधिकारीले संविधानमा लेखिएको निशुल्क स्वास्थ्य सेवा अझै प्राप्त नभएको बताइन् । उनले अझैपनि राज्य र नेताहरुले बोल्ने र गर्ने काममा एकरुपता हुन नसकेको टिप्प्णी गरिन् । ‘अझैपनि बोलाइ र गराइ मिलेको छैन, महिलाहरु पूजिवादको दास भएका छन्’ उनले भनिन्, ‘प्रभावकारी स्वास्थ्य सेवा जनताले निशुल्क नपाएसम्म राज्यको अनुभूति हुन सक्दैन ।’ त्यसकालागि सेवा प्रभावकारी बन्नुपर्ने बताइन् ।

बुधवारदेखि धौलागिरि अस्पतालमा पाठेघर खस्ने समस्याको अपरेशन शिविर शुरु भएको छ । यो शिविरमा बागलुङ सहित छिमेकी म्याग्दी र पर्वतका समेत गरी झण्डै ३० देखि ४० जना सम्मको अपरेशन गरिने योजना रहेको अस्पतालकी बरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराइले बताइन् । कार्यक्रममा आएकी मन्त्री अधिकारीले समन्वयमा काम गरेमा अपुग हुने बजेट व्यवस्थापनमा पनि साथ मिल्ने बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रति अपरेशन १३ हजार रुपैयाँमा अस्पतालले ७ हजार थप गरेपछि २० हजार रुपैयाँमा पाठेघरको अपरेशन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. बिश्वबन्धु बगालेले धौलागिरि अस्पताललाई दरबन्दी अनुसारको चिकित्सक पठाएर सहज रुपमा उपचार सेवा दिने व्यवस्थापन गर्न पहल गर्ने बताए । उनले अहिले सम्म पुरानै दरबन्दीमा काम भइरहेकोले सेवा प्रभावकारी नभएको गुनासो आएको भन्दै ओएनएम सर्भे गरेर आवस्यकता अनुसारका दरबन्दी थप्ने योजना सुनाए ।

आबस्यक उपकरण लगायतको सेवाकालागि मन्त्रालयले केही सहयोग गर्ने र केही अन्य क्षेत्रबाट सहयोग जुटाउने अभियान चलाउन अस्पताल प्रशासनलाई उनले आग्रह पनि गरे । ‘नियमित समन्वय भयो भने कतिपय सहयोगी हात भेटिन्छन्’ बगालेले भने, ‘स्थानीय तहको पनि साथ र सहयोग चाहिन्छ ।’ नीतिगत रुपमा धौलागिरि अस्पतालाई २ सय बेडको बनाउने निर्णय भएकोले छिटै काम अगाडि बढ्ने र सोही अनुसारको दरबन्दीको व्यवस्थापन पनि गर्न पहल भएको उनको भनाइ थियो ।

धौलागिरि अस्पतालमा अहिले नियमित उपचार सेवा बाहेक मृगौलाको डायलाएसिस्, हाडजोर्नी, बाल रोग, दुरबिनबाट अपरेशन लगायतको सेवा समेत भैरहेका छन् । अस्पतालमा दैनिक सयौं बिरामी आउने र सोही अनुसार काम गर्दा कार्यरत चिकित्सक तथा नर्सिङ अधिकृत र स्टाफले चौबिसै घण्टा समेत खट्ने गरेको अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मीजिसी कार्कीले बताइन् । अपरेशनकालागि बिशेषज्ञ डाक्टर प्रेम पंगेनी, डा. पदम ढुंगाना र डा. राजेन्द्र अधिकारी सहितको टोलीले सेवा दिएको भट्टराइले जानकारी दिइन् ।

यस अघि विभिन्न स्वास्थ्य संस्था र अस्पतालमै भएको स्क्रिनिङमा धेरै समस्याका बिरामी भेटिएपछि शिविर राखिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षता, शाखा अधिकृत तेजप्रसाद निउरेको संचालन र अस्पतालका मेसु डा. अमित ढुंगानाको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिविर सहित अन्य समयमा पनि स्वास्थ्य सेवा चुस्त बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->