म्याग्दी/केहीवर्ष अगाडीसम्म पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) देखिन छाडेका छन् । बनजंगलमा मानवीय गतिविधिसँगै लुकिछिपी हुने चोरी सिकारीका कारण जोगाउन समस्या भएको हो । अनुसन्धानकर्ताको टोलीले गुर्जा र लुलाङका जङ्गलमा पाइने हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको बासस्थान फेला पारेपछि केहीबर्ष सचेतनामुलक कार्यक्रम गरेपनि हाल उक्त क्षेत्र आसपासमा लामो समयदेखि रेडपाण्डा देखिन थालेपछि स्थानीयले बताएका छन् । वन जङ्गलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेरसमेत रेडपाण्डा सिकार गर्ने तथा बासस्थानलाई संरक्षण गर्न आवश्यक मानवीय गतिविधि कम हुन थालेपछि बाख्लै देखिने गरेको रेडपाण्डा लोप हुन लागेको गुर्जाका एक स्थानीयले बताए ।
पाँच वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत् रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बन्द्री पाण्डेले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हाब्रे भेटिएको पहिलोपटक सार्वजनिक गरेका थिए । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा भएपछि समुदायस्तरमा गरिएको अभियान प्रभावकारी भएपनि नियमित कार्यक्रम नहुदाँ अभियान संरक्षणमा समस्या भएको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई यसबारे जानकारी गराउनुको साथै वासस्थानसमेत देखाएपछि स्थानीयवासी यसको संरक्षणमा लागेका थिए । गूर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सिकारीले सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएका स्थानमा लुकिछिपी गर्ने सिकारको जोखिममा रेडपाण्डा पर्ने गरेको बताए ।
‘रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा कडाइ गर्दै आएको थियो,अब वडास्तरबाटै संरक्षणको अभियान थाल्छौँ’, अध्यक्ष छन्त्यालले भने । उनले चिसोमा गाउँ आसपासमै आउने गरेको रातो हाब्रेको महत्व र संरक्षणका लागि स्थानीयबासीलाई थप जानकारी आवश्यकता रहेको बताए । ‘रेडपाण्डालाई सरंक्षण गर्ने पहिलो आधार वनजङ्गल हो, त्यहाँ जाने गोठालाहरुलाई समेत महत्वका बारेमा बुझाउनुपर्छ’, अध्यक्ष छन्त्यालले भने । डिभिजन वन कार्यालय म्याग्दीका सहायक बन अधिकृत चन्द्रमणी सापकोटाले वन्यजन्तु बाँच्ने पहिलो आधार जैविक विविधता अर्थात् जल, जमीन, जडीबुटी भएकाले रेडपाण्डा संरक्षणमा सँगै वन बचाउनु अहिलेको अपरिहार्यता रहेको बताए । रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख कर्णालीमा पर्याप्त छन् ।
पश्चिम म्याग्दीका जङ्गलमा प्रारम्भिक अनुसन्धानमा पाँचवटा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा झण्डै २० रेडपाण्डा रहेको अनुमान गरिएको छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ ।रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरीशिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।





